Jilla Ban Notis

सुस्ता अभियन्ता गुरुङको उपचारका लागि सहयोग रकम हस्तान्तरण

0 61

हरि शर्मा
परासी, ६ माघ
सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । उनको उपचारका लागि परासीमा ‘गोपाल गुरुङ बचाउ अभियान’ सञ्चालन गरिएको छ । अभियान अन्तरगत संकलन भएको एक लाख १७ हजार ५ सय शुक्रबार गुरुङका परिवारलाई हस्तान्तरण गरिएको हो । अभियान अन्तरगत पिसीएच नेपाल (बाल स्वास्थ्यका लागि साझेदारी नेपाल नवलपरासी)बाट एक लाख, परासी हल्पिङ हेण्डसबाट १० हजार, सत्यवती कन्सर्न परासीका सञ्चालक चन्द्रमणी चौधरीबाट ५ हजार र पाल्हीनन्दन गाउँपालिका–३ का ब्रहनन्द लोहारकी छोरीको जन्मदिनमा उपलब्ध गराइएको दुई हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हो । अस्पतालका प्रशासन प्रमुख तेजेन्द्र कुमार केसीको उपस्थितिमा अभियान टोलीका सदस्य सुमनगोपाल आचार्य नेतृत्वको टोलीले परिवारलाई हस्तान्तरण गरेको हो । मष्तिष्क घातबाट गंभिर बिरामी भएका ६२ वर्षिय गुरुङको पुस ८ गतेदेखि भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको उपचारका लागि बुटवलमा पनि अभियान सञ्चालन गरिएको छ ।
विगत २४ वर्षदेखि अतिक्रमित सुस्ताको जमिन फिर्ता र स्थायी सीमा स्तम्भ निर्माणको माग गुरुङ नेतृत्वको सुस्ता बचाउ अभियानले सरकारलाई दबाब दिदैं आएको छ । उनको उपचारका लागि हालसम्म ७ लाखबढी खर्च भएको र आर्थिक अवस्था कमजोर भएको भन्दै परिवारजनले आग्रह गरेपछि गुरुङको उपचारका लागि अभियान सञ्चालन गरिएको हो ।
उपचारमा सहयोग गर्नेहरुका लागि उनीकी छोरी पसन्द गुरुङको प्राइम सिल्भर सेभिङमा रहेको खाता नं. १७२०००२१ ‘पिई’ मा रकम जम्मा गर्न अभियान समितिले आग्रह गरेको छ ।
सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन हो । १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ । १९ हजार ४८० हेक्टरलाई भारतले विवादित भन्दै आएको छ । जसका कारण नेपाली भूमि भएर पनि भोगचलन गर्न नपाइएको सुस्तावासीले बताउँदै आएका छन् । अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएका छन् ।

 

Leave A Reply

Your email address will not be published.