sunwal

बर्दघाटको निरकु माविमा चलखेल,चाहेको शिक्षक ल्याउन आबेदन रद्ध गर्न दबाब

1,239

कृष्ण ढकाल

बर्टघाट,जेष्ठ-१२

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालय मा गणित विषयको रिक्त शिक्षक पदका लागि खोलिएको सरुवा सहमतिको भ्याकेन्सी रद्द गर्न दबाब दिइएको छ।

विद्यालय व्यवस्थापन समितिले २०८३ वैशाख १६ गते गणित शिक्षक सरुवा सहमतिका लागि भ्याकेन्सी खोल्न नगरपालिकाको शिक्षा शाखामा पत्राचार गरेको थियो। सोही अनुसार प्रक्रिया अघि बढेपछि विभिन्न शिक्षकहरूले आवेदनसमेत दिएका थिए। तर आवेदन परिसकेको अवस्थामा समेत ब्यवस्थापन समितीको एकलौटी निर्णयले भ्याकेन्सी खारेज गरेपछि विवाद चुलिएको हो।

आवेदन दिएका शिक्षकहरूले विद्यालय व्यवस्थापन समितिले आफूअनुकूल शिक्षक ल्याउने वातावरण नबनेपछि प्रक्रिया नै रद्द गर्न खोजिएको आशंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार कार्यविधिअनुसार आवेदन परिसकेको अवस्थामा विज्ञापन रद्द गर्न नमिल्ने व्यवस्था रहे पनि विद्यालय व्यवस्थापन समिति र वडा नम्बर १२ का वडा अध्यक्ष उमाशंकर चौधरी को दबाबमा विज्ञापन खारेज गर्ने निर्णयसहित शिक्षा शाखामा पहल गरिएको हो।

यस विषयमा बुझ्दा शिक्षा समन्वय इकाई परासीका प्रमुखले आवेदन परिसकेको अवस्थामा प्रक्रिया रद्द गर्न कानुनी रूपमा नमिल्ने बताएका छन्।

यता बर्दघाट नगरशिक्षा शाखा प्रमुख दिल्लीराम ढुङ्गाले कानुन सम्वत नरहेकाले प्रक्रिया अघिबढाउ नसकिने बताउनु भएको छ ।

श्रोतका अनुसार विद्यालय व्यवस्थापन समिति र वडा अध्यक्षको योजनाअनुसार प्रारम्भमा भ्याकेन्सी खोलिएको भए पनि अध्यापन अवधि तथा बरियताक्रममा आफूहरूले चाहेका शिक्षक पछि परेपछि अहिले गुल्मीमा कार्यरत एक शिक्षकलाई सरुवा सहमति दिलाएर सिधै नियुक्ति गर्ने तयारी गरिएको आरोप छ।यस बिषयमा जानकारी लिदा विद्यालयका प्र अ घनश्याम भण्डारीले गोलमोटल जवाफ दिनुभएकाे छ ।

घटनाले विद्यालयको शिक्षक व्यवस्थापन प्रक्रियामाथि प्रश्न उठाएको छ भने सरुवा सहमतिजस्तो संवेदनशील विषयमा राजनीतिक तथा व्यक्तिगत प्रभाव हाबी भएको भन्दै स्थानीय स्तरमा समेत चासो बढेको छ।नाम उल्लेख नगर्ने शर्तमा एक जना शिक्षकले अख्तियार त सम्बन्धित निकायमा उजुरी गर्ने बताए।

यो बिषय छताछुल्ल रुपमा बाहिर आएपछि विधि र प्रक्रिया माथिको खुलेयाम नाङ्गो हस्तक्षेप भएको बताईएको छ