Jilla Ban Notis

कोरोना संक्रमित सभासद्द्धारा सुविधायुक्त आइसोलेसन निर्माण गर्न माग

0 21

हरि शर्मा
परासी, १५ बैशाख
पश्चिम नवलपरासीबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले जिल्लामा तत्काल अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन निर्माण गर्न सरकारसँग माग गरेका छन् । जिल्लामा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको जनाउँदै सभासद् जयसवालले जिल्लामा भेन्टिलटेरसहितको आइसोलेसन निर्माण गर्न तिनै तहका सरकारसँग माग गरेका हुन् ।
आफै कोरोना संक्रमित भई काठमाण्डौंको अस्पतालमा १० दिनदेखि उपचारमा गराई रहेका सभासद् जयसवालले अस्पतालबाटै प्रेस विज्ञप्ती निकालेर बेड अभावमा उपचार हुन नसक्दा जिल्लामा एक युवाले ज्यान गुमाएको स्मरण गराउँदै त्यस्तो परिस्थिति सृजना हुन नदिन समयमै आइसोलेसन निर्माणमा ढिलाई गर्न नहुने जनाएका हुन् । जिल्लामा बुधबारसम्म कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश सरकारले गतवर्ष नै जिल्ला स्तरीय कोरोना आइसोलेसन बनाउने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन नहुनु सरकारको लाचारीपन भएको विज्ञप्तीमा आरोप लगाइएको छ ।
उनले निकालेको प्रेस विज्ञप्तीमा जिल्ला सदरमुकामस्थित पृथ्वीचन्द जिल्ला अस्पतालमा प्राविधिक जनशक्तिसहितको पीसीआर मेशिन जडान गरि सोही अस्पतालमा भेन्टिलेरसहितको उपचार सेवा सुरु गर्नुपर्ने, अस्पतालहरुमा प्रयाप्त अक्सिजनको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । त्यसैगरी संक्रमितहरुलाई ओसारपसार गर्न कम्तीमा ४ वटा एम्बुलेन्सहरु सरकारी स्तरबाट सञ्चालन गर्नु पर्ने उल्लेख छ । जिल्लामा अहिलेसम्म संक्रमितहरुको शव व्यवस्थापनका लागि स्थान छनौट नहुँदा शवलाई रातारात र लुकिछिपी व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको जनाउँदै तत्काल शव व्यवस्थापनका लागि स्थान छनौट गर्न पनि विज्ञप्तीमा माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.