sunwal

बर्दघाट नगरका चारवटा वडा संयुक्तरुपमा बालमैत्रि वडा घोषणा

607

कृष्ण ढकाल
बर्दघाट,असार–२४
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले वडा नं १,६,७ र १४ लाई एक कार्यक्रमका विच बालमैत्रि स्थानीय शासन युक्तवडा घोषणा गरेको छ । नगरका चार वटा वडालाई जिल्ला समन्वय समितिका संयोजक भगौती यादवले संयुक्त रुपमा आज बालमैत्रिवडा घोषणा गर्नु भएको हो ।

यसअघि बर्दघाट नगरका वडा नं ५, ८ र ९ लाई बालमैत्रिवडा घोषणा गरिसकेको छ । बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका– २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यबिधि –२०७९ अनुसार आवश्यक ५१ वटा सूचकहरू पूरा गर्दै बर्दघाट नगरपालिकाले क्रमशः वडाहरूलाई बालमैत्री घोषणा गरीरहेको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्दिप सापकोटा, वडा नम्बर ६ का वडा अध्यक्ष रोहित थारू, वडा नम्बर ७ का वडा अध्यक्ष ध्रुव थारू र वडा नम्बर १४ का वडा अध्यक्ष सन्तु गाहाले आ–आफ्नो वडाको बालमैत्री वडा घोषणको प्रतिवेदन प्रस्तुत गर्नुभएको घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले बालमैत्री घोषणा हुनुमात्रै ठुलो कुरा नभई यसको दिगोपना सबैभन्दा महत्वपूर्ण हुने बताउनु भयो । वडा र नगरपालिकाको प्रयासले मात्र नहुने भएकोले अभिभावक, सङ्घ संस्था र सरोकारवाला सबैको सहकार्य हुन आवश्यक रहेको यादवको भनाई रहेको थियो ।

त्यसैगरी बर्दघाट नगरका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बालमैत्री घोषणाका ५१ वटा सूचक पार गरेर मात्रवडाहरू बालमैत्री घोषणा हुन सफल भएको बताउनु भएको थियो । बर्दघाट नगरपालिकाले २०७६ साल देखी सुरु गरेको बालमैत्री अभियानमा अहिले सम्म ७ वटा वडा बालमैत्रि स्थानीय शासन युक्तवडा घोषणा गरीएको र अब ९ वटा वडा बाँकी रहेको नगरप्रमुख श्रेष्ठ जानकारी गराउनु भएको थियो ।

घोषणा कार्यक्रममा बर्दघाट नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय,प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल,सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।बालमैत्री वडा घोषणा गर्नका लागि बालबालिकाका ४ वटा मुख्य अधिकार क्षेत्रमा कामगर्नु पर्ने हुन्छ।


बाल बचाउका १४ वटा सूचक अन्र्तगत रहेका संस्थागत सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्य जाँच, पूर्ण खोप, कुपोषण शून्य गराउने, र बाल मृत्युदर घटाउने काममा परिणाम मुखि काम गर्ने हुन्छ भने बाल संरक्षण का १० वटा सूचकमा बालविवाह पूर्ण रूपमा रोक्ने, बालश्रम र बाल हिंसा उन्मूलन गर्ने जन्मदर्ता शतप्रतिशत गर्ने र सडक बालबालिका शून्य बनाउनेकाम पुरा गर्नु पर्ने हुन्छ ।
त्यसैगरी बाल विकासका ६ वटा सूचक मा ३ देखि ४ वर्षका बालबालिका बालविकास केन्द्रमा भर्ना, कक्षा १–८ सम्मको आधारभूत शिक्षामा शतप्रतिशत टिकाउ दर र विद्यालयमा छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था रहनु पर्ने हुन्छ ।
अर्को बाल सहभागिता मा ६ वटा सूचक मध्ये वडाका हरेक योजना तर्जुमा प्रक्रिया र नीति निर्माणमा बालबालिकाको अर्थपूर्ण सहभागिता, र टोल र वडा स्तरमा बाल क्लबहरूको गठन तथा सक्रियता रहनुपर्ने हुन्छ ।