Jilla Ban Notis

देशको आर्थिक समृद्धिमा प्राकृतिक सम्पदाको महत्वपूर्ण भूमिका छ : सांसद विश्वकर्मा

0 39

उमेश बि.क

रुपन्देही ,२४ माघ

देशको आर्थिक समृद्धिमा प्राकृतिक सम्पदाहरुको महत्वपूर्ण भूमिका रहेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनुभयो । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित नरैनापुरमा शुक्रबारदेखि दोस्रो ओमसतिया कला, संस्कृति, खेलकुद, उद्योग, व्यापार तथा कृषि प्रबर्द्धन महोत्सव–२०७६ को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य तथा पूर्व कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माले नेपाली जनता र देशको सर्वाङ्गीण विकास गर्न प्राकृतिक सम्पदाहरुको महत्वपूर्ण योगदान रहेको जिकिर गर्नुभयो । उहाँले स्थानीय क्षेत्रमा औद्योगिक चेतना बढाउने, कृषिको आधुनिकीकरण, व्यवसायीकरण एवं कृषिक्रान्ति तथा पर्यटनको प्रबर्द्धन तथा विकास गर्न, साथै कला, संस्कृति, खेलकुद, स्थानीय उत्पादनको प्रबर्द्धन गर्दै नेपाली मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सके देशमा विदेशी पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

     “विभिन्न समस्याहरुका बाबजुद पनि ग्रामीण क्षेत्रमा महोत्सव गर्नु ठूलो चर्चाको विषय हो” उहाँले बताउनुभयो । उहाँले ओमसतियामा रहेका सतियामाई मन्दिर, रामजानकी मन्दिर, रोहिणी नदी, महाव खोला लगायत विभिन्न प्राकृतीक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यस्तै ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले ओमसतियाको पहिचानको चिनारी गराउन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिका भित्र आधुनिक तथा व्यवसायिक कृषि र पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद डा. कृष्ण न्यौपाने, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका जिल्ला सचिव निर्मल जिसी, राष्ट्रिय जनता पार्टी नेपाल रुपन्देहीका वरिष्ठ उपाध्यक्ष महेन्द्र गुप्ता, उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश खाती, रोहिणी गाउँपालिकाका प्रवक्ता सरोज पाण्डे लगायतले बोल्दै यस महोत्सवले ओमसतियाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । ओमसतिया गाउँपालिकाका प्रवक्ता तथा महोत्सव मूल आयोजक समितिका संयोजक शिव कुमार धवलले सबै मिलेर महोत्सव सफल बनाउनुपर्ने अाग्रह गर्नुभयो । उहाँले यस महोत्सवलाई सफल पार्न सबैको साथको खाँचो रहेको बताउनुभयो । “गत साल ओमसतिया महोत्सवको सिकाइको क्रममा विभिन्न कमीकमजोरीहरु रहेको थियो, तर गत वर्षको तुलनामा यस वर्ष महोत्सव अझ व्यवस्थित रुपमा सञ्चालन गरिएको छ” संयोजक धवलले दाबी गर्नुभयो ।

     श्री रामजानकी मन्दिर रंगशाला, सभाहल व्यवस्थापन समितिको आयोजना तथा ओमसतिया गाउँपालिका र उद्योग व्यापार संघ, देवदहको सह–आयोजनामा फागुन ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब २ लाख ८० हजार दर्शकको उपस्थिति हुने र ३ करोड बराबरको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन् । महोत्सवमा स्थानीय कलाकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरु विराट भट्ट, सौगात मल्ल, भोजुपुरी सुपरस्टार दिनेशलाल यादव (निरहुवा), आम्रपालीको टिम, वद्री पंगेनी, प्रकाश सपूत, ज्योति मगर, चर्चित थारू कलाकार अन्नु चौधरी, श्रीनिवाश चौधरी, सरगम चौधरी लगायतको विशेष प्रस्तुती रहने महोत्सवका सांस्कृतिक कार्यक्रमका संयोजक प्रशान्त गैर्हेले बताउनुभयो । साथै महोत्सवमा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका पहलवानहरुबीच कुस्ती मुकाबला, मार्सल आर्ट, ओमसतिया डान्सिङ तथा सिङ्गिङ आइडल, झुमडा प्रतियोगिता समेत हुने महोत्सव प्रचार प्रसार समितिका संयोजक पशुपति यादवले बताउनुभयो । ओमसतिया गाउँ कार्यपालिका सदस्य एवं महोत्सव मूल आयोजक समितिका सदस्य चुमकला बस्यालको स्वागत तथा महोत्सव मुल आयोजक समितिका सदस्य सचिव अजय कुमार गुप्ताले सञ्चालन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.