sunwal

बुटवल–नारायणघाट सडक खण्ड: दबेको राजमार्गमा दुर्घटनाको जोखिम

417
लोकहरि पाण्डेय
बर्दघाट, असार २३
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक विस्तार योजना अन्तिम चरणमा पुग्दा स्थानीय स्तरमा भने यसको गुणस्तरलाई लिएर गम्भीर प्रश्न खडा भएको छ। बर्दघाट बजार क्षेत्रमा बाटो निर्माण सम्पन्न हुने चरणमा पुगेर लेन मार्किङ समेत भइसकेको छ। तर, प्राविधिक त्रुटि र कमजोर निर्माणका कारण ठाउँ–ठाउँमा बाटो दबेर सवारी साधनहरू ‘जम्पिङ’ हुने समस्या देखिएको छ, जसले गर्दा सडक सुरक्षित हुनुको साटो झन् जोखिमपूर्ण बन्न पुगेको छ।
एसियाली विकास बैंक (ADB) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोग र नेपाल सरकारको १५ प्रतिशत लगानीमा निर्माणाधीन यस आयोजनाको कुल लागत रु. १६ अर्ब ९९ करोड ५२ लाख रहेको छ। ११४ किलोमिटर लम्बाई रहेको यो सडक खण्डलाई बुटवल–दाउन्ने (पश्चिम खण्ड) र दाउन्ने–गैँडाकोट (पूर्वी खण्ड) गरी दुई भागमा विभाजन गरेर चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको थियो लामो समयको ढिलाइपछि हालसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति करिब ९२ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ।
२०७५ साल चैतमा सुरु भएको यो आयोजना सुरुवाती सम्झौता अनुसार ४२ महिना अर्थात् २०७९ साउनभित्रै सम्पन्न भइसक्नुपर्ने थियो। तर, रुख कटानको अनुमतिमा भएको कानुनी अड्चन, विद्युतका पोलहरू सार्न लागेको ढिलाइ, कोभिड–१९ महामारी, र स्थानीय तहहरूबाट निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) उत्खननमा लगाइएको रोक जस्ता विविध कारण देखाउँदै ठेकेदार कम्पनीले काम ढिलो गर्यो। नतिजास्वरूप, सरकारले हालसम्म चौथोपटक म्याद थप गरिसकेको छ।
बाटो बन्ने आशामा वर्षौँसम्म धुलो र हिलो खाएका बर्दघाटबासी अहिले कालोपत्रे भएपछि पनि ढुक्क हुन सकेका छैनन्। लेन मार्किङ गरेर चिटिक्क पारिएको बाटोको भित्री गुणस्तर निकै खस्किएको पाइएको छ।
शान्तिनगर निवासी केशव भण्डारीका अनुसार शान्तिनगर चोक र दिव्य नगर चोक अगाडिको सडक कतै अग्लो त कतै दबेको छ। उनले भने, बाटो दबिएकै कारण दुई पाङ्ग्रे सवारी साधन चलाउँदा सन्तुलन गुमेर निकै अप्ठेरो हुने गरेको छ। यो अवस्थाले जुनसुकै बेला ठूलो दुर्घटना निम्त्याउन सक्छ। यति ठूलो समस्या हुँदा र हामीले पटक-पटक कुरा उठाउँदा पनि सम्बन्धित निकायले आँखा चिम्लेर बस्नु रहस्यमय छ।
त्यसैगरी, लक्ष्मीनगर चोकमा व्यवसाय गर्दै आउनुभएका दुर्गा ढकालले सडकको कालोपत्रे नालीसम्म नै जोडेर गरिदिएको भए बजार क्षेत्र पनि राम्रो देखिने थियो र व्यवस्थित हुन्थ्यो। तर अहिले सडक किनारमा असरल्ल छरिएका गिट्टी र ढुङ्गाहरू गुडिरहेका गाडीका टायरले हुत्त्याउँदा आफ्नै अगाडि पटक-पटक सवारी दुर्घटना भएका छन्। यस्तो लापरवाहीले व्यापार गर्न पनि असुरक्षित बनाएको छ।
अर्बौँ रुपैयाँ खर्च गरेर मुलुककै लाइफलाइन मानिने सडक बनाउँदा, पिच गरेको केही समयमै सडक दब्नु, दबिएको सडक पुनः निर्माण नगर्नु, दबिएकै अवस्थाको सडकमा लेन मार्किङ गरेर राख्नु निर्माण कम्पनीको चरम लापरवाही र नेपाली प्राविधिकहरूको कमजोर सुपरिवेक्षणलाई उदाङ्गो पारेको छ।
नयाँ म्याद अनुसार सडक हस्तान्तरण गर्ने हतारोमा ठेकेदारले फिनिसिङको काम गुणस्तरहीन तरिकाले गरिरहेको स्थानीयको आरोप छ। राज्यको अर्बौँको लगानी बालुवामा पानी जस्तै हुने गरी भएको यो हेलचेक्य्राइँमा निर्माण प्रदायक चिनियाँ कम्पनी र यसको गुणस्तर जाँच गर्ने सडक विभाग अन्तर्गतको आयोजना कार्यालय उत्तिकै जिम्मेवार देखिन्छन्।
लेन मार्किङ भइसकेको सडकमा देखिएका यस्ता गम्भीर प्राविधिक त्रुटिहरूलाई बेलैमा नसच्याई आयोजनालाई हतार-हतार बुझ्ने काम गरियो भने, यसले भविष्यमा बर्दघाट क्षेत्रमा दैनिक दुर्घटना बढाउने निश्चित छ। यसतर्फ सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिहरूले तत्कालै दबाब बढाउनु आवश्यक देखिन्छ।