Bardaghat Na pa

बर्दघाट नगर पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगर दिगोपना घोषणा

585

बर्दघाट,बैशाख–१६

बर्दघाट नगरपालिकालाई पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगर दिगोपना घोषणा गरिएको छ। जिल्ला समन्वय समिति (जिसस) का प्रमुख भगौती यादवले एक कार्यक्रमका बीच उक्त घोषणा गरेका हुन्।

घोषणा कार्यक्रममा बोल्दै जिसस प्रमुख यादवले नगरभित्रका सबै बालबालिकाले आवश्यक खोप पाएको र गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामै सुरक्षित प्रसुती सेवा लिइरहेको सुनिश्चित भएपछि यस्तो उपलब्धि हासिल भएको बताए। उनले यो सफलता स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको समन्वयको परिणाम भएको उल्लेख गरे।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटलाई स्वास्थ्यका दृष्टिले नमुना नगर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए। “पूर्ण खोप र संस्थागत प्रसुती सुनिश्चित गर्नु हाम्रो प्राथमिकता थियो, आज त्यसमा सफलता पाएका छौं,” उनले भने, “अब यो अवस्थालाई दीगो बनाउँदै थप गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित हुनेछौं।”यो सगै नगरपालिकालाई दोस्रो योग नगरका रुपमा घोषणा गर्नेगरी नगरपालिका अघि बढेको बताए ।

उपप्रमुख रुद्र प्रकाश उपाध्यायले मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि नगरपालिकाले निरन्तर सचेतनामूलक कार्यक्रम, निगरानी तथा सहजीकरण गर्दै आएको बताए। “स्वास्थ्य संस्थामा प्रसुती गराउने दर बढ्नु सकारात्मक संकेत हो,” उनले भने, “आगामी दिनमा पनि कुनै पनि आमा र बच्चा सेवाबाट वञ्चित नहोस् भन्नेमा हामी प्रतिबद्ध छौं।”

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गद बहादुर शाहीले बर्दघाटले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै यसपटक पनि जिल्लामै उत्कृष्ट बन्ने अपेक्षा रहेको बताए। उनले खोप सेवा र संस्थागत प्रसुतीलाई अझ सुदृढ बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस उपलब्धिले नगरको समग्र स्वास्थ्य सूचक सुधारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।