Palhinandan Jado

लकडाउन आख्यान !

लेखक ः छवि ढकाल

0 8

घटना १

कुरा चीनको वुहान प्रान्तबाट शुरु भएको हो । कुरा त्यहीँ थियो, त्यही कोरोनाको । त्यस भाइरसको संक्रमणले मान्छेहरु मरिरहेको । ‘संक्रमण दिनदिनै बढ्दै छ । हिड्डुल् बन्द छ । मान्छेहरु घरबाट बाहिर निस्किएका छैनन् ।‘

मभने -सतर्क हुनी कि, के गर्नीहोला ? त्यो रोग नेपालसम्म आउला नआउला ? यहाँ के होला ? थोर बहुत सोँचमा रहेको थिएँ । हो । त्यतिबेलै गाउँका एकजना दाइले भने, ‘ए, त्यो कोरोना ! त्यस्ताको पछि लागेर हुन्छ ? त्यो त जेपायो त्यईं खानी चाइनिजहरुलाई लाग्नी हो ।‘‘ फेरि त्यस्तै ढुक्क बनाउनेकुरा फेसवुकका साथीहरुले गरे, ‘त्यो कम्जरो, सुकिलामुकिलालाई लाग्नी भाइरस हो । हाम्लाई केही हुन्न ।‘ सबैकाकुरा सुनेपछि सन्तोषै भयो । फेरि रुघाखोकी त लक्षण रैछ । जाबो रुघाखोकी ! सजिलै पचाइन्छ । काठमान्डौको धुलो पचाएकाहरुलाई कोरोना ! अझ गाउँघरमा त झन् जन्मेदेखि धुलोमुलोमा हुर्कने हाम्लाई के छोओस् !

बरु त्यो भन्दा त फेसबुकमा, ट्विटरमा बिदेशी मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिले नमस्ते गरे भनेको सुनेरै रमाइलो लाग्यो । डोनाल्ड ट्रमले पनि नमस्ते ‘गरेचन्’ गाँठे ! हाम्ले गर्नी नमस्तेको विश्वभरि प्रचार ! लौ है हाम्रो दिन आयो ! त्यतैपट्टि मन रल्लियो । घरमा चाहिने सामान जोहोगर्न खासै आत्तुरी गरिएन । सरकारले भनि त रहेको थियो- ‘हामीसँग पुग्दो सामान छ । हाम्रो तयारी छ । संग्रह गर्ने काम नगर्नुहोस् । कालाबजारी गर्नेलाई कार्वाही गर्छौ ।‘

त्यसो हो भने किन आत्तिनु ?

फेरि त्यसैबेला मेरो प्रगती पनि भएको थियो । पद्मालाई ‘प्रपोज’ गर्दा उसले ‘एस’ भनेकी थिई । त्यस्तो रमाइलो हुँदाहुँदै दुनियाँका समाचार सुनेर किन टाउको दुखाउनु ? बरु चैतेदशैंमा बाग्लुङ कालिका जाने, अनि न्यू ईयरमा पोखरा जाने; सबै प्लान ट्याकटुक मिलाएको थिएँ । उसले पनि कुनै तिकडम् लगाएर जाउँला भनेकी हो । मोज गर्नी बेला यैं त हो नि ! म तिनैदिनहरुको पर्खाइमा थिएँ । तर कोरोनाको गाँइगुँइ बढ्दै गयो । गाँईगुँई अलि बढ्तै भएपछि बुबाले भन्नुभयो- ‘एकमहिना जतिलाई पुग्ने सामान ल्यार राखम् ।‘ आमाले पनि भन्नुभयो- ‘के ठेगान हुन्छ र ! अलिकति त संग्रह गर्नुपर्छ ।’

सामान किन्ने जिम्मा मलाई आइलाग्यो । तर त्यसदिन मलाई जरुरी काम पर्यो । पद्माले बोलाई । बल्लबल्ल परेको लव ! उसँग डेटिङमा गएँ । आखिर सामान ल्याउन त्यतिकै भयो । बेल्का फेसवुकभरि समाचार छरियो- देशमा लकडाउन लाग्यो । फ्रान्सबाट आएकी युवतीमा कोरोना देखियो रे । मलाई त्यहीँ पिरलो भयो- भोलि दोकान खुल्नी हुन् कि नाई ! बिहान बुवाआमाको खपी नसक्नु गाली खाएँ । यसै बुझौं भनेर दोकानमा गएको थिएँ; खुलेको भेटियो । काठमान्डौमाको कोरोना गाउँ कसरी भित्रिन्छ भनेर होला; साहुजीले दोकान खुल्लै राखेको ।

जेहोस् साहुजीले सामान भनेजति दिए । तर सप्पै सामानको मुल्य हिजोको भन्दा बढी ! ‘एकैदिनको फरकमा सामानको मुल्य बढ्छ र ?’

‘ए भाइ ‘लक डाउन’ भन्ने था छैन ? खोल्नै नहुने पसल खोलेर दे’छु । चाइए लैजाउ । नचाइए बाटो नाप ।‘ उसले त्यसो भनेपछि मैले गर्नसक्ने गरें । नलगे बाले मार्छन् । पैसा बुझाएर म सामान लिएर निस्किएँ । त्यसको तिनचारदिनपछि त सामान नै पाइन छोड्यो । पाइएको पनि ‘डेट एक्सपाएर’ भएको । ‘यस्तो सामान बेच्नीलाई किन कार्वाही गर्दैनौ ?’ मैले कुरो लाउनी ठाउँमा फोन गर्दिएँ । त्यति गरेपछि कार्वाही हुन्छ भनेर म ढुक्क भएँ । बेलुका फेसबुकमा समाचार देखें- सरकारले चाइनाबाट खरिद गरेको सामानलाई धेरै महंगो हाल्यो । मैले सोँचे- बेला त्यस्तै हतारको परेर होला ! अफ्ठ्यारो पर्दा त महंगै हालेर भएपनि किन्न पर्यो नि ! फेरि चाइना हाम्रो ससुराली पनि त हैन । मौकामा चौका त तेल्ले पनि हान्छ, हैन र ! तर कुरा यस्तोपनि थियो- धेरै सामान त डुब्लिकेट हुन्, कामै नलाग्नी छन् । त्यसपछि मेरो पारा तात्यो । डुब्लीकेट पनि महंगो पनि ! ‘सर्कारको काम पनि हाम्रो साँईलो बाको जस्तो हुन्छ र !’

मतलब ठाउँका ठाउँ आँखामा छारो हाल्दिनी ?

आखिरमा कुरो बुझें । किन साहुजीलाई कार्वाही भएन । किन उसले निर्वाध रुपमा डेट एक्सपाएर भएको सामान बेच्न सक्यो । सरकारका मान्छेको काम त्यस्तो भएपछि साहुजीले किन ठगोस् ! बरु उसलाई नजीर पो बन्यो । केही बोले त सरकारको कुरो जोडेर ठाउँकाठाउँ चुप लाइदिंदो रैछ । हुनत थाहा पाउँदा पाउँदै जोरी खोज्ने हामी नै उस्तै हौं । खासमा यस्तै बेलामा त हो नि कमाउनी । ब्यापार गरेको, राजनीति गरेको जोगी बन्न हो र !

त्यो त भयो यौटा कुरा । अर्कोकुरा मेरो ‘अफेयर’ ठीकै चलेको थियो । लक डाउनले ठूलो असर गर्न भ्याएको थिएन । भेटघाटमा जान भित्रीबाटा छँदै थिए । बाटाबाटामा तगारा लगाएपनि, हेल्मेट नलगाएर, ल्याङफ्याङ भएर हिड्नेलाई कस्ले पो रोक्ने आँट गर्छ र ? त्यसैले डेडिङमा सुटक्क सुटुक्क निस्किरहें । भनौंभने लकडाउनको अघिल्ला हप्ताहरुमा हाम्रो भेटघाट भइरह्यो । तर पछि मोरीलाई रुघा लागेछ । कस्तो बेलामा रुघा ! अब कसरी नजिक पर्नु ? उसले त, ‘सामान्य हो’, भनेकी थिई । ‘सधै हुनेखाले हो । मलाई चिसोको एलर्जी छ ।‘ तर उसले जेभनेपनि नजिकै नपर्न भनिरा’छ कोरोनाले । अब रुघा लागेकासँग कसरी नजिक पर्नु । त्यसदिन अलि पर-पर बसेर उसँग गफिएँ । डेटिंङ जानुछ – त्योपनि दुनियाँको कचकच सुनेर । पुलिसबाट लुकेर । फेरि गलफ्रेन्डको हात समाउन त के नजिक पर्नपनि सकिन्न । एकदिन फोनमा कुरागर्दा- ‘टाउको दुखेको छ‘, पनि भनी । अझ हल्का ज्वरो पनि आ’छ रे ! त्यसपछि मैले भेट्न त के फोन गर्नपनि छोड्दिएँ । बाँचे पो लवसभ !  के गर्नु त कोरोना भिलेन भैदिएपछि ? यसरी ठाउँका ठाउँ मेरो ब्रेकअप भयो ।

घटना २

‘घरमा बस्दा के गरम के गरम, के भनम के भनम् भनेर खसखस मुख चिलाई रहन्छ । घरीघरी चिढिन्छु पनि । खुट्टा गह्रुङ्गा छन् । ज्यान लोसिएको छ । जो हेर्छु ढुङ्गा जस्ता भारी देखिन्छन् । पिरलो त यो पो छ- केटाकेटी पढ्नै मान्दैनन् । कि त टिभीमा, कि त फेसबुक र यूटुबमा । भन्नेहो भने तीपनि हेर्न छोडे । जताततै कुरा यौटै । खाली कोरोना कोरोना कोरोना । भुल्नलाई तिन्लाई नयाँकुरो मैले के दिनु ? ‘ममी ! चिकेन मम बनाएर खाम्‘ भन्छन् । तिनलाई बजारमा चिकेन पाइन्न भन्नी पनि थाहाछैन । भेज मम चाँहि हुन्न रे ! टाठिनलाई अमिलो पिरो च्याट्ट चुट्ट काँबाट ल्यादिनु ? भएकोपनि सकिइसक्यो । नभए नयाँ नयाँ भेराइटी चाइयो रे ! उहिले कै जस्तो काँ पाइन्च र ? घरमा मलाई सघादिन त कहाँ हो कहाँ उल्टै सताउँछन् । उनरका बाउ चाइनेलाई दिनमा दशपाली चिया खानपर्ने । चिया खाए त्यो पनि ठीकै छ । केटाकेटी समेल्दिए त हुन्थ्यो नि । कति सक्छ र ? यौटा ज्यानले । म बाहेक घरका सबै बन्दाबन्दीमा परेकोझैं गर्छन् । मलाई लुगा धुन, पकाउन, भाँडा माज्न अनि उनीहरुका ख्वाइस पुरागर्न ठिक्कै छ । उनीहरुभने काम भएन भनेर फेसबुकमा स्टाटस लेख्छन्- ‘कामै भएन । यो बन्दाबन्दी कति दिन लम्विनी होला ?’ हिजो त मारी कराइदिएँ । आईमाईले मात्रै ठेक्का लेछन् र घरको धन्दा ? बिहान एकछिन ठ्याकठूक भयो । ब्यानभरि नबोलेर बसें । यस्तो बेलाँ नबोलेर कसरी सकिन्च र ! उनको पारा त्यस्तै हो; सुन्दैनन् ।‘ यी गुनासाहरु नर्मदाले मनकुमारीलाई सुनाएका हुन् । कोरोना भाइरसको संक्रमणले देशमा बन्दाबन्दी हुँदाका असहजता उपर उनीहरुको एकघरको आगनबाट अर्कोघरको आगनमा रहेर बातचित गरेका हुन् । तर त्यसैदिनको बेलुकापख नर्मदाको गुनासो छरपस्ट भयो । उनको घरमा चर्काचर्की गरेको नबुझिने आवाज सुनियों । त्यो चर्काचर्की मनकुमारीलाई साह्रै बुझ्न मनलाग्यो । उनले मात्र हैन उनका बुढालाईपनि सुन्न मन लागेछ । दुबैजना चुपुक्क नबोलेर नचलेर सुने । अलि ध्यानदिएर सुन्दाभने नर्मदाको घरको कुरा बुझियो । कुरा त्यहीँ थियो- श्रीमतीलाई श्रीमानले नसघाएको । निश्चय नै त्यो सल्लाहमात्रै थिएन । भाँडाकुडा ठन्याङ मन्याङ गर्दै बजेका थिए । के के फुटेझै पनि लाग्यो । खै कस्ले कस्लाई हान्दा हो- रोटी बनाउने बेल्नो मनकुमारीको कर्सामा झर्यो । त्यतिबेलै छोराछोरीले सम्झाइबुझाइ गरे होलान्; एकदुई पल्ट उनीहरु बोलेको मनकुमारीहरुले थाहा पाए । पछि उनरका ड्याडीले ‘मा..मु’ लगाएर छाडागाली गरेपछि उनीहरु रुँदै आआफ्ना कोठातिर पसे । आठैबजे उनरको घरमा बत्तीसत्ती निभिसकेका थिए । मनकुमारी बाहेक अरु छिमेकीहरुले पनि अडकल काटे- त्यससाँझ उनीहरुकोमा कसैले खाना खाएन । कसरी थाहा पाए होलान् भनेको त – थाल, कटौरा, ताप्के, दिउरो जम्मै छिमेककीका आगनतिर छरिएका पो रहेछन् । पकाउने भाँडै हुर्राएपछि केमा पाक्यो होला त खाना ? नपाकेपछि खानेकुरा पनि भएन । त्यति दिमाग त लगाउने सक्थे छिमेकीहरु ।

घटना ३

मनकुमारीको घरको कुरा अर्कै छ । उनका ससुरा जतिबेला पनि टोलाइरहन्छन् । भनिरहन्छन्, ‘राम कृष्ण हरी ।‘ उनले ती नाम प्रायः लिईरहने हुन् । तर यसपाली बढी लिन्छन् । अचेल ‘ब्यानब्यान’ कुकुर भुक्दा उनलाई रीस उठ्छ । बुढो भएपनि रीसउठेपछि के गर्नु र ! सकिनसकी आफैंले टेक्ने लौरोले कुकुरलाई झटारो हान्छन् । हान्न त हान्छन् त्यो लौरो फेरिपनि चाहिन्छ । त्यहीँ लौराको साहराले दुईपाइला सार्नी हुन् उनले । तर फालेको लौरो लीनजान साह्रै धौ हुन्छ । पहिले त उनले कुकुरलाई सधै ‘कलो’ छुट्टाइदिन्थे । राम्रो मानेर रहरले हो कुकुर पालेको । तर यो एकहप्ता बन्दाबन्दी भएपछि उनले कुकुर भुकेको रुचाएका छैनन् । अझ एकदिन राती त्यही कुकुर भुकेनमात्रै । ‘हुँऊँ.. हुँऊँ..’ गरेर रोयो । त्यैईंमात्रै रोयो कि फ्याउरो पनि करायो ! उनले ठम्याउन सकेनन् । खासमा त कुकुर रुँदा ‘अलक्षिन लाग्च’ भन्नी उनको ठम्माई हो । त्यसैले ‘काल आइ सकेच- दैलाँ’, भनेर खुईय खुईय सास छोड्छन् । तर आँपको टुप्पोमा कौवा कराउँदा पाहुना आउलान् भन्ने आश पनि हुन्छ उनलाई । पाहुना पनि के भन्नी र ! दुईदुई हप्तापछि आइदिए घरकै आफ्नोमान्छेपनि पाहुना सरह लाग्नी भ’छ । कौवाको काँ-काँमा उनलाई विश्वास छ । भनम् भने एकदमै विश्वास छ । त्यही काँ-काँले ‘प्रान’ टिकाएको छ । कौवा कराए पाहुना आउँछन् । पाहुना भएपनि जो भएपनि आउने उनै हुन् । अझ झुसुमझुसुम कोही आफ्ना घरतिर आउँदा तिनलाई उनकै झझल्को आउँछ । खासमा उनी एक्लिएका छन् । साह्रै नै एक्लिएका छन् । वर्षले सत्तरी नाघे । उनलाई बाथ छ । त्यसमाथि डायबिटिज पनि छ । अरु त अरु मुटु रोगीपनि हुन् । आफूलाई नजिक रहेर स्याहार्ने आफ्नी‘कान्छी’, छोरी भेट्न गएकी, उतै थुनिईन । कान्छीलाई जेठी खसेको एकबर्षपछि झ्याँईझ्याँई बाजा बजाएर ल्याउएका हुन् । उनै कान्छी बन्दाबन्दीमा परेर बाँणगंगा देखि नवलपरासी पनि आउन सकिनन् । उनीहरुले पैला त यस्तो चर्को बन्दाबन्दी होला भनेर नै सोँचेनन् रे । मनकुमारी भन्छिन, ‘नेपाल बन्द जस्तै होला भनेर ठानियो । त्यो त हैनरैछ । चपक्कै किरामुसा नहिंन्नी बन्द हुनी हैच ।‘ ससुराको पिरलो एकातिर छ । उनलाई झन् पिरलो छ । दुईटी छोरी मावल गएका हुन् । उनीहरुपनि उतै रहे । घरमा तीनजनामात्रै हुँदा साह्रै सुनो छ । उनकोमा- नर्मदाकोमा जस्तो सताउने मान्छे भैदिए कत्ति झिझिन्न थिइन । उनी यस्तै सोच्छिन् । बरु उफ्रिएर कोकोहोलो गरेर घरजस्तै बनाइदिन्थे । त्यहीँ कति रमाइलो हुन्थ्यो ! फेरि घरमा इन्टरनेट नहुँदा पनि गाह्रो भएको  हो । मोबाइलबाट कुरा त गर्छिन् तर भेट्न झन् आतिन्छिन् । घरको आयस्ता राम्रो नहुँदा घरमा ‘डिसहोम’ पनि छैन । ‘वाइफाइ’को कुरा त परै जाओस् । धन्न एकदिन छोरीका बाबाले मोवाइलमा ‘डाटा’ लिएर उनीहरुसँग भिडियो ‘च्याट’ गराइदिए । त्यतिले उनी अलिक सन्तोष गर्न सकेकी हुन् । तर विचारा ससुरा बा । उनलाई कसले पो सोधपुछ गर्छ र ? अझ त्यस्तातेस्तीको । उही ‘ब्यानबेल्का’ खाना खानसम्म सोध्छन; त्यति हो । फेरि सामाजिक दुरी अनि ब्याक्तिगत दुरी बढाउने कुरो रेडियो टिभीले फुकिरहेको छ । एकान्तबासको कुरो पनि गर्छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन हो त्यसो भनेको । तर उनी सधै एक्ला थिए । भनौभने धेरै पहिलेदेखि एकान्ताबासमा रहँदै आएका थिए; दुइटै बुढाबुढी- छोराबुहारीबाट । त्यो कोरोना नलाग्दै देखिबाट हो । ‘किन हैछ कुन्नी बुढाबुढी भएपछि एकान्त बासमा बस्न पर्नी ? यो कुरो कुनै शास्त्रमा लेखेको छ कि छैन होला !’ उनी सोच्छन् तर निर्क्योल गर्न सक्दैनन् । झन् अब त कोरोनाले नै भन्छ- नजिक नपर । त्यसैले उनीसँग घरका छोराबुहारीले कुरासम्म गर्न भ्याएका छैनन् । नातिनीहरु भए त अलिकति न्यास्रो मेटाइदिन्थे । त्योपनि छैन । हुनत नातिनीहरु बाजेबज्यैसँग रहँदा खासै रुचाउने हैनन मनकुमारीले । मनकुमारी नजिकिएको फेरि उनको बुढाले रुँचाउँदैनन् । नरुचाएपनि बस्न परेको छ सासुससुरासँग । खासमा त चारकठ्ठा खेत अझै बाआमाको नाममा छ । तर मनकुमारीका बुढालाई रीस उठेको किन हो भने- बाआमाले उनीसँग नसोधिकन गाउँको बिध्यालयमा भएको धन्यानन्चलमा एककठ्ठा भूमी दान गर्दिए । उनले घर बनाउँदा लाएको रिन तिर्न सघाएनन बाआमाले । तर भको जग्गाचाँहि फ्रिमै बाड्दै हिंडे । भलै बाआमाले भागबन्दा गर्दिंदा छोराहरुलाई बराबर बाँड्दिएका हुन् । शेषपछि आफूहरुलाई राखेको तिमरकै हो पनि भनेका हुन् ।  तर बाँड्दै हिड्नेले के बचाइदेलान् शेषपछिसम्म । सम्झीसम्झी रीस उठ्छ मनकुमारीका बुढालाई ।

दिन बित्दै गयो । लकडाउनको समयावधि फेरि लम्वियो । उसैगरी आँपको टुप्पामा बसेर कराउने कौवाले झूटो सुचना दिइरह्यो । बन्दाबन्दीको सोह्रदिनपछि बा पीरैपीरले ढले । उनले छोराबुहारीलाई पटकपटक भनेका हुन्, ‘भन्न-भन्न रिगाउँच । एकपल्ट तेरी आमासँग कुरो गराइदे । दबै खानपनि मेसो पाउन्न ।‘ के गरुन छोराबुहारीले ! रीसैउठेपनि बाआमाको कुरागराइदिने सोँच्न त सोँचेका हुन् नि । तर ‘बिर्सेचन्’ । बिर्सिनीको दबै बजारमा पाइनी भए पो उनीहरुको दोष ! तर बुढा ढलिसकेपछि उनीहरुलाई अफ्ठ्यारो भयो । अर्काको घरमा के हुँदैछ भनेर चियोचर्चो गर्ने छिमेकी भएसी रमाइलै नहुनी । अर्काको कुरा काटेर खानीपनि छन् टोलमा । नभन्दै बा ढलेको कुरो वल्तिरपल्तिर पुग्यो । अब त लोकलाजैले पनि डाक्टरलाई बोलाउन पर्नीभयो । नभए एम्वुलेन्सलाई भएपनि भन्न पर्नीभयो । कताकता फोन गरे । उपाय लागेन । आखिर डाक्टर आइदिएनन् । किन आउँथे र ! मर्न पनि कोहि आउँछ ? जाँदा पनि चेक गर्दिएनन् । ‘यस्तो समयमा त ब्लडप्रेसर पनि चेक गर्न मिल्दैन ।‘ त्यस्तो पो भने गाउँका डाक्टरले ।

एम्बुलेन्स के भयो भन्ने प्रश्न होला !

एम्वुलेन्सवाला पनि त भेटिएनन् नि । बिरामी लिएर कताकता ग’छन् रे ! कति बिग्रीएर थन्किएका छन् रे !  केही गरेपनि मेसो लागेन । आखिर बुढा ढलेको ढलै भए ।

घटना ४

चकमन्न सुनसानमा पाँच-छजना मान्छेहरु झुसुमझुसुम गाउँको बाटो छिरे । त्यो कुरा नर्मदाका श्रीमानले थाहा पाए । घरअगाडिको बाटोहुँदै कोही अटेरीहरु आउँदै गरेको कुरो उनले गाउँका ठिटाहरुलाई खबर गरे । आखिर संक्रमणबाट जोगिन त्यो नगरी पनि भएको थिएन । चारपाँचजना बलियाबंगा ठिटाठिटीहरु बाँसका लाठा बोकेर उनै आउनेहरुपट्टि दौडिए । ती गाउँछिर्ने ‘अटेरी’हरुले मास्क लगाएका थिए । पच्छौराको नाम्लो जस्तो बनाएर फिरपातामा झोलासोला खित्रिमित्रि बोकेका थिए । निलाकाला देखिन्थे । हेर्दै रोग सार्नी जस्ता ! जब उनीहरु र ‘रोगसार्नी’हरु आमनेसामने भए । लाग्यो उनीहरुलाई – ती ‘अटेरी’हरु कोरोना सार्ने परजीवी हुन् । उनरले बोकेका बोराका झोलामा त कोरोना नै बोके होलान् । बाबै कोरोना बम भनेको यै हो क्यारे ! उनीहरुको हुलिया देखेरै टोलकाले उनरलाई फर्कन उर्दी जारीगरे । झोलातिर हेर्दै हकारे, ’बन्द छ भन्नी था छैन ? यो बाटो हिन्न पाइन्न । जाँबाट आ’को उतै जायो ।‘

जानैपर्ने त्यहीँ बाटो । सामल सकिएर ‘काठमन्नु’बाट हिंडेर आएकाहरु । अब घर पुग्नी-पुग्नीबेलामा किन फर्कन्थे र ! फर्की भन्दैमा काँ पो जानी होला र ! आफ्नो लामो यात्राको रामकहानी सुनाए- ठाउँठाउँमा गलहत्ताइदै आएको, कही भोकै, कही चिउरा चाउचाउका पोकाले भोक धानेको । अगाडि जानदिन अति नै अनुनयबिनय गरे । तर, के त्यो दया मान्नी बेला थियो र ? रोग ल्याएका रैछन् भने त गाँवै पो सखाप हुन्छ । गाँइगुँइ त्यहीँ थियो जताततै अनि त्यसैको थियो । त्यसोभएपछि अगाडि बढ्नदिने कुरोपनि भएन । बरु पुलिसलाई खबर गर्दिए । उनीहरुले भन्न त भनेका हुन्, ‘निधाराँ बन्दुक जस्तो तेर्साएर अगिनै हाम्रो जोरो नापिसके । केई भ’छैन अरे !‘ त्यो उनीहरुले भनेमात्रै । थकाइले थिलोथिलो भएका थिए । भन्नेहो भने त हनहनी तातो थियो नि शरिर । तर रोग ले हो र ! हैन नि । भोकले, अत्यासले, ठाउँठाउँका झन्झटले उनीहरु बढ्ता पीडित लाग्थे । अझैपनि केके बुझ्न भनेर पुलिसले उनीहरुलाई वडामा तयारपारेको एकान्तबासमा लिएर गए । उनीहरु गाउँ पुगेर पनि एकान्तबासमै बस्नेवाला थिए । पुछारमा, खोलाको किनारमा, दुरदुरमा त थियो उनीहरुको बास । त्यहाँ को पो पुगेको थियो र ? न अब को नै पुग्ला ? सधैका एकान्तबसीलाई खर्चगरीगरी नयाँ एकान्तबास किन सृजना गरेको होला राज्यले ? उनीहरुले एकअर्काको मुखामुख गरे । उनीहरु अचम्ममा त परे नै तर एकदिनलाई उनीहरुको पीडा फेरिपनि लम्बियो । त्यो समाजका गन्यमान्यले नबुझेर लम्बियो । नजाने कति दिन लम्बियो । भन्न त एकैदिन भनेका हुन् तर के त्यो केवल एकदिन थियो; सिर्फ सामान्य एकदिन ? त्यस्तो हैन नि ! बाह्रदिनमा गाउँ नजिक नजिक पुग्दा त्यस्तो हुनु, त्यो एक प्रहरपनि कति लामो भए हुँदो हो ! त्यो एकदिनमा चौबीस घन्टा थियो । चौधसय चालीस मिनट थियो । छ्यासीहजार चारसय सेकेन्ड थियो । र ती हरेक सेकेन्ड दिन जत्तिकै पीडादायी थिए । उता अलिबेरमा त आउलान्, के के पो ल्याउलान्, छोराछोरी त आशैमा थिए । खसम आएपछि पकाम्ला भनेर चामल भिजाएर ठिक्क पारीराखेकी थिईन संगिनीले । अरु त अरु तरकारी काटेर, मसला पिसेर ओइरिनमात्र बाँकी थियो । सधै मिठो मानेर खाइदिने उनकालागि आलुको छोप बनाउन चारदाना आलु भुङ्रोमा गडुल्किएका थिए । छोराछोरीपनि बा आउने भनेर नचली, नउफ्री थुपुक्क बसेका थिए । ‘तिमर चकचक गरे तिमरका बा आउन्नन’ भनेर डराउन दिएकी थिइन उनरकी ‘ममी’ले । त्यसैले नत ती आँगनमा उफ्रे । नत ती बेलौतीको रुखमा चढे । न काँचा किम्मु खाए । जब हिन्दै गरेका आउलान् साथै खाउँला; भनेर बुढीआमा पनि भोकै थिईन । छोरो आए त खाए जत्तिकै हुन्थ्यो !

‘मरेपनि एकैठाम भ’र मर्न पा हुन्तो; आउनुस् !’ फोनमा संगिनीले भनेकी हुन् । अनि बुढीआमालाई पनि छोरासँग कुरा गराइदिएकी हुन् ।

‘तँलाई देख्नै पाउन्न कि ! नदेखि मरेभनें नर्कमै पर्चु बाबै !’ आमाले साह्रै घिडकिसो देखाएपछि त हो नि छोरोले आउँछु भनेको । फर्कने सुविस्ता केही थिएन- हिड्ने बाहेक । त्यसैबेला हिंडेरै जाने अरुपनि भेटिए । अन्ततः गाउँ पुगिपुगिसकेका हुन् । तर नजिक पुग्दा घटेको घटनाको बारेमा उनीहरुले घरमा खबरसम्म गर्न पाएनन् । एक त मोबाइलको चार्ज निख्रिसकेको थियो । दोस्रो अरुले फोनगर्न दिन त के नजिक पर्नसमेत दिएनन् । नजिकै पर्न नहुनी कस्तो अपराधी रोग फैलियो ! छुनै नहुनी के श्राप लाग्यो  ! रुल्लटुल्ल थिए उनीहरुका आँखा ।

के भयो भयो ! त्यसदिन सबै चौपट्ट भयो । बा तीन घन्टामा आउलान् भनेर रुँगेका केटाकेटी भोकले आलसतालस भए । तीनको भोकप्यासपनि सोध्न पाइनन् संगिनीले । हिँजै आफैंले झरेका बेलौती खाएर केटाकेटीले बा पर्खिरहे । दिउँसो चरचरी चर्को भइसेको थियो घाम । खरो भएर मुख प्याकप्याक भएको थियो । यति हुँदापनि खान मनलागेन आमालाई । आँगन फुंग, फुस्रो। धुलौटे बनेको थियो । त्यसामाथि हावाले आँपका फूलपात झार्दिएर असरल्ल थियो वरपर । ती आमाको आशपनि ती बेकार आँपका पातजै असरल्ल पोखिएका थिए वरपर । बोट सुकेर उप्किएको लोप्रोझै मासुछोडेका ती बुढीआमाको छालामा निलो बान्की देखिन्थ्यो । निश्चय नै त्यो चोटले, डामले, आशले, प्यासले, केकेले थियो । ती निलो मर्म छालाभरि फैलिंदै थियो । अनुहार तेल निख्रिएको दियोझै धिपधिप गर्दैथियो । मानौ त्यो निलोबाट कालो हुँदैछ । त्यस आवस्थामा आमा बर्बराइन, ‘ब्यान खान आउनी भनेकाहरु; घाम सुन्तले हुँदासम्म नि आएनन् !’ आखिर त्यसदिन ती काटिएका तरकारी थालमै रहे । छोप बनाउने आलु त्यतिकै चाम्रिए । भिजाएको चामल ढाडिएर भातका सिता जस्तै भए । सबै बेकार भए । यसरी त्यसदिन चुल्हो बलेन । हुनत त्यो चुल्हो एकदुईदिन पछि बोल्नेवाला पनि थिएन । घरमा अन्नको गेडो उमाल्न पो हो चुल्हो बाल्नी । त्यो दुईभन्दा तीन छाकलाई पुग्नेबाला थिएन । जानेर नजानेर केटाकेटीले अत्याएनन् । भनौभने आज नपाकेको भोलि त पाक्ने नै छ । एकछाक बढ्ता पुग्ला । सायद त्यहीँ सोँचे, त्यसैले पनि अत्याएनन् । ती रोएमात्रै । ती केटाकेटीसँग उनरकी ममी रोइन । र ममीसँग आमा रोईन । उता ऊनीहरु पनि रोएको हुनुपर्छ । घर नजिकै आएर अल्झिनुपर्दा त भोकले, चोटले राँकिएको यो ज्यान यसरी छटपटिनुभन्दा त चङ्रङ आकाश खसेर च्याँपिएर मर्नपाए पनि त हुन्थ्यो नि !

उफ ! त्यहाँ आगन रोयो । बेलौतीको बोट रोयो । त्यो किम्मुको बोटपनि झोंक्रायो । अरु त अरु आँगनको डिलको फुस्रै फुलेको आँप पनि निख्लो भयो । लाग्यो त्यो घर जुनीजुनीका लागि निरास रह्यो । किन रोकिए उनीहरु, किन आएनन् ? कतै त्यो रोगले त समातेन् ! ती वुढी आमाले त्यो भन्दा बाहेक के सोँचुन !

आखिर ती आमाले छोराको मुख हेर्न नपाएरै पो मर्ने भइन ।

घटना ५

चीनको बुहानबाट विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न घरमै बसिदिऊँ । पटकपट साबुनपानीले मिचिमिची हात धोऊ । लकडाउनको पालना गरौं । अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कौं । कतै निस्कनुपर्दा मास्कको प्रयोग गरौं । एक ब्याक्तीबाट अर्को ब्याक्ति बीचको दुरी कम्तिमा तीन फिट कायम गरौं । यदि रुघाखोकीको लक्षण देखिएमा, ज्वरो एकसय चार डिग्रीभन्दा बढी आएमा, टाउको दुखेमा वा कमजोरी अनुभव भएमा वा निमोनिया भएमा एकान्तबासमा बसिदिउँ र अनि उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा संपर्क गरी जानकारी गराऊँ । यस कोरोना भाइरसबाट आफूपनि बचौं अरुलाई पनि बचाउँ ।

बिहानै बिहानै माइक घन्काउँदै अटो रेक्साहरु कुदिरहेका थिए । निख्लोबाटोमा कि रेक्साहरु कुद्थे कि त मान्छेको गन्धबिनाको वतास कुद्थ्यो । भनौभने बाटो रुल्लटुल्ल थियो । बाटोमा हिड्नेहरु घरमा रुल्लटुल्ल थिए । आज कमाएर आजै खानेहरुले कमसेकम फारो यति सम्म गरेका थिए कि भोलि सम्मलाई पुर्याउने । तर पर्सिका लागि के जोहो गर्ने; त्यो सोँचेर मन अमिलो हुँदै थियो । सायद त्यो कुरो बुझेर पालिकाले राहतको लागि लगत संकलन गरिरहेको थियो । त्यस्ता पीडितहरुको संख्या टोलसुधार समितीका अध्यक्ष मार्फत यकिन गर्ने । अनि वडा मार्फत सिफारिस भएका घरहरुमा राहत बाँड्ने । नर्मदाका श्रीमान टोल सुधार समितीको अध्यक्ष भएको नाताले उनको टाउकोमा ठूलै जिम्मेवारी परेको थियो । वडाबाट मागेको विवरण उनले दिनुपर्ने । त्यो कम्त गाह्रो काम हो ! कोकोस्लाई राहत नचाहिने ? कस्लाई नदिइ नहुने । उनले संझिदै गए- भिरपाटे, माझघरे, कैलासकुमार, नरबहादुर, हिराकुमारी, मैते, बाँणगंगे; उनरलाई छुटाउनै हुन्न । चुनावताका उनले भनेको चुनाव चिन्हमा छाप हान्नी उनै त हुन् नि !

तर त्यो यमबहादुरलाई त दिनै हुन्न । भनेकै मान्दैन । अझ टिमुर्किन्छ । बुङ्गो मोरो ! अरुको मुख नताकी छाक टार्न नसक्नी बज्याले किन ठूलाकुरा गर्नु ! उसको ब्योहोरा सम्झिएर उनले टिपीसकेको नामपनि कटाइदिए । त्यस्तै मन नपर्ने मान्छे हो धनेकी ‘ब्वारी’ । जेहोस् उनले काँटछाँट गरेर अरु छसातजनाको नामसहित लिस्ट वडामा पठाइदिए । त्यसमा दुईजनाको बसाइसराई गरेर गएकाको नामपनि राख्दिए ।

एकदिन भयो । दुईदिन भयो। हुनपनि यतिका दिन भैसक्यो लगत संकलन गरेको; खै त बाँडेको ? उनलाई सोधे कोहीकोहीले । राहत बाँड्न ‘किन ढिला भयो’ भनेर उनले फेसबुकमा स्टाटस दन्काइदिए । मजाक गरेको हैन, गाँउ, छरछिमेकालागि जेपनि गर्न तयार हुनेहुन- उनी । उनको एकै स्टाटसले ठाउँका ठाउँ कामगर्यो । नभन्दै राहत आयो । उनैमार्फत बाँड्ने भनियो । बाँडियो । सबैका घरघरमा राहत पोका पन्तुरा पुगे । सन्तोषै भयो । आखिर दुई थान पोका नर्मदाको घरमा रहे । मह काट्नीले हात चाट्छन् नि अरुले डाहा गरेर हुन्छ र !

कहीँकतै कोहीकोही मनकारीहरुले आआफ्नो हिसावले राहात वितरण पनि गरिरहेका थिए -चाउचाउका पोका देखि नुन सम्म । तर गज्जब के थियो भने बाँड्नेहरुले बडो मेहनतले फोटो खिचाए । गाउँका भद्रभलादमी देखि वडाका मान्यगन्य सम्म । ए बाबै कोकोले पो सेल्फि खिचाए । तीनका फोटाहरु फेसवुकमा छ्याप्छ्याप्ती । त्यस्तो सुनौलो मौकामा नर्मदाले पनि श्रीमानसँग राहत दिंदै गरेको फोटो खिचाईन । उनका श्रीमानले पनि अस्तीको झगडा बिर्साउन त्यो मौका दिए । छोराछोरी पनि आए । त्यतिबेलै छिमेकीहरुले पनि हात बटाए । मुख्यकुरा, धन्न नर्मदाले मुख चोँसे पारिनन् । पार्नी मन हो तर यस्ताबेला त्यो चाँई नगरम क्यारे भन्ने उनको मनमा आयो । तर साडी गरगहनालगाएर चिटिक्क देखिएकी थिईन । फेसबुकमा राख्नी भनेपछि नराम्री देखिएर पनि त भएन !

सर्लक्क फोटो फेसबुकमा हालियो । क्याप्सनपनि लेखियो, फिलिङ अमेजिङ ! राहत बितरण गर्दैगर्दा ।‘ ए बाबै  लाइक त कति कति ! नारन पुजा लाउँदा साङ्गेमा एकअर्कालाई छोएर कर्मकान्ड पुर्याएझै, अझ भन्नेहो भने त कन्यादान गर्दा हातहातले छोएर कार्ज्य संपन्न गरेझै- पाँचकिलो चामलका पोकामा दशबाह्र जनाले छोएर प्रकृया पुर्याएका फोटाहरु ! ति फोटामा अटाएका जतिले त्यो पोस्टलाई ‘सेयर’ गरे । सबैका लाइकहरु जोड्नी हो भनी त हजारै नाग्यो । कति रमाइलो  !

तर बसीखान भएन त्यो रमाइलो देखेर कोहीकोहीलाई । तिनै जो फेसबुकका ज्ञानी महात्माहरुलाई । उनीहरुले फेसबुकमै शास्त्रर्थ गरे । उनको शास्त्रर्थ उपर झन् ठूलो टिकाटिप्पणी भयो । त्यस्ता जाबा हल्ला टिकाटिप्पणी सजिलै पचाइदिए नर्मदाका श्रीमानले ।

‘के को डाहा ? के को सामाजिक दुरी- सेल्फी खिचाउँदा ? राहत दिनेभन्दा पाउने कमभए भनेर हुन्छ र ? जति दिएपनि देको त हो नि ! जे गरेपनि राम्रो भन्दैनन् लोभीहरु ! काग कराउँदै गर्छ पीना सुक्दै गर्छ ।‘ कोहीकोहीलाई त उनले अंग्रजीमै ठोक्दिए, ‘गेट लस्ट !’ भनेर ।

तर थाहा छ त्यसपछि के भयो ? राहतको चामल कुहिएको परेछ । दाल दुईकिलो भनेको डेड किलो परेछ । चिनीपनि एकपाउ कम थियो रे ! पछि राम्रा भएका सामान राखेर राहतलिनेहरुले बाँकी सामान नर्मदाको घरमा ल्याएर मिल्काइदिए ।

नर्मदा भन्छिन्, ‘उनरले जे दिए त्यही दिएर पठाएको हो ।‘

वडा कार्यालय भन्छ, ‘हाम्ले त सही पोका बनाउन लगाएका हौ ? कसरी त्यस्तो भयो ?’

आखिर चामल कसरी कुहियो ? दाल कसरी कम भयो ? सबै पशुपतीनाथकै जिम्मामा गयो ।

घटना ६

बिहान घाम त लागेको थियो तर त्यो घाम बैशाखको जस्तो थिएन । तराईमा त्यस्तो मुलायम, शितल घाम अघिल्ला बैशाखताका कहिल्यै देखिएको थिएन । घाम शितलै भएपनि त्यो रुन्चे प्रकृती को हो । आफ्नो प्रताप हराएर कोरोनाको शरणमा परेजस्तो । पश्चिमतिरबाट हारेर पूर्वतिर भागेजस्तो । भलै घाम शितल प्यारो हो । तर त्यो धैंसेघाम प्यारो लागेन । आफ्नो वास्तविक गुण छोडे, धर्मै छोडे त्यसको के महिमा ? हो बैशाख एकगतेको त्यो घामले कुनै ऊर्जा भित्राएन । भलै रुँदै गरेको अवस्थामाझै गहुँगो मनले स्वागत गरे सबैले । मानौ जीवनको नियम हो आफ्ठ्यारो सफ्ठ्यारोमा एकप्रकारले चलिरहने । स्वभावतः स्वागत गरेपनि नगरेपनि त्यो आउने नै थियो । आउने भएपछि किन मन अमिलो पार्नु ! आखिर नयाँ बर्षको शुभकामना आदानप्रदान भयो । बस् कामना थियो, कोरोनाबाट मुक्ति पाइयोस् । गाउँघरमा केको चर्चा हुन्थ्यो त्यसको जिकिर निश्चयनै जरुरी छैन । तर घाम, पानी बतास पनि भिन्नलाग्नु वास्तविकता हो वा मनको विकारको उपज हो- ठ्याक्कै यहिँ हो भन्न सकिएन । तर टोलमा यस्तै फरकपनहरुको टिकाटिप्पणी चलेको थियो । आखिर कुरा गरेरै दिन बिताउनु छ । उदाउँदै गरेको घाम देखेर वा डुब्दै गरेको घाम देखेर केही न केही तर्कनाहरुले कसै न कसैको दिमागमा कबड्डी खेलेकै हुन् । बन्दाबन्दीसँग जुध्न कोहीकोहीले फेसबुक, मेसेन्जर, ईमो, भाइवरमा कुरागरेर दिन धकलेका थिए भने कोही खेततिर, हँसिया कुटो कोदालोसँग लडेर दिन धकेल्दै थिए । जीवन यसरी धकेल्ने अवस्थापनि आउँदो रैछ । निस्चय नै जुगजुग पछि आएको हुँदको हो यस्तोदिन । नर्मदाका देवरले त भन्दै थिए, ‘वातावरण परिवर्तनको प्रभावले हो । मान्छेले प्रकृतीको पुकार सुनेन; आखिर सबैलाई घरमै थन्काइदियो प्रकृतीले । बिश्वलाई ठप्प पार्दिएर आफ्नो उपचार गरेको छ । प्रदुषण त आधा घटिसकेको हुनुपर्छ ।‘

के प्रकृतीले त्यस्तोपनि गर्छ र ? मान्छे नै मारेर उपचार गर्ने कति कठोर प्रकृती ! दिलदार आत्मिय ठानेको प्रकृती एकाएक कसरी सन्कायो ! एकछिन त तिरिमिरि झ्याँई भयो । तर अलिअलि जान्ने बुझ्नेले भनेको कुरो- पत्याउन नसकेपनि हैन भन्न सकिएन । पल्तिर आइते दाइलेभने अचम्म मानेर सोधे, ‘हैन कान्छा लाखैभन्दा बढी मान्छे मारेर कस्तो उप्चार गर्न खोजेको हो ! जाँठो हाम्ले के गरेथेम र ! यी नेताले छुट्टाउन नजानेझै सोझासाझा गरिबलाई प्रकृतीले पनि छुट्टाउन जानेन । रोगले भन्दापनि भोकभोकै मार्नी भयो ।‘  उनको कुरो सुनेर हाँसो छुट्यो । खेतमा गहुँ काट्ने खेतालाहरुलाई पनि आइतेको अन्जानपनि हाँस्ने खुराक बन्दियो । भनुँभने त्यसबेला वल्तिरपल्तिरका सवै खेतमा थिए । कसैले काटीसकेको गहुँ पाखा राखेर मकै छर्न गहुँका टुँडामा आगो लगाइदिंदै थिए । कोहीकोही मकैमा उकेरा लगाउँदै थिए । कतिले प्याजमा पानी हाल्दै थिए ।

‘पोहोर परार हर्लक्क हुने मकै के भ’का ? ति मकैलाई केले सकेको ! कति साह्रो झुसिलकिरा देखिए यसपाली !’ वातावरण परिवर्तनको यौटा प्रभाव यो पनि होला भनेर आईतेकी जहानले भनिन् ।

निस्चयनै अनुभव गर्न मिल्ने हिसावले परिवर्तनको साँक्षी भएका छौ हामी । भत्भती पोल्ने घाम, चिसो छ । बैशाखमा यसभन्दा पहिला सिरक ओडेझै कहिल्यै लागेन । यस्तैखाले तर्कना त्यहाँ हुँदैगर्दा नर्मदा छिमेककी गौरीसरपनि छोराछोरीका साथमा खेतमा आए । अचम्म कहिल्यै खेतमा नआउने केटाकेटी पनि आए । कोरोनाको हल्लापछि पढ्न छोडेका केटाकेटीलाई खेत देखाउन ल्याएका रैछन् । एकप्रकारले भुल्ने अनि केही सिक्ने अवसर पनि हुने सोँचेर होला ! उनले प्रकृतीको चिनारी भन्दै केटाकेटीलाई कुटिलकोशा चिनाए । कालीगेडी चिनाए । खेत माथिमाथि उड्ने चराहरु चिनाए । चिलले मुसाको सिकार गरेको सायद उनीहरुले पहिलोचोटि त्यतिबेलै देखे । पछि आँपको बगैचामा लगेर भर्खर मसिना बतिला लागेका आँप देखाए । लछप्पै लागेका आँपका बतिला देखेर केटाकेटीले खासै कौतुहलता प्रकट गरेनन् । तर जब प्रकृतीको नियम उनले वताएदिए- आँपको फूलफल उपर र आँपको क्षमता उपर- जति फूल फूल्छ त्यतिमा फल लाग्दैन । र सबैमा फल लागेपनि सबैफल अन्तिमसम्म यानि पाकुन्जेल् सम्म रहँदैनन् ।

उनको कुरा सुनेर केटाकेटीहरु विस्मित भए,

‘किन ? ‘काँ जान्चन त ति बतिला ?’

‘केही ती झर्छन् । किनकी जति फूलेको हो, जति बतिला लागेको हो, त्यति फले आँपको बोटले धान्नै सक्दैन । वा ति मसिना हाँगाले धान्दैनन् । त्यसैले प्रकृतिले छाँट्छ । ती झर्छन् । विभिन्न तरिकाले ति वतिला झर्छन्; हुरीबतासले, रोगले । आखिरमा बोटमा चाहिने मात्रै रहन्छ ।‘

‘के हिसावै गरेर झार्छ त ?’

‘हो हिसाव नै गरेर झार्छ । नचाहिनेका त हाँगै, बुटैपनि ढलाइदिन्छ । जब जेपनि बढ्ता हुन्छ- त्यसको बिनास निस्चितै छ ।‘ उनले केटाकेटीलाई बताउँदै गर्दा नर्मदाका पनि परिवारै बगैचामा आए । मनमायाका घरका मान्छेपनि आए । लौ ! बगैंचामा त मेलै जस्तो पो देखियो । धेरैजना एकैठाम हुनलागेको देखेर गौरीसरले भनें, ‘तीन-तीन फुट पर रहौं है । मास्क नलगाएकाले पनि लगाम् है ।‘ सबै अलग अलग रहेपछि त्यहाँ कक्षा नै चालुभयो । बुढाबुढी, वयस्क, केटाकेटी सम्मिलित कक्षा । त्यसकक्षामा सबैले जानेका-भोगेका बिगतका आफ्ना अनुभव सुनाउने । वा प्रकृतीका बिलक्षण कुराहरु आपसमा साटासाट गर्ने । केटाकेटीहरुले पनि ठूलाबडाको अनुभवबाट केके सिके सो कुरा पालैपालो बताउने । घरमा बसेर दिक्क भएकाहरुलाई गज्जब पो भयो । भनौंभने मानसिक विचलन हुनबाट बच्ने उपाय जस्तो देखियो । भुल्ने, सिक्ने; सबै मेसो जुर्यो । त्यहाँ भोलिदेखि अन्य विभिन्न क्रियाकलाप गराउने कुरापनि भयो । पालैपालो दुईतीनजना जान्नेबुझ्ने गाउँका केटाकेटीसँग रहेर, कथा, कविता, नाच, पेन्टिङ, हरहिसाव सिकाउने । सुविस्ता भए भिडियो कक्षा संचालन गर्ने । सँगसँग आइडिया फूर्दैगए- वयस्कहरुले बाँजो खेतमा पालैपालो खटिएर कामगर्ने । अब बन्दाबन्दीको टुंगो नभएपछि, अन्यकाम नभएपछि गर्जोटार्न केही त गर्नुनै पर्थ्यो । आफ्नै गाउँका खेतहरुमा तरकारी लगाउने, छिमेकीकोमा गोडमेल गर्ने, एकअर्काकोमा गएर हात बटाउँने, भएको बाँडिचुँडी खाने । अनि तत्कालै कुनै छिमेकीलाई खानको समस्याभए घरघरबाट गास कटाएर भएपनि सहयोग गर्ने । त्यतिबेलै अत्यान्त राम्रो सल्लाहपनि भयो- बाटोघाटोमा टाढाटाढाबाट हिंडिआएकालाई वडाको समन्वयमा खाना खुवाउने र उनीहरुको गन्तब्य सम्म पुग्न सहयोग गर्ने । त्यसपछि अरुपनि धेरैराम्रा सल्लाहहरु भए- गाउँघरमा भइरहेको उत्पादनलाई पालिकाले खरिद गर्दिएर सोही उत्पादन बाड्नुपर्ने राहातमा सम्मिलित गर्ने । जेहोस् जतिवेलापनि गाउँमा अर्काको कुरा काट्ने गाउँलेहरुले त्यसपालि अचम्मको निर्णय गरे । एकछिन त आईतेलाई सपना जस्तै लाग्यो रे ! जेहोस् सल्लाह राम्रै भएको हो । धेरै बेमेल गाउँलेलाई कोरोनाले एकैठाउँमा ल्याइदिएको थियो । पछि भन्दै थिए गौरीसरले- ‘ठूला ब्याधी, संकट, महामारी उहिले देखि आएको हो । मान्छेलाई अत्याएको हो । तर मान्छेले हरेश नखाएर लडेरहेकोले हामी आजसम्म छौ । संकटका बेला मिलेर लड्नुपर्छ । मिलेर बस्नुपर्छ । हरेश खान हुन्न । यदि हाम्रा पुर्खाहरुले हरेश मानेकोभए हामी उहिल्यै निखिन्थ्यौं । केहीदिन दुःखपछि त जीत निस्चितै छ नि !‘

                                                               ***  छवि ढकाल

                                                               9847256814

                                                   [email protected]

Leave A Reply

Your email address will not be published.