परासी, बैशाख २९
समाचारको विषयलाई लिएर रामग्राम नगरपालिकाले लगाएको आरोप प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले आफ्नो गंभिर ध्यानआकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा र सचिव राजकुमार रेश्मीले संयुक्त रुपमा आज एक विज्ञप्ती जारीगरी रामग्राम नगरपालिकाले लगाएको आरोप प्रति महासंघको गंभिर ध्यानआकर्षण भएको जनाईएको छ ।
रामग्राम नगरपालिकाले आइसोलेसनका लागि भन्दै लगेका ५० वटा अक्सिजन शिलिण्डरहरु चौरमा छरपस्ट देखेपछि सुरक्षाको कारण देखाउँदै सोमबार राति प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित सुरक्षाकर्मीहरुको टोलीले लिएर गएको थियो ।
प्रशासनले शिलिण्डरहरु लिएर गएपछि नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले विज्ञप्ती निकालेर प्रशासनले १० वटा भरेका र ४० वटा खाली गरी ५० वटा शिलिण्डर मध्यरातमा ‘कब्जा’मा लिएको जनाएका थिए ।
सोही विषयको समाचार विभिन्नि सञ्चारमाध्यमा प्रकाशित भएपछि नगरप्रमुख गुप्ताले पत्रकार महासंघको वर्तमान र पूर्व नेतृत्वसहित सञ्चारकर्मीले भ्रामक समाचार सम्प्रेषण गरेको र भूमिका समेत खेलेको भन्ने गंभिर आरोप लगाएका थिए । उक्त आरोपप्रति आपत्ति जनाउँदै बुधबार पत्रकार महासंघका अध्यक्ष हरि शर्मा र सचिव राज कुमार रेश्मीले प्रेस विज्ञप्ती निकालेर ध्यानआकर्षण भएको जनाएका हुन् ।
समाचार स्रोत, तस्बिर र भिजुअलसहित समाचार बाहिर आएपछि आलोचना खेप्न नसकेका नगर प्रमुख गुप्ताले सञ्चार क्षेत्रलाई दोष दिएर उम्किन खोजेको आरोप विज्ञप्तीमा लगाइएको छ । उक्त आरोप आपत्ति र खेदजनक रहेको महासंघले निकालेको विज्ञप्तीमा जनाइएको छ ।