Jado Notish Bardaghat

गजल

0 168
अतीतका ती मधुर कहानी जस्ता थुप्रै सबल गजलको साथमा विश्व गजल इतिहासमै पहिलो पटक नेपाली भाषामा सेतो हिमाल मेरो नामक एकल बाल गजल सँग्रह मार्फत नेपाली भाषा साहित्यलाई धनी बनाउनु हुने भारतिय नागरिक भएर पनि २० ६० सालतिर नेपालको बुटवलमा बसी छोटो समयमा नै नेपाली गजलको उचाइ बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने साहित्यकार शेखर अस्तित्वका तीन गजलहरु यहां प्रस्ुतत् गरीएको छ ।
जस्ले बुटवलमा गजल सागर नेपालको स्थापना गर्न स्वर्गीय युवा साहित्यकार रमेश हरिलठ्ठक जस्ता ब्यक्तिलाई थप प्रेरणा दिएको थियो ।
मनपरी शब्द घुसाउँदैमा ग़ज़ल हुँदैन

 

मनपरी शब्द घुसाउँदैमा ग़ज़ल हुँदैन,
“क़ाफ़िया” मात्र मिलाउँदैमा ग़ज़ल हुँदैन।
“शे’र” मा “प्राण” हुनुपर्छ, मन छुनुपर्छ,
शब्दको भीड़ लगाउँदैमा ग़ज़ल हुँदैन।

“ऊला” र “सानी” दुवै मिसरा सम हुनुपर्छ,
तानेर घाँटी सुकाउँदैमा ग़ज़ल हुँदैन।
ग़ज़लका मूलभूत तत्व जान्दै नजानी,
त्यत्तिकै कलम खियाउँदैमा ग़ज़ल हुँदैन।

जुनकिरी जस्तै आफैं जल्नुपर्छ रातभरी,
“दियो”का खुट्टा समाउँदैमा ग़ज़ल हुँदैन।
झल्किनैपर्छ “इबारत”मा”इशारत” र “अदा”,
कसैले छाप्दै-छपाउँदैमा ग़ज़ल हुँदैन।

ग़ज़लका “देउता”हो! यो कुरा नभूल है!!
“भक्तहरूले”नै रुचाउँदैमा ग़ज़ल हुँदैन।
उठेर गल्ती सुधार्नेहरूको खाँचो छ,
सुतेर ताली बजाउँदैमा ग़ज़ल हुँदैन।

व्यर्थै “मक्ता”मा जबर्दस्ती “तख़ल्लुस” कोची,
आफ्नो “अस्तित्व” जनाउँदैमा ग़ज़ल हुँदैन।

– शेखर “अस्तित्व”
बुटवल (नेपाल)
कार्तिक 16, 2057

 

 

 

अतीतका ती मधुर कहानी

अतीतको त्यो मधुर कहानी, तिमीले बिर्स्यौ मलाई था’छ !
संगै सहेको त्यो घाम-पानी, तिमीले बिर्स्यौ मलाई था’छ !
मिलनको त्यो पहिलो रातबारे, नपत्याए चन्द्रलाई सोध,
कुरै-कुरामा भा’थ्यो बिहानी, तिमीले बिर्स्यौ मलाई था’छ !
त्यो लाजले शिर झुकाई बस्ने, त्यो मनको इच्छा लुकाई बस्ने,
त्यो पाउँले भुईं कोट्याउने बानी, तिमीले बिर्स्यौ मलाई था’छ !
हजुरको मनले के भन्छ सुन्छु, भनी भुसुक्कै निदाई हाल्थ्यौ,
मेरो यो छातीको त्यो सिरानी, तिमीले बिर्स्यौ मलाई था’छ !
हृदयले देखेको स्वप्नलाई, को भुल्न सक्छ यति सजिलै ?
अवश्यै सम्झेर जानी-जानी, तिमीले बिर्स्यौ मलाई था’छ !
बिदाको बेला झरेका आँसु, त्यो मौन कम्पित अधरको निम्तो,
त्यो बाचा बन्धन मजाक ठानी, तिमीले बिर्स्यौ मलाई था’छ !
त्यो तिम्रो प्रेमी, त्यो तिम्रो रोगी, त्यो तिम्रो जिद्दी, त्यो तिम्रो पागल,
त्यो तिम्रो शेखर भयो खरानी, तिमीले बिर्स्यौ मलाई था’छ !
– शेखर “अस्तित्व”

 

 

मुसलसल गजल

संघर्षै नभा’को कुनै पल हुँदैन !
को हो जस्को आँखानै सजल हुँदैन ?
दु:खपर्दा आत्महत्या गर्नेहरू हो,
मृत्यु कुनै समस्याको हल हुँदैन !
ईश्वर छ कि छैन छोड़, पाखुरा त छन् ?
मेहनत गर्ने मान्छे असफल हुँदैन !
घरि-घरि भाग्य भन्दै के टोलाउँछौ,
आत्म-विश्वास झैं अर्को बल हुँदैन !
स्वाभिमान, जीवन्तताको प्रमाण हो,
“अस्तित्व”को शिर हो यो, तल हुँदैन !
– शेखर “अस्तित्व”

 

Leave A Reply

Your email address will not be published.