Jilla Ban Notis

सुनवलमा सामुदायिक बिद्यालयका शिक्षकहरुलाई सक्षमता बिकास सम्बन्धि तालिम शुरु ।

0 28
दिपक खनाल
सुनवल,फागुन–१
नवलपरासीको सुनवल नगरपालिकाले सामुदायिक बिद्यालयका प्राथमिक तहमा अध्यापनरत शिक्षकहरुका लागि १ सय ६ घण्टे सक्षमता बिकास सम्बन्धि तालिम संचालन गरेको छ । सिकाई केन्द्रको सभाहलमा आज एक कार्यक्रमका बिच नगर प्रमुख भिमबहादुर थापाले तालिमको समुद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर र क्षमता बिकास गरि उच्च स्तरको शिक्षा प्रदान गर्न तालिम फलदायि हुने बिश्वास व्यक्त गर्नुभयो । हालै गरिएको शिक्षक सरुवा प्रति इंगित गर्दै नगरप्रमुख थापाले गुणस्तरीय शिक्षाका लागि स्थानिय शिक्षा निति अनुसार शिक्षक हेरफेर गरेको जानकारी दिदै भन्नुभयो ।
नगरप्रमुख थापाले सवै शिक्षकले आफ्नो बिषयगत परिणाम राम्रो दिनुपर्ने भन्दै कुनै पनि विषयमा विद्यार्थीहरुले कम अंक ल्याएमा सम्वन्धित शिक्षकले नै स्पष्टिकरण दिनुपर्ने समेत बताउनुभएको छ । उहाले समय अनुसार शिक्षकहरुलाई सक्षम बनाएर अगाडि ल्याउन नगरपालिका प्रयासरत रहेको जानकारी गराउदै तालिम अवधिभर सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो । उहाले सामुदायिक बिद्यालयमा काम, कर्तव्य र परिणाम आउने बिषयमा शिक्षक,अभिभावक लगायत सवै व्यक्ति जवाफदेहि हुनुपर्ने धारणा राख्नुभयो । नगरप्रमुख थापाले अब पनि पुरानै शैलिमा विद्यार्थीहरुलाई अध्यापन गराउने हो भने ती विद्यार्थीहरु अबको बजारमा विक्न नसक्ने खाल्का जनशक्ति उत्पादन हुने भएकाले अब सबै विद्यालयहरुमा प्रविधिको प्रयोग गरी विश्व बजारमा विक्ने जनशक्तिहरु उत्पादन गर्न जरुरी रहेको बताउदै आधुनिक प्रविधिमैत्रि शिक्षामा जोड दिनुभयो । 
               यसैगरि कार्यक्रमका बिशेष अतिथि नगर उपप्रमुख दधिराम अर्यालले नगरको शिक्षा सुधारका लागि शिक्षा शाखाको अनुगमनको मुल्यांकनका आधारमा प्राथमिक बिद्यालयको पुर्वाधारका लागि हालैको हिंउदे अधिवेशनवाट नै ६० लाख बजेट विनियोजन गरेको जानकारी गराउदै अब वजेट अभावले नगरका कुनै पनि विद्यालयहरुमा शैक्षिक सुधार भएन भनेर भन्ने अवस्था नरहने समेत बताउनुभयो । सामुदायिक बिद्यालयबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रतिष्पर्धा गर्न नसक्ने अवस्था आदिलाई मध्यनजर गरि निम्न आयस्तर भएका अभिभावकहरुलाई सर्वसुलभ शिक्षा उपलब्ध गराउन सामुदायिक बिद्यालय स्थापना गरिएको बताउनुभयो । निजि बिद्यालयको हकमा सुनवल नगरपालिकाको धारणा सकारात्मक नै रहेको बताउदै शैक्षिक परिणाम राम्रो दिएमा नगरपालिका सहयोग गर्न तयार रहेको उपप्रमुख अर्यालको भनाई छ ।  
नगरका ३४ मध्य ३२ वटा सामुदायिक बिद्यालयका २ सय जना शिक्षक सहभागि रहने तालिम ज्योति माबि, रम्मापुर माबि, महाकवि देवकोटा माबि, जनसेवा माबि, भगवति माबि र धनधान्यान्चल माबि गरि ६ ठाउमा संचालन हुने छ । प्राथामिक र आधारभुत तहमा अध्यापनरत शिक्षकहरुलाई लक्षित गरि तालिम संचालन गरिएको शिक्षा अधिकृत पशुपति भट्टराईले जानकारी दिनुभयो । उहाका अनुसार बिद्यालय समयलाई असर नपर्ने गरि बिहान २ घण्टा तालिम संचालन हुने छ । तालिममा प्रशिक्षार्थि शिक्षकहरुले क्षमता बिकासका साथै आइसिटि सम्बन्धि ज्ञानहरु, बिबिध बिषयलाई सहयोग गर्ने खालका ज्ञानहरु हासिल गर्ने छन् ।
सुनवल नगरपालिका वडा नं. २ का वडाअध्यक्ष एवं सामाजिक विकास समिती संयोजक राजेन्द्र यादवको अध्यक्षता र नगर प्रमुख भिम बहादुर थापाको प्रमुख आतिथ्यता एवं उपप्रमुख दधिराम अर्यालको विषेश आथित्यतामा सो तालीमको समुद्घाटन भएको थियो । सो अवसरमा शिक्षा शाखा प्रमुख बिष्णु गोतामे , शिक्षा अधिकृत पशुपति भट्टराई, शिक्षक महासंघका नगर अध्यक्ष बाबुराम पाण्डे, पत्रकार दिपक खनाल लगाएतको उपस्तिथी रहेको थियो ।

Leave A Reply

Your email address will not be published.