Jilla Ban Notis

कार्यसम्पादनमा बर्दघाट नगरपालिका जिल्लामै प्रथम

0 57

बर्दघाट,फागुन -१०
नवलपरासी,पश्चिम् पश्चिम नवलपरासीका सात स्थानिय तहको कार्यसम्पादनको मुल्यांकनमा बर्दघाट नगरपालिका जिल्लामै पहिलो भएको छ । सातै वटा स्थानीय तहमध्ये आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा बर्दघाट नगरपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बर्दघाटले ४२ दशमलव ७४ अंक प्राप्त गरेको हो ।

तर बर्दघाटले अघिल्ला आर्थिक वर्षमा प्राप्त गरेको अंक भन्दा यस पटक कम अंक मात्र प्राप्त भएपनी पहिलो भएको छ। जिल्लाका सबै स्थानिय तहले प्राप्त गरेको अंक विगतको तुलनामा कम देखिएको छ । यसैगरी ३६ दशमलव ८८ अंक प्राप्त गरी रामग्राम नगरपालिका दोस्रो भएको छ भने ३४ दशमलव ६४ अंकका साथ सुनवल नगरपालिका तेस्रो भएको छ । सात पालिका मध्ये प्रतापपुर गाँउपालिका सबैभन्दा कमजोर देखिएको छ । प्रतापपुरले १८.३६ अंक प्राप्त गरेको छ भने सुस्ताले २८.४०, पाल्हीनन्दनले २३.०८ र सरावलले २०.१६ अंक प्राप्त गरेको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मुल्याङ्कन सार्वजनिक गरेको हो । जसमा असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्त भित्र बजेट पारित गरे÷नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे÷नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये सस्थागत सुत्केरी महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका बिभिन्न सूचकहरु रहेका छन् । स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ ।

कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरु मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गरिन्छ । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूलल्यांकन गरी अंक प्रदान गरिएको र प्राप्त अंकमा चित्त नबुझे ७ दिनभित्र निवेदन दिन भनिएको छ ।

Leave A Reply

Your email address will not be published.