सरसफाईंको ईतिहासमा तिलोत्तमा नगरपालिकाले गर्यो नयाँ कामको सुरुवात् ः मन्त्री भुसाल ।
तिलोत्तमा नगरपालिका पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगर घोषणा ।
तिलोत्तमा, फागुन ३०
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्यपोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गर्नुभएको हो । जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला पोलिथिन शुन्य अवस्था र पूर्णसरसफाईका सूचकहरु पूरा गरेसँगै तिलोत्तमालाई खुला पोलिथिन शुन्य र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र घोषणा कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेलाई प्रदान गरिएको हो । यसअघि समितिका पदाधिकारी एवं विज्ञ सहभागी टिमले तिलोत्तमाको अनुगमन गरेको थियो । नगरपालिकाले बनाएको कार्यविधिमा खुला रुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शुन्य पोलिथिन भनिने उल्लेख छ ।
नगरबासीको घर–आँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जंगल, सडक–बाटो, सार्वजनिक स्थलबाट सात महिनाको अवधिमा झण्डै ८० हजार बोरा पोलिथनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि नगरलाई शुन्य पोलिथिन घोषणा गरिएको हो । १२६ वर्ग किलोमिटरमा फैलिएको तिलोत्तमाका नगरबासीले अब उप्रान्त फोहोर जथाभावी नफाल्ने, फालेमा कारवाही भोग्न तयार रहने कसम खाएका छन् । कार्यक्रममा मन्त्री भुसालले नेपालमा तिलोत्तमाबाट सरसफाईंको ईतिहासमा नयाँ कामको सुरुवात् भएको बताउँदै शुन्य पोलिथिन अभियान नागरिकको दायित्वबोधसँग जोडिएको बताउनुभयो । शुन्य पोलिथिनलाई फोहोरमाथि धर्तीको विजयीको संज्ञा गर्दै मन्त्री भुसालले यो अभियान कसैले न कसैले सुरु गर्नुपर्नेमा त्यो तिलोत्तमाबाट सुरु हुनु तिलोत्तमाबासीका लागि सुखद् रहेको बताउनुभयो । तिलोत्तमाका हरेक निर्णय नगरबासीको जीवनशैलीसँग जोडिन थालेको बताउँदै उहाँले सरसफाईंमा तिलोत्तमाबाट नयाँ राष्ट्रिय अभियान प्रारम्भ भएको उल्लेख गर्नुभयो ।