Jilla Ban Notis

तानसेनमा आयो कालीगण्डकीको पानी

0 12

रेखीराम राना

पाल्पा, चैत
तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ ।
छवटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाइमा रहेको रिजर्ब ट्याङ्कीमा पानी ल्याउने काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीले जनाएको छ । दुई वर्षअघि नै सक्नुपर्ने खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएको कार्यालय प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
पहिलो चरणमा गर्नुपर्ने कालीगण्डकीदेखि तानसेनको खानेपानी रिजर्ब ट्याङ्कीसम्म पानी ल्याउनुपर्ने काम सकिएको उहाँले बताउनुभयो । पहिलो चरणमा छवटा पम्पस्टेसन, पाँचवटा ट्याङ्की निर्माण, पम्प हाउस र करुवा घर निर्माणको काम सकिएको छ । यस्तै पाइप विस्तार, विद्युत् विस्तार, मूल ट्याङ्की बनाउने काम समेत सकिएको छ । पाँच वर्षअघि पहिलो चरणको काम गर्न ठेकेदार कम्पनीसँग २५ करोड ३९ लाखमा सम्झौता भएको थियो ।
पहिलो चरणको काम सकिएर पानी पिउन योग्य छ÷छैन भनेर प्रयोगशालामा जाँच गर्ने काम भइरहेको छ । “कालीगण्डकीको पानी तानसेनको बतासेडाँडामा रहेको रिजर्ब ट्याङ्कीमा आएको छ”, साइट इन्चार्ज उत्सव पोखरेलले भन्नुभयो ।
अब पानीको जाँच गरेपछि पिउन योग्य पानी भएको खण्डमा उपभोक्तालाई वितरण प्रक्रिया सुरु हुन्छ, उहाँले जानकारी दिनुभयो ।
कालीगण्डकीदेखि तानसेनस्थित ट्याङ्कीमा प्रतिसेकेन्ड ३६ लिटर पानी आउनुपर्ने स्टिमेट डिजाइन गरिएको थियो । पहिलो चरणमा बनेको इनारबाट २० वर्षपछि प्रतिसेकेन्ड ३६ लिटर पानी नआउने भएपछि दोस्रो चरणमा थप एउटा इनार र प्रशोधन केन्द्र निर्माण गर्न थालिएको छ । दोस्रो चरणमा इनार र प्रशोधन केन्द्र निर्माण गर्न छ करोड सात लाखमा ठेक्का सम्झौता भएको र आगामी वर्ष दोस्रो चरणको काम सकिने पोखरेलले बताउनुभयो ।
आयोजनामा सङ्घीय सरकारको ९० प्रतिशत र तानसेनका उपभोक्ताको १० प्रतिशत लगानी छ । तानसेनको ५० हजार जनसङ्ख्यालाई दैनिक ३५ लाख लिटर खानेपानीको आवश्यकता परिपूर्ति गर्न कालीगण्डकीबाट लिफ्टिङ गरेर तानसेनमा पानी ल्याउने योजना अगाडि बढाइएको हो ।
अहिले तानसेनमा खानेपानीको अभावका कारण सातामा एक दिन मात्र उपभोक्ताका घरका धारामा पानी आउने गरेको छ । सरकारले तानसेनलाई सुक्खा क्षेत्र घोषणा गरेर बजेट तथा योजना छनोट गरेको थियो ।
तानसेन उपभोक्ता समितिले उपभोक्ताको तर्फबाट आफूहरूले गर्नुपर्ने काम सकिएको र निर्माण पक्षले काम छिटो सके पानी वितरणको काम हुने जनाएको छ । उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले तानसेनमा कालीगण्डकीको पानी सफल रूपमा पम्पिङ भएको र अब परीक्षणको नतिजा आएपछि पानी वितरणको काम सुरु गरिने बताउनुभयो । गोरखापत्र अनलाइन

Leave A Reply

Your email address will not be published.