बर्दघाट,पुष – ३
बर्दघाट नगरपालिकामा सम्भावित शीतलहरको जोखिमलाई ध्यानमा राख्दै बिपत्ति व्यवस्थापन समितीको बैठकले राहत, सचेतना र अनुगमनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले शीतजन्य विपत्तिबाट नागरिकलाई सुरक्षित राख्न बहुआयामिक तयारी अघि बढाउने निर्णय गरेको हो। बैठकअनुसार नगरको स्वास्थ्य शाखामार्फत १७ वटा स्वास्थ्य चौकीहरूमा शीतलहरसम्बन्धी सचेतनामूलक जानकारी सर्कुलेसन गरिनेछ। यस्तै, शिक्षा शाखामार्फत नगर भित्रका विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावक लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
गत आर्थिक वर्षमा ३ लाख रुपैयाँ बराबरका टोपी र कम्मल खरिद गरिएकोमा प्रभाबकारी भएको निष्कर्ष निकाल्दै बैठकले यस बर्ष पनि बाक्लो कपडा बितरण गर्ने निर्णय भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनु भयो । निजि क्षेत्र, बर्दघाट जेसिज, नेपाल रेडक्रस सोसाइटी, सामुदायिक वन, राजनीतिक दलका प्रतिनिधिहरुसँगको समन्वयमा वितरण गरिने कपडा बितरण गरिने उल्लेख गर्नु भयो । सम्भावित शीतलहरको पूर्वतयारीका लागि नगरपालिकाले थप रूपमा स्वीटर, टोपी, मोजा र कम्मल खरिद तथा वितरण गर्ने तयारी गरेको छ। यसका लागि मोजा र टोपी १ हजार सेट तथा करिब ५०० थान कम्मल खरिद गर्न ५ लाख रुपैयाँ बजेट छुट्याइएको बिपत्ति फोकल पर्शन कृष्ण थापा क्षेत्रीले जानकारी दिनु भयो ।
बैठकले बाक्ला कपडा खरिद समिती, बितरण समिति र अनुगमन समिती समेत बनाएको छ ।राहत सामग्री वितरण राजनीतिक रङ्गका आधारमा हुन नहुने स्पष्ट नीति लिँदै बैठकले त्यसको अनुगमनका लागि निगरानी तथा अनुगमन समिती गठन गरेको छ। अनुगमन समितीमा उपप्रमुख रुद्र प्रकाश, रास्वापा प्रकाश र सुरज के.सी. रहनु भएको छ । शीतलहरका बेला आगो ताप्ने आवश्यकतालाई ध्यानमा राख्दै त्रिवेणी चोक, चिसापानी चोक, भुताहा चोक, मझौनी चोक, भटौलिया चोक, नारायण चोक लगायतका चोकहरूमा दाउरा वितरण गर्ने निर्णय गरेको छ ।
