Bardaghat Na pa

आजदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने

41

काठमाडौँ, माघ १३

अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी मङ्गलबारदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले तयार गरेको उक्त प्रणाली मङ्लबार सार्वजनिक हुन लागेको हो ।
डेढ वर्षअघिदेखि भन्सार विभागले निर्माण गरिरहेको उक्त प्रणाली पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो । विभागका अनुसार यो प्रणालीमा पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्र आबद्ध हुनेछन् ।
भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका ४० वटा निकाय आबद्ध हुनेछन् । यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन् । यससँगै फरक फरक निकायलाई कागजात बुझाउनु पर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ ।
आफूलाई प्राप्त युजरनेम र पासवर्डका आधारमा व्यापारसँग सम्बन्धित सबै कागजातको विवरण व्यापारीले त्यहीँ उपलब्ध गराउन सक्छन् । कर्मचारीको अनुहार नै नहेरी (फेसलेस) काम हुने वातावरण यसले बनाउँछ । सन् २०१३ मा यस्तो प्रणाली लागू गर्न विश्व बैङ्क र नेपाल सरकारबीच सम्झौता भए पनि विगत केही महिनायता मात्र यसको कार्यान्वयनका लागि तयारीका काम अगाडि बढेको हो ।

 

भन्सार प्रक्रियामा ‘छलाङ’सुमन दाहाल
महानिर्देशक, भन्सार विभाग

भन्सार प्रणालीसँग अहिले ४० वटा विभिन्न निकाय जोडिन्छन् । ती सबै निकायका स्वीकृति दिने, अनुमतिपत्र जारी गर्ने लगायत प्रकृति पनि बेग्लै छ । यस्ता निकायबाट सेवा लिँदा कागजात बोकेर धाउनुपर्ने अवस्था छ ।
भन्सार प्रक्रियालाई सरलीकरण गर्न आसिकुडा लागू भए पनि यी सबै निकायमा छुट्टाछुट्टै जानुपर्ने अवस्था कायमै छ । कागज बोकेर यी सबै निकायमा पुग्नुपर्ने बाध्यतालाई हटाएर डिजिटल प्रणालीबाटै सबै काम सम्पन्न गर्नेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू गर्न लागिएको हो ।
विश्व बैङ्कको सहायतामा निर्माण भएको यो प्रणालीले व्यापारमा हुने खर्च घटाउँछ । त्यस्तै व्यापार प्रक्रियाको समय घटाएर सेवाग्राहीलाई सहजीकरण गरिदिन्छ । एक प्रकारले यो भन्सार प्रक्रियामा ‘छलाङ’ हो । मङ्गलबारदेखि तीनवटा निकायमा यो सेवा सुरु हुनेछ । त्यसपछि यो आर्थिक वर्षभर सबै ४० वटा निकायमा कार्यान्वयनमा ल्याउँछौँ ।  @ गोरखापत्र अनलाइन