बर्दघाट,बैशाख–२४
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको चिसापानी अस्पताललाई नगर अस्पतालका रुपमा घोषणा गरिएको छ। आज २०८३ बैशाख २४ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले अस्पताललाई औपचारिक रुपमा नगर अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ ले कार्यपालिका बैठकबाट उक्त निर्णय भएको जानकारी दिए।
१५ शैयाको चिसापानी अस्पताल यसअघि देखि नै नगरपालिकामार्फत सञ्चालन हुँदै आएको भए पनि नगर अस्पतालका रुपमा औपचारिक घोषणा गरिएको थिएन। पछिल्लो निर्णयसँगै अस्पतालले नगर अस्पतालका रुपमा सेवा प्रवाह गर्ने भएको छ।
नगरपालिकाले अस्पतालको सेवा विस्तार, स्वास्थ्य पूर्वाधार सुदृढीकरण तथा स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित निर्णय गरिएको जनाएको छ।
यस अघि बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताललाई नगर अस्पताल बनाईनु पर्ने बहस चलेपनी कार्यपालिका बैठकले चिसापानी अस्पताललाई नगर अस्पतालका रुपमा निर्णय गरेको हो ।
