Sarawal sit lahar Notis

सूर्य चुनाव चिह्नबाट निर्वाचित अजय शाहीलाई नेकपा एमालेले स्पष्टीकरण सोध्यो ।

0 22

साउन –२९

मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएपछि सूर्य चुनाव चिह्नबाट निर्वाचित प्रदेश सभा सदस्य अजय शाहीलाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहेका शाही चार दलीय गठबन्धनमा सामेल हुँदै बिहीबार विनाविभागीय मन्त्री नियुक्त हुनुभएको थियो ।

उहाँले एमालेको साथ छाडेपछि एमाले संसदीय दलले तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण दिन भनेको छ । संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको हस्ताक्षरमा सोधिएको स्पष्टीकरण पत्रमा शाहीले असार ३० गते बजेट पारित गर्ने दिन प्रदेश सभामा अनुपस्थित भई पार्टीको ह्वीप उल्लंघन गरेको र साउन २७ गते प्रदेश सभा बैठक बहिस्कार गर्ने पार्टी निर्णय विपरीत बैठकमा उपस्थित भएको उल्लेख छ । तीन दिन भित्र चित्तबुझ्दो जवाफ नआए कारबाही प्रकृया अघि बढाइने पत्रमा उल्लेख छ ।

शाहीले भने आफू सूर्य चिन्हबाट चुनाव जिते पनि स्वतन्त्र सांसद भएको बताउनुभयो । ‘म स्वतन्त्र सांसद हुँ, मलाई एमालेले कारबाही गर्न मिल्दैन, गर्यो भने अदालत जान्छु,’ शाहीले भन्नुभयो ।

एमालेले शाहीसँगै तत्कालीन नेकपाबाट चुनाव जितेकी विमला वलीलाई पनि कारबाही प्रक्रिया अघि बढाएको एमाले सचेतक ढकालले बताउनुभयो । वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएको तर चित्तबुझ्दो जवाफ नआएपछि कारबाहीको प्रक्रिया अघि बढाएको ढकालले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.