Jilla Ban Notis

रुकुम पश्चिम घट्नाको विरोधमा परासी र सुनवलमा कोणसभा, सिडिओलाई ज्ञापनपत्र

0 37

परासी, १५ जेठ
यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनाको विरोधमा परासीमा कोणसभा गरिनुको साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ । जिल्लाका दलित अगुवाहरुले परासीको बुद्धचोकमा आयोजित कोणसभा र प्रजिअलाई बुझाएको ज्ञापनपत्र मार्फत उक्त घटनाको निन्दा गरेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न नेपाल दलित मुक्ति संगठन पश्चिम नवलपरासी र नेपाल दलित संघ पश्चिम नवलरासीले जोडदार माग गरेका हुन् । संविधानसभा सदस्य दुलारी हरिजनले कोणसभालाई सम्बोधन गर्दै पाँच जना होनहार युवाको मृत्यु भएको र एक जनाको स्थिति अझै अज्ञात रहेको उक्त घटनामा कतिपयलाई कुटपिटसमेत गरिएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कडा कारवाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले जातीय छुवाछुत र भेदभाव अन्त्य गर्न माग गर्नुभयो ।
दण्डहीनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरू वृद्धि भइरहेको भन्दै नेपाल दलित मुक्ति संगठनका नेता विर बहादुर विकले रुकुम पश्चिममा भएको दुर्दान्त घटनाका दोषीहरूमथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने बताउनुभयो । दलित अगुवा एव सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनारले उक्त घटनाका दोषिलाई कारवाही नगरीए आन्दोलन देशव्यापी चर्काउने चेतावनी दिनुभयो । रुकुम पश्चिम घटनाका सन्दर्भमा यथासक्य अनुसन्धान प्रक्रिया अघि बढाई पीडितको सुरक्षा र न्याय तथा दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न नेपाल दलित संघका जिल्ला अध्यक्ष मोहन विकले माग गर्नुभयो । उहाँले यस घटनाको भत्र्सना गर्दै जातीय छुवाछुत विरुद्ध सवै दलित समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो । संयुक्त दलित अधिकार मञ्चका अध्यक्ष गणेश विश्वकर्माले उक्त घटनाको निन्दा गर्दै आगामी दिनमा समाजमा यस्ता घटना दोहोरिन नदिन निर्मम तरिकाले कानूनको कार्यान्वयन गराई नेपालको संविधान र मानवअधिकारको पुर्ण ग्यारेण्टी गर्न माग गर्नुभयो । उक्त अवसरमा सुनवल–५ का वडाध्यक्ष थमनसिंह नेपाली, बर्दघाटका वडाध्यक्ष मोतिलाल सुनार, रामग्रामका वडा सदस्य तारा नेपाली लगायत दलित अगुवाहरुको सहभागिता रहेको थियो । जाजरकोट भेरीगङ्गा नगरपालिका वडा नं. ४ रानागाउँका महनलाल विश्वकर्माका छोरा वर्ष २१ का नवराज विश्वकर्मा र पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा नं. ८ का वीरबहादुर मल्लकी छोरी वर्ष २० कि सुष्मा मल्लबीच भएको अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर चौरजहारी नगरपालिका ८ सोतीमा हत्या, बेपत्ता र कुटपिट काण्ड भएको थियो ।
यता सुनवल चौराहमा पनि विरोध प्रर्दशन गरी कोणसभा गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.