Jilla Ban Notis

शिक्षा तालीम र सूचनाले सहकारी सबल ः आचार्य

रामग्राम साकोसको १८ औँ साधारणसभा सम्पन्न

0 16

परासी, २४ पुस

रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामग्राम–३ परासीको १८ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जनार्दन ठाकुरको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष राजन कुमार आचार्यको प्रमुख आतिथ्यमा भएको उक्त सभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, आगामी नीति तथा कार्यक्रम र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले शिक्षा, तालीम र सूचनाको माध्यमबाट सहकारीलाई सबल बनाउन सकिने बताउनुभयो । सहकारी सामूहिक व्यवसाय भएकोले सदस्यको हित र आयआर्जन हुने कार्यक्रम सहकारीले सञ्चालन गर्नुपर्ने उहाँले जोड दिनुभयो । सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा भएमा मात्र समृद्धितर्फ उन्मुख हुन सकिने उहाँको भनाई थियो ।

सभामा संस्थाका संस्थापक अध्यक्ष सुमन गोपाल आचार्य, पूर्व अध्यक्षहरु मेघराज गौतम र राजकुमार रेश्मी, नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्वसभापति केशव पराजुली, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सभामा सचिव मोहन पौडेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष चन्द्रमणि चौधरीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सचिव पौडेलको सञ्चालन र सञ्चालक सदस्य मुक्तिप्रसाद पौडेलको स्वागत मनतब्य रहेको थियो ।

तस्विरः गौरीशंकर जयसवाल

उक्त अवसरमा उत्कृष्ट बचतकर्ताको रुपमा शेयर सदस्य पूर्णसिंह थापा(हेमन्त), असल ऋणिबाट शेयर सदस्य पप्पु प्रसाद कोंहार,,बाल बचतकर्तातर्फ आदित्य जयसवाल, अतित ठाकुर र शुसान्त गैरेलाई पुरस्कृत गरिएको थियो भने पूर्व अध्यक्ष मेघराज गौतम र व्यवस्थापक तुलसी ढकाललाई सम्मान गरिएको थियो ।

विस.२०५९ सालमा स्थापना भएको रामग्राम बचत तथा ऋण सहकारी संस्थामा हाल १५६ जना शेयर सदस्य तथा ५० जना बाल बचतकर्ताहरु आवद्ध रहेका छन् । सहकारीले गत आर्थिक वर्षमा रु तीन लाख १४ हजार शुद्ध मुनाफा आर्जन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष चौधरीले जानकारी दिनुभयो । सहकारीको कूल शेयर पूँजी रु २८ लाख २४ हजार ३०० तथा ऋण लगार्नी रु एक करोड १० लाख ४३ हजार ५४३ रहेको छ ।

Leave A Reply

Your email address will not be published.