Sidartha Draiving

साना सस्ता घरका कुरा ः मान्छेको आधारभूत आवश्यकता

0 18

घर के हो ?

घर किन चाहिन्छ ?

घरमा के गर्छन् ?

निश्चय नै यी कुरा उपर यहाँ चर्चा गर्न खोजिएको छैन । नत ठूला ठूला ठूला भवनहरुको ब्याख्या गर्न खोजिएको छ । यहाँ मान्छेको आधारभूत आवश्यकता मध्ये आवासको रुपमा घरको चर्चा गर्न खोजिएको हो । सर्वप्रथम त मान्छेलाई र मान्छेका आवश्यकताहरुलाई आश्रय प्रदान गर्ने थलोको रुपमा घरको विकास भएको हो । पुर्खाहरु कसरीनिर्वाह गरे त्यो भिन्न अवस्था थियो । तर आजको दिनसम्म आइपुग्दा वनभरिको कमाइले बनाइने बस्तु, जीवन एक लक्ष्य जस्तोलाग्ने बस्तु बनेको छ घर । जीवनका घडीहरुमा कमसेकम पनि आधा समय यसमै बित्छ त्यसो हुनाले अब घरको मजबुती प्रमुख सरोकार हुनुपर्छ । हामी भूकम्पिय जोखिम क्षेत्रमा बसेका छौं । कलिला हिमालहरुको कोखमा भूकम्प जानु बंसानुगत लक्षण नै हो । त्यसको उपचारको रुपमा भूकम्प प्रतिरोधी घर हामीले बनाउनै पर्छ । हिजो अन्यत्र भूकम्पले क्षति पुर्याएको देख्दादेख्दै हाम्रो ठाउँ त्यस्तो हुन्न भनेर बेवास्ता गर्नु बिपत्ती निम्त्याउनु हो । भूकम्पले मान्छे मार्ने हैन तर बलिया भूकम्प प्रतिरोधी घर बनेनन् भने तिनैले च्यापेर मार्छन् । या अंगभंग पार्छन । यो टार्नै नसकिने बिषय हो । फेरि त्यही घरमै त हो नि हामी आनन्दले बस्न चाहने । हाम्रा योजनाहरु त्यहाँ बुनिन्छन् । यादहरु त्यहाँ श्रृजना हुन्छन् । त्यहाँ शरीर मात्र कहाँ बस्छ र ? आनन्द पो खोज्छ शरिरले । त्यो आनन्द दिने हुनुपर्छ घर ।

भनिन्छ पनि मन बस्ने पो घर; नभए के घर ! आज मान्छेका चाहना अनुसार, साना-ठूला, अग्ला-होचा, ढुङ्गा माटोका, सिमेन्ट, बालुवा, रडका, वा अन्य बैकल्पिक निर्माण सामाग्रीहरु प्रयोगगरी घरहरु बनाइन्छन् । बास्तवमा तीनै घरमा हामी अभ्यस्त छौ । तर के हामीले ठ्याक्कै आफ्ना आवश्यकतालाई मध्येनजर गरेर बनाएका छौ ? हामीले बनाएका घरहरु आवस्यकता भन्दा ठूला वा अर्थहिन प्रयोजनका त छैनन् ? कस्तो हो हाम्रो आवश्यकता ? हाम्रो आवश्यकतालाई समेटेर घर बनाउँदा केके कुरामा ध्यान दिनुपर्छ ? अझ खासगरी साना तथा कम बजेटका घरहरु हाल नगरमा वा गाउँमा बनाउने प्रक्रिया बढेको छ कि छैन ? के सस्ता भूकम्पप्रतिरोधी घर बनाउन सम्भव छ ?
पिल्लरवाला घरको केही बिकल्प छ ? के छ सम्भावना, के छ समस्या ? चर्चामा यिनै बिषयमा पार्न खोजिएको छ ।

सर्वप्रथम घर बनाउनु अघि के के कुरामा ध्यान दिने :

  •  घरको प्रयोजन के हो ? आवासिय वा ब्यापारिक
  •      घर बनाउन पर्याप्त र सुरक्षित जग्गा छ कि छैन ?
  •  हामीले बनाउन लागेको घरका लागि कति खर्चगर्न तयार छौ ?

यहाँ म तेस्रो बुँदामा रहेर चर्चा गर्न चाहन्छु । उत्तर सजिलो छ । खर्च भन्ने कुरा सापेक्षिक हो । घाँटी हेरेर हाड निल्नुपर्छ । निश्यच नै ठूलो बनाए ठूलो खर्च, सानो बनाए सानो खर्च लाग्छ । फेरि प्रयोग गरिने सामाग्रीमा पनि भरपर्छ । यदि सिमेन्ट बालुबा रड प्रयोग गरी इन्जिनियरिङ भाषामा भनिने मोमेन्ट रेसिस्टिङ फ्रेम सट्रक्चर अर्थात आरसिसि घर अझै सामान्य भाषामा भन्दा पिल्लरवाला घर; गारोले भारबहन गर्ने घर वा ब्लकले बनाइने घरहरु भन्दा बढी महंगो पर्न जान्छ । भन्ने हो भने शहरीकरण भइरहेका ठाउँहरुतिर पिल्लरवाला घरहरु नै बढी रुचाइएको छ । तर पहाडी इलाकाका अलिक दुरदराजमा गारोले भार बहन गर्ने वा अन्य बैकल्पिक सामाग्रीहरु ( कंक्रिट ब्लक वा माटोकै ब्लक वा काठ वा बाँस वा प्लास्टिक बोतल वा विविध)  हरुबाट बनाइँदै आएको छ । घरको प्रयोजन र आवश्यकताले घर बनाउने प्रबिधी निर्धारण गर्न सकिन्छ । केही बाध्यता पनि हुन्छन्; जस्तै ब्यापारिक तथा सामुदायिक प्रयोजनका (पसल, बैक, आफिस, मल्टिप्लेक्स, बिधालय, क्याम्पस, अस्पताल,बहुउदेश्यिय संस्थान वा ब्याक्तिगत) लागि पिल्लरवाला घरहरु नै उपयूक्त हुन्छन् । यध्यपी आवाशिय प्रयोजनकालागि पनि नहुने हैनन । तर यदि सस्तो र सानो परिवारको लागि हो भने दुईकोठे, तीनकोठे, चारकोठे, एकतले, दुईतले सम्म गारोले भार बहन गर्ने वा बैकल्पिक निर्माण पद्दतिका घरहरु पिल्लरवाला घरका राम्रा बिकल्पहरु हुन् । बिगतमा हाम्रा पिता पुर्खाले बनाएका घरहरुमा भएका कमि-कमजोरीहरु सच्चाएर बनाए यी घर स्वस्थकर पनि हुन्छन् । नेपाल सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा भूकम्पप्रभावित समुदायहरुको पूनर्स्थापनाको लागि यस्ता घरहरुको डिजाइन तयार गरिदिएको छ । ती घरहरुको बिभिन्न मोडेल तथा आवश्यक सामाग्री, जनसक्ति समेत त्यहाँ प्रस्टाएको छ । डिजाइन क्याटलग भाग एक र भाग दुई त्यसैका राम्रा उदाहरण हुन् । त्यहाँ बिभिन्न डिजाइनहरु उपलब्ध गराइएको छ । ढुङगा माटोको, ब्लकको, ईटाको, फलामको, वा अन्य  बैकल्पिक निर्माण सामाग्रीको प्रयोगगरी घरहरु बनाउन सकिन्छ । आफ्नो आवश्यकतालाई र उपलब्ध सामाग्रीलाई हेरेर ती मध्येको डिजाइन रोजी नेपालका जुनसुकै भागमा बनाउन सकिन्छ । ती घरहरु बास्तवमा नेपालको पहिचान बोकेका घरहरु पनि हुन् । ती घरहरु बनाउन बिशेष प्राविधीक ज्ञान पनि चाहिँदैन । स्थानिय सामाग्री, संसाधन र कालिगढले सहजै निर्माण गर्न सक्छन् । यी घरहरु भूकम्प प्रतिरोधी पनि हुन्छन् ।

नेपाल सरकारको भवन संहितालाई पालन पनि गर्दछन् । अनावश्यक खर्चलाई कटौती पनि गर्दछन् । मैले देखेको जगमुनी प्रशस्त ढलान गरेर, दुईदुईवटा बीम बाँधेर बनाउने एकतले घर भन्दा गारोवाला घर वा बैकल्पिक प्रविधीका घरहरु आधाआधि नै सस्ता हुन्छन् यदि उत्रै साइजको बनाउने हो भने ।       यतिमात्र हैन उपलब्ध घरहरुका नमुनाहरु राम्रा लागेनन भने थप नमुनाहरु सृजना गराउन सकिन्छ । सेवा प्रदायक प्राविधीक वा कन्सल्टेन्सीहरुबाट त्यो सुबिधा लिन सकिन्छ । आफूले चाहेको जस्तो डिजाइनको निर्णय गरिसकेपछि घर बनाउन इजाजतको लागि नगरपालिका वा गाउँपालिकाको नियम बमोजिम नक्सा पास गराउन पर्दछ । जस्तो सुकै घर निर्माण गर्दापनि निर्माण सामाग्रीको गुणस्तर राम्रो हुनुपर्दछ । त्यो भन्दा पनि पहिला कति कति मात्रामा कुन सामाग्री आवश्यक हुन्छ र ल्याइसकेपछि त्यस्को भन्डारण कसरी गर्ने –ध्यानमा राख्नुपर्छ । सामाग्री मात्रै राम्रो भएर हुँदैन मिस्त्रीपनि दक्ष हुनुपर्दछ ।

                पूरापूरा प्रविधीसँग जानकार हुनुपर्दछ । निर्माणको अनुगमन दक्ष प्रविधीक वा जानकार ब्याक्तिलाई  गराइराख्नुपर्छ । निर्माण गर्दा भूकम्पिय सुरक्षाको लागि डिजाइनमा तोकिएका बन्धनहरु छुटाउनु हुँदैन । कमसेकम पनि ढोका मुन्तिर (प्लिन्थ बन्धन), झ्याल मुन्तिर (सील बन्धन) र झ्याल ढोका माथी (लिन्टेल बन्धन)।

अन्त्यमा, सरोकारवाला वा सबैलाई भन्नै पर्नेकुरा; घर आवश्यकताले बनाउने कुरा हो । भलै घर रहर पनि हो । गच्छे हेरेर बनाउन अनुरोध गरिन्छ । प्रयोजन पनि बिषेश ख्याल गर्नुपर्छ । यदि ब्यापारिक क्षेत्रमा बनाउने हो भने त्यस क्षेत्रको ब्यापारिक संभावनाको अध्ययन नगरी बनाउनु कदापी सही होइन । घर पटकपटक बनाइदैन बनाउनु पूर्व ब्यापक छलफल मन्थन जरुरी हुन्छ । बनाउने घरको लगानी र आम्दानीको अनुपात जान्नु बुद्दीमानी हो । घरले आम्दानी दिने थलोमा सोही अनुसारको साइज र प्रविधी निर्धारण गर्नुपर्छ । तर यदि आवाशिय क्षेत्रमा जहाँ ब्यापारिक संभावना सुन्य छ, घरको प्रयोजन नै आवास हो भने ठूला र खर्चालू घर बनाएर रीणको भारमा पर्नु निश्चय पनि प्रत्यूत्पादक हुन्छ । त्यसैले त दोहोराएर भनिदैछ, पिल्लर बिनाका सस्ताघर पनि राम्रा बिकल्प हुन् । सरकारले यस्तो प्रविधीलाई जोगाइराख्न ब्यापक प्रवर्दन गर्नुपर्दछ । यस सँगसँगै भू-उपयोग क्षेत्रको बारेमा पटकपटक छलफल चलिरहेपनि यसको कानुन बन्न, पारिपालना गराउन ढिलो हुँदा भू- उपयोग लथालिङ्ग पाराले भएको छ । खेत; खेत जस्तो छैन। गाउँ; गाउँ जस्तो छैन । शहर; शहर जस्तो छैन । कुन हो ब्यापारिक क्षेत्र ? कुन हो आवाशिय क्षेत्र ? आज सम्म अन्योल नै छ । क्षेत्र तोकेर गरिँदो हो त सम्मपरेका तिनै खेत, एकनासका तिनै घर रवस्तीविकास हेर्न पनि पर्यटक आइरिन्थे । लथालिङ त हेर्न कोही पनि आउन्नन होला । यदि सरकारी तहबाट समयमै होस
नपुर्याए मुती पनि सकें दैलो पनि देखें भने जस्तै हुनेछ ।

छविलाल ढकाल
(इन्जिनियर)
९८४७२५६८१४
बर्दघाट -४,

Leave A Reply

Your email address will not be published.