कृष्ण ढकाल
बर्दघाट,पौष–२८
चिसापानी सामुदायिक वन उपभोक्ता समुह,बर्दघाट–२,चिसापानीको २३औं बार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । समुहका अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षता र पश्चिम नवलपरासी जिल्लाका सिनियर वन अधिकृत राजु क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
समुहको कार्यालय परिसरमा भएको बार्षिक साधारण सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै सिनियर वन अधिकृत क्षेत्रीले सामुदायिक वनहरु अझै प्रस्कृत भएर अघिबढ्नु पर्ने बताउनु भयो । उहाँले वनबाट उत्पादन लिने र संरक्षण गर्ने कार्यमा सामुदायिक वनहरुको महत्वपूर्ण भुमिका रहने धारणा ब्यक्त गर्नु भएको थियो ।
त्यसैगरी सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कमल परियारले विधित तरीकाले सामुदायिक वनहरु अघिबढ्नु पर्नेमा जोड दिनु भएको थियो । नवलपरासीको जिल्ला डिभिजन वन कार्यालयले सम्पन्न सामुदायिक वन र गरीव सामुदायिक वनलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै सबैलाई एउटै तरीकाको ब्यवहार गर्ने वातावरण मिलाउन सिनियर वन अधिकृत राजुक्ष्ँेत्रीलाई आग्रह गर्नु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद सापकोटाले चिसापानी सामुदायिक वनले आफ्नो आर्थिक अनुगमन समिति बनाउनु पर्ने र वडाको फोहर ब्यवस्थापनका लागि जाने सडकलाई ब्यवस्थीत गर्नु पर्ने सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा सूर्यज्योती युवा क्लबका अध्यक्ष राम भण्डारीले वनबाटीका पार्क निर्माण गर्ने देखि राजमार्ग छेउमा यात्रु प्रतिक्षालय निर्माण गर्नु पर्ने धारणा राख्नु भयो ।

२३औं बार्षिक साधारण सभामा समुहका अध्यक्ष होम बहादुर गुरुङले संस्थाको प्रगति प्रतिवेदन, सरस्वती सुनारले सचिवको प्रतिवेदन र कोषाध्यक्ष होमबहादुर सुनारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने समुहका लेखा समिति संयोजक माधब अधिकारीले लेखा समितिको प्रतिवेदन र अनुगमन,मुल्यांकन समितिका संयोजक ज्ञानेन्द्र रानालले अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
२०६५ सालमा विधिवतरुपमा दर्ता भएर आफ्नो सेवा शुरु गरेको चिसापानी साुमदायिक वनले बर्दघाट नगरपालिका वडा नं. २,३,१२ र १३ सहित सरावल गाउँपालिका वडा नं. ५ र ६ तथा पाल्हिनन्दन गाउपालिका वडा नं. १ गरी ३ वटा पालिकाका ३ हजार ३ सय ५० घरधुरीका १८ हजार ५ सय ५० जनसंख्यालाई सेवाप्रदान गरेको समुहको प्रतिवेदनमा उल्लेख गरीएको छ । ४ सय ९५ दशमलब ७६ हेक्टर वनक्षेत्र रहेको चिसापानी सामुदायिक वनले गत आ.ब.मा १ करोड ४८ लाख १० हजार ७ सय ४९ रुपैया बरावरको आर्थिक कारोवार गरेको छ ।
