असार–२३
बर्दघाट प्रज्ञा प्रतिष्ठानको छैठौं प्रज्ञा सभा पुनः २९ गते बस्नेगरी विचमै स्थगित भएको छ । आज भएको प्रज्ञा सभामा प्रतिष्ठानको वार्षिक आय–ब्यय पेश हुन नसकेपछि पुनः २९ गते वार्षीक आय–ब्यय सहित प्रज्ञा सभा बस्नेगरी विचमै स्थगित भएको हो ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति धनश्याम न्यौपाने (परिश्रीमी) को अध्यक्षता र नगर प्रमुख एवं बर्दघाट प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको छैठौं प्रज्ञा सभामा सदस्यसचिव सरद पौडेलले प्रतिष्ठानको वार्षिक निति तथा कार्यक्रम र आगामि बर्षको अनुमानित खर्च बजेट प्रस्तुत गरेपछि सभा सदस्यहरुले प्रतिष्ठानको वार्षीक आय–ब्यय विवरण प्रस्तुतगर्न माग गरेका थिए ।
वार्षीक आय–ब्यय विवरण कुनै पनि परिषद बैठकमा समेत नआएको भन्दै परिषद सदस्य र सभा सदस्यहरुले आय–ब्यय प्रस्तुत गर्न माग गरीरहदा कुलपति,सदस्यसचिव र कर्मचारी नाजवाफ भएका थिए ।
कुलपतिले बर्दघाट प्रज्ञा प्रतिष्ठानको वार्षिक आय–ब्ययका वारेमा सदस्य सचिव र कर्मचारीलाई तयार पार्न भनेको भन्दै जवाफ दिएपछि सभासदस्यहरुले कुलपतिको गैरजिम्मेवार अभिब्यक्ति भन्दै आलाेचना गरेका थिए ।
आय–ब्यय आउन नसकेर सन्नाटा छाएका बेला कार्यक्रममा सदस्य सचिवले नगर उपप्रमुख तथा प्रतिष्ठानका संरक्षक रुद्रप्रकाश उपाध्यायलाई शुभकामना मन्तब्यका लागि बोलाएपछि उपप्रमुख उपाध्यायले वार्षिक आय–ब्यय नै प्रस्तुत नगरीकन कार्यक्रममा आफु नबोल्ने अडान लिनु भएको थियो । सभासदस्यहरुले समेत प्रज्ञा सभा स्थगित गरेर वार्षिक आय–ब्यय आएपछि शुरु गर्नेगरी स्थगीत गर्न माग गरेका थिए ।
सभासदस्य र संरक्षकले समेत अडान लिए पछि बाध्यभएर बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति धनश्याम न्यौपाने (परिश्रीमी) ले माइक तान्दै वार्षीक आय–ब्यय असार २९ गते सम्म तयारगरी पेशगर्ने प्रतिवद्धता जनाएपछि छैठौं प्रज्ञा सभा पुनः२९ गते बस्नेगरी सभा अघिबढेको थियो ।
सभामा सदस्य सचिवले प्रस्तुत गरेको वार्षिक निति तथा कार्यक्रम र आगामि बर्षको अनुमानित खर्च बजेट समेत ,वार्षिक आय–ब्यय सगै पासगर्ने भन्दै रोकिएको छ । ५१ जना प्रज्ञा सभा रहेको बर्दघाट प्रज्ञा प्रतिष्ठानमा ११ सदस्य परिसद रहेको छ । पाँच बर्षे कार्यकाल रहने नितिगत ब्यवस्था रहेको यो प्रतिष्ठान बर्दघाट नगरपालिकाको एक अभिन्न अंगका रुपमा रहेको छ । नगरको भाषा,साहित्य,कला,संस्कृति र संगीत क्षेत्रको संरक्षण ,सम्बद्धन र सुब्यवस्थीत गर्ने कार्यमा यस्को महत्वपूर्ण योग्दान रहने गर्दछ ।