कृष्ण ढकाल
बर्दघाट,पाैष -२९
बर्दघाट नगरपालिकाको १७औँ हिउँदे नगरसभा सोमबारबाट सुरु भएको छ। नगर सभामा आर्थिक बर्ष २०८२ काे पहिलाे संसाेधन वमाेजिमकाे संसाेधित वजेट र आय ब्यय पेस गरीएकाे थियाे ।
नगरसभामा आर्थिक वर्ष ०८२/०८३ को पौष २० गतेसम्मको राजस्व संकलनको अवस्था, न्याय सम्पादन, अनुगमन प्रतिवेदन तथा ११ वटा ऐन सभासमक्ष पेश गरिएको छ।

नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष ०८२/०८३ मा १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा पौष २० गतेसम्म ४ करोड ४६ लाख ३३ हजार ५५ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको जानकारी गराइएको छ। साथै चालु आर्थिक वर्षको अन्त्य सम्ममा नगरले ८ करोड ३२ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८०/०८१ को अन्तिम प्रतिवेदनमा ३ करोड २९ लाख ५५ हजार रुपैयाँ बेरुजु बाँकी रहेको छ भने सोही वर्षको विगत बेरुजु मध्ये १ करोड ४२ लाख ५९ हजार रुपैयाँ महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण भई बेरुजु फछ्र्यौट गरिएको जनाइएको छ।

न्याय सम्पादनतर्फ नगरमा दर्ता भएका उजुरीहरूमध्ये ४३ प्रतिशत उजुरी समाधान गरिएको उपप्रमुख उपाध्यायले जानकारी दिनुभयो। अनुगमनतर्फ उपभोक्ता समितिमार्फत सञ्चालन गरिएका जटिल तथा ठूला योजना निर्माण, बजार अनुगमनलगायतका प्रगति विवरण सभासमक्ष प्रस्तुत गरिएको थियो।
सभामा सुशासन समिति संयोजक गोविन्द विक र लेखा समिति संयोजक बालिन्द्र विक्रम शाहीले सुझावसहितका प्रतिवेदन पेश गर्नुभएको थियो। यस्तै विधान समिति संयोजक प्रेम भुजेलले ११ वटा विभिन्न ऐन सभासमक्ष प्रस्तुत गर्नुभएको छ। ती ऐनहरूमाथि दफावार छलफलका लागि नगर प्रमुखले ७२ घण्टाको समय उपलब्ध गराउनुभएको छ।
नगरसभा सचिव बाबुराम पौडेलले १६औँ नगरसभा देखि १७औँ नगरसभासम्म नगरकार्यपालिकाबाट भएका निर्णयहरू, नगर प्रमुख तथा उपप्रमुखको अध्यक्षतामा सम्पन्न बैठकका निर्णयहरू र विभिन्न उपसमितिका निर्णयहरू निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
१७औँ नगरसभामा सभा अध्यक्ष एवं नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै विभिन्न अभियन्ताहरूलाई सम्मान गर्नुभएको छ। सम्मानित हुनेहरूमा बर्दघाट चुरे उद्यानका अभियन्ता तथा बर्दघाट श्रम हिलपार्कका अभियन्ताहरू रहेका छन्।
साथै बर्दघाट नगरको नगरगानका रचयिता डिल्ली नारायण पाण्डेलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। त्रिवेणी चोकदेखि बर्दघाट चुरे उद्यान हुँदै दाउन्ने कैलाशसम्मको गोरेटो बाटो निर्माणमा श्रमदान गरेको योगदानको कदर गर्दै बर्दघाटस्थित सशस्त्र युक्ति तालिम महाविद्यालयलाई पनि सम्मान गरिएको छ।
