sunwal

बर्दघाट नगरपालिकाद्धारा आव २०८३/८४ का लागि सुझाव सङ्कलन

843

बर्दघाट,जेष्ठ–१३
बर्दघाट नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियालाई सहभागीमूलक बनाउने उद्देश्यले सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधि, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा नगरका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले नगरको समग्र विकास, सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता तथा दीर्घकालीन योजनामाथि आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धु जलेशा बुढाथोकी ले समयअनुसार प्रविधिको विकासमा नगरपालिकाले लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइन्। उनले नगरवासीको दैनिक आवतजावतलाई सहज बनाउन नगर बस सञ्चालनको व्यवस्था गर्न सुझाव दिँदै सार्वजनिक यातायात व्यवस्थापनलाई प्राथमिकतामा राख्न आग्रह गरिन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठ ले नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्दै आएको बताए। उनले सरोकारवालाबाट प्राप्त सुझावलाई आगामी बजेट तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै जनअपेक्षाअनुसार विकास निर्माणलाई अगाडि बढाइने बताए।

त्यसैगरी रविन्द्र बिक्रम हमाल ले नगरपालिकाले विभिन्न क्षेत्रमा गरेको लगानीको प्रभावकारिता मूल्याङ्कन र सम्पत्तिको उपयोगिता सुनिश्चित गर्न प्रभावकारी अनुगमन प्रणाली आवश्यक रहेको धारणा राखे। उनले विकास योजनाको दीगो प्रतिफलका लागि पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउनुपर्ने बताए।

नेपाली कम्युनिष्ट पार्टी बर्दघाट नगर अध्यक्ष तेजेन्द्र पुर्जा ले पालिकाले अनुत्पादक क्षेत्रमा भइरहेको लगानी कटौती गर्नुपर्ने सुझाव दिए। उनले पहुँचका आधारमा योजना छनौट गर्ने प्रवृत्तिको अन्त्य गर्दै समावेशी र आवश्यकतामा आधारित योजना तर्जुमामा जोड दिनुपर्ने बताए।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बिकास निर्माण सगै स्थानीय तहले दीर्घकालीन नीति निर्माणलाई समेत प्राथमिकतामा राख्नु पर्ने उल्लेख गर्दै जनप्रतिनिधि सरोकारवाला,कर्मचारी र स्थानीय समुदायको सहकार्यबाट अघि बढ्न सके मात्रै दिगो प्रतिफल प्राप्त गर्न सकिने उल्लेख गरे ।

यस्तै बर्दघाट प्रेस क्लब का अध्यक्ष कुश्माकर ढकाल ले स्थानीय सञ्चार ऐन निर्माणको आवश्यकता औंल्याए। उनले पछिल्लो समय आर्थिक अभावका कारण स्थानीय सञ्चारमाध्यमहरू संकटमा पर्दै गएको उल्लेख गर्दै प्रभावकारिताका आधारमा मिडिया प्रवर्द्धनका कार्यक्रम बजेटमा समावेश गर्न आग्रह गरे।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले कृषि आधुनिकीकरण, युवालाई स्वरोजगार, पर्यटन विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, खानेपानी, सडक पूर्वाधार तथा सुशासनका विषयलाई आगामी बजेटको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।

नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणअघि विभिन्न क्षेत्रका सरोकारवालासँग सुझाव सङ्कलन अभियानलाई निरन्तरता दिने जनाएको छ।