Jilla Ban Notis

परासी आएर जीवन शर्माको सन्देश ः मधेसी पहाडि हामी सवै नेपाली ।

0 51

मोहन पौडेल

परासी, १० मंसिर

जनताको सुखदुःखका गीत गाउने गायकका रुपमा परिचित ख्याति प्राप्त जनगायक जीवन शर्माले मधेसी पहाडि सवै नेपाली भएको सन्देश दिनुभएको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जारी नवलपरासी औद्योगिक व्यापार मेलामा आज आफ्ना सांगीतिक प्रस्तुति मार्फत गायक शर्माले मधेसी पहाडि हामी सवै नेपाली भन्दै कोही पनि पराई नभएको बताउनुभयो ।

उहाँले नेपाली भूमि भारतले मिचेकोमा सवै नेपाली एकजुट भएर भूमि फिर्ताका लागि लड्नुपर्ने सन्देश दिदैँ लिपुलक र कालापानीबाट भारतीय सेना हटाउनुपर्ने माग पनि गर्नुभयो । गायक शर्माले सिमली छायाँमा लगायतका आफ्ना चर्चित गीतहरु मार्फत परासीवासीलाई भरपुर मनोरञ्जन पनि प्रदान गर्नुभयो । यसैगरी नेपाल र भारतमा ख्याति प्राप्त भोजपुरी गायक अल्बेला अशोकले पनि आज धमाकेदार प्रस्तुति गर्नुभयो ।

उहाँका गीतहरुमा दर्शकहरु झुमेका थिए । मेलामा आजै लोक तथा दोहोरी गायक भरत क्षेत्री र भुपराज न्यौपाने तथा लोक गायिका एवं मोडल रितु तामाङ्, भोजपुरी गायक प्रमोद जख्नीले पनि आ–आफ्ना प्रस्तुति मार्फत दर्शकको ध्यान खिचेका थिए । मेलामा भोली चर्चित गायक हेमन्त शर्मा, विश्व नेपाली, भरत क्षेत्री, पुर्खे बा, राजा भोजपुरिया, रमेश श्रेष्ठ लगायतको बेजोड प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक तारा आचार्यले जानकारी दिनुभयो ।

मंसिर ३ गतेदेखि जारी मेलामा दिनप्रतिदिन दर्शकहरुको संख्या उत्साजनक रुपमा बढ्दै गएको मेलाका प्रवक्ता गिरीराज पाण्डेले बताउनुभयो । मंसिर १५ गतेसम्म सञ्चालन हुने मेलामा एक सय पचास बढी स्टल रहेका छन् ।

मेलामा पर्यटन प्रवद्र्धन, घरेलु उत्पादन, कृषि प्रवद्र्धन गरिनुका साथै कृषकका लागि माटो परिक्षण, स्वास्थ्य शिविर पनि राखिएको छ । नवलपरासी उद्योग वाणिज्य संघको आयोजना तथा रामग्राम नगरपालिकाको संरक्षकत्वमा सञ्चालन भईरहेको मेलामा आज पनि दर्शकहरुको उत्साहपूर्वक सहभागिता भएको संघका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.