Jilla Ban Notis

नवलपरासीका एम्बुलेन्स चालकहरुका लागि पठाएको पीपीई सीडीओले दिएनन् ।

0 17

हरि शर्मा
परासी, भदौ –१३

नवलपरासीका एम्बुलेन्स चालकहरुका लागि पठाएको पीपीई सीडीओले नदिएको गुनासो चालकहरुले गरेका छन् । संयुक्त एम्बुलेन्स चालक संघको आग्रहमा प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशका १२ वटै जिल्लामा रहेका एम्बुलेन्स चालकहरुलाई पीपीई सेट र गम्बुटलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो । मन्त्रालयले सबै जिल्लाका चालकहरुका लागि पीपीई पठाएको जनाएपनि चालकहरुले भने नपाएको गुनासो गरेका हुन् । लकडाउन सुरु भएपछिको बैशाखको पहिलो सातामा प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत् चालकहरुका लागि उक्त सामाग्री पठाइएको मन्त्रालयले जनाएको छ । ‘मुख्यमन्त्रीज्यूको कार्यकक्षमा बैठक बसेर सबै जिल्लामा पीपीई पठाउने निर्णय भएअनुसार नवलपरासी जिल्ला प्रशासनमा पनि सोही समयमा पठाइ सकिएको हो । कसरी चालकहरुले पाएनन् उतै बुझ्नु पर्ला । ’ मन्त्रालयका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाईले बताउनुभयो।
संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय महासचिव मुक्ति काफ्लेले मन्त्रालयमा भएको बैठकमा हरेक जिल्लामा २० वटा पीपीई पठाउने निर्णय भएपनि जिल्लाका चालकहरुले भने ८ देखि १० भन्दा बढी नपाएको बताउनुभयो। हरेक जिल्ला प्रशासन कार्यालयमा कम्तीमा १५ वटा पीपीई नघट्ने गरी पठाइएको निर्देशक चापागाईले बताउनुभयो। ‘ पठाउन १५ वटा भन्दा कम पठाइएको छैन तर जिल्लाले अरु कसैलाई दिएर घटेको हुन सक्ला । ’ चापागाईले भन्नुभयो ।
प्रशासनमा पठाइएको पीपीई माग्न जाँदा तत्कालीन सीडीओले आलटाल गरेर नदिएको संयुक्त एम्बुलेन्स चालक संघ नवलपरासीका जिल्ला अध्यक्ष कृष्ण सहानीले बताउनुभयो। पीपीई पठाउँदा तत्कालीन सीडीओ बासुदेव दाहाल थिए । ‘ तत्कालीन सीडीओ साहेब दाहालहसँग मन्त्रालयलेले पठाएको पीपीई पटक पटक माग्न गयौं । २(४ दिनमा दिन्छु भन्दै आलटाल गर्दै दिनु भएन । त्यसपछि माग्नै छाड्यौं । ’ सहानीले भन्नुभयो। सुनवल नगरपालिकाले स्थानीय स्तरमा उत्पादन गरेका केही सेट पीपीई बाहेक सरकारबाट अहिलेसम्म सामान्य मास्क र पञ्जा समेत नपाएको अवस्थामा मन्त्रालयले पठाएको पीपीई समेत पाउन नसकिएको सहानीले गुनासो गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले आफू सरुवा भई आउनु भन्दा पहिलाको कुरा भएको बताए ।‘म आउनु भन्दा पहिलेको कुरा रहेछ । कार्यालयमा बुझ्दा उक्त पीपीई आएको भन्ने कतै पाइएन । कस्ले बुझ्यो रु खोजी गरौला ।’ पाठकले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.