Jilla Ban Notis

तिलोत्तमामा सखिया थारु होमस्टे सञ्चालन ।

0 17

वि.पि. गौतम

तिलोत्तमा, पुस ५

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ सेमरीमा थारु होमस्टे सञ्चालनमा आएको छ । यो होमस्टे रुपन्देहीकैं पहिलो रहेको जनाइएको छ । तिलोत्तमा नगरपालिकाको प्रवद्र्धनमा सेमरीमा सखिया थारु सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । सेमरी गाउँ तिनाउ नदीको किनारमा अवस्थित छ । होमस्टेको शुक्रबार साँझ आयोजित एक कार्यक्रमका बीच तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । त्यसअवसरमा थारु सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।थारु समुदायको कला र संस्कृति संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले होमस्टे सञ्चालनलाई नगरपालिकाले प्रवद्र्धन गरेको नगर प्रमुख घिमिरेले बताउनुभयो । तत्काल सात घरमा आवासको व्यवस्थासहित होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष हरिनारायण चौधरीले जानकारी दिनुभयो । आगामी दिनमा अन्य सात घरमा पनि होमस्टेको पूर्वाधार तयार गरिने उहाँले बताउनुभयो ।होमस्टेमा हाल सात घरका १४ कोठामा २८ बेडको व्यवस्थापन गरिएको छ । नगरपालिकाले उपलब्ध गराएको बजेटबाट सांस्कृतिक कार्यक्रम प्रदर्शनका लागि सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिनुभयो । थारु समुदायको बाहुल्यता रहेको सेमरी तिलोत्तमाकैं पुरानो मध्येको बस्ती हो । पञ्चायतकालमा अहिलेका कतिपय शीर्ष नेताहरुले समेत यहाँ सेल्टर लिएको यहाँका पुराना पाकापुस्ता बताउँछन् ।तिलोत्तमा नगर उप–प्रमुख जागेश्वरी चौधरीले थारु समुदायको कला र संस्कृति संरक्षणमा होमस्टे फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले होमस्टेको पूर्वाधार विकासमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तिलोत्तमा नगरपालिकाले थारु समुदायको कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि राखेको प्रस्तावअनुसार स्थानीयले होमस्टे सञ्चालनको काम अघि बढाएका थिए ।नवलपरासीको डण्डामा रहेको अमलटारी होमस्टेको शैलीमा यहाँका बासिन्दाले होमस्टे सञ्चालन गरेका हुन् । सेमरीका बासिन्दाहरु अमलटारी होमस्टे सञ्चालनको तौरतरिका सिक्न त्यहाँ पुगेका थिए भने उनीहरुलाई आवश्यक सीपका लागि तालिम समेत प्रदान गरिएको थियो । सेमरी होमस्टे नजिकै पाँच तारे रिसोर्ट, बाउन्नकोटी पार्क, गाई फर्मलगायत छन् ।

Leave A Reply

Your email address will not be published.