Jilla Ban Notis

लुम्बिनी विकास कोष परिषद बैठक सकियो, नीति कार्यक्रम पारित

0 226

बुटवल, साउन १७

लुम्बिनी विकास कोषको परिषद बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । मंगलबार कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले आर्थिक बर्ष ०७९/८० का लागि निती तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित गरेको छ । बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यो बैठकले कोषको इतिहाँसमा नयाँ परम्पराको शुरुवात गर्दै संस्थागत विधि स्थापित गरेको बताए ।

बैठकले कोषका सदस्य सचिव शानुराजा शाक्यद्धारा प्रस्तुत ४५ बुँदे नीति तथा कार्यक्रम र कोषाध्यक्ष ढुण्डीराज भटराई(सिद्धिचरण)द्धारा प्रस्तुत संघीय तर्फको १ अर्ब ५५ करोड र आन्तरिक तर्फको १७ करोड ४० लाख बराबरको आम्दानी खर्चको बजेट पारित गरेको हो ।

आयस्तर बढाउन र आयका क्षेत्र र दायरा एकिन गरी प्रस्तुत गर्न बोर्ड मार्फत शुल्क पुनरावलोकन कार्यदल बनाउने निर्णय समेत गरेको छ । बजेट नीति तथा कार्यक्रमममा केही लुम्बिनीको विकासलाई दुरगामी प्रभाव पार्ने नीतिगत निर्णयहरु परिषदले लिएको कोषाध्यक्ष भटराईले बताए ।

बैठकले लुम्बिनी विकास कोषको परिषद बैठक तिलौराकोटलाई विश्वसम्पदा सुचिमा सुचिकरणका लागि मनोनयन रणनीतिपत्र लेखनका लागि विज्ञमा डङ्कन मार्सल अष्ट्रेलियालाई छनौट गर्ने निर्णय गरेको छ । गौतमबुद्धले २९ बर्ष बिताएको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्नका लागि केहि महिनादेखि विकास कोष र मन्त्रालयले काम गर्दै आइरहेको छ । त्यस्तै तिलौराकोट क्षेत्र वरिपरिका सम्पदा क्षेत्रहरुको गुरुयोजना तयार गर्ने, देवदहमा देवदह म्युजियम स्थापना गर्ने, देवदह, कपिलवस्तु र रामग्राम क्षेत्रको उत्खननलाई निरन्तरता दिने निर्णय गरेको छ ।

यसैगरी यही वर्षको मंसिर महिनामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्न कोषका उपाध्यक्ष भिक्षु मैत्रेयको संयोजकत्वलमा कार्य सम्पादन समिति निर्माण गरेको छ ।

युएन महासभाले विगतमा निर्माण गरेको लुम्बिनीको विकास र प्रबद्र्धनका लागि अन्तराष्ट्रिय मञ्चमा संलग्न राष्ट्रहरुको बैठक बोलाउन राजदुतस्तरीय बैठकका लागि परराष्ट्र मन्त्रालयको समन्वयमा राख्ने निर्णय गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

यस्तै बस र भ्यान सञ्चालनका लागि बनेको कार्यदललाई एक महिनाभित्र बसहरु परिक्षण सञ्चालनमा ल्याउने गरी कार्य अघि बढाउन निर्देशन दिने, बृहतर लुम्बिनी क्षेत्रको प्रचार प्रसारका लागि अन्तराष्ट्रिय स्तरका मिडिया तथा डिजिटल मार्केटिंगको प्रयोगलाई प्राथमिकता दिने परिषद बैठकले निर्णय गरेको छ ।

परिषद बैठकले यसअघि अघिल्लो बोर्ड बैठकबाट भएको सम्सरा वेलनेश रिसोर्टका लागि जग्गा दिने निर्णय खारेज गर्दै उक्त स्थानमा लुम्बिनी विकास कोष आफैले स्तरीय सुविधा सम्पन्न पार्क, पिकनीक सेड र व्यवस्थापन सहितको मनोरञ्जन स्थल बनाउने सोँच अघि सार्ने निर्णय गरेको छ ।

कोषको परिषद बैठकले मायाँदेवी अक्षय कोष निर्माण गरि कोषमा जम्मा भएको रकमको व्याजबाट सञ्चालन खर्च नियमित गर्न कोषको विधान तयार गर्ने निर्णय गर्दै कोषमा रकम जम्मा गर्न अभियान समेत चलाउने भएको छ । कोषले कर्मचारीका समस्या हल गर्न कोषाध्यक्ष ढुण्डीराज भटराईको संयोजकत्वमा एक कार्यदल पनि गठन गरेको छ ।

Leave A Reply

Your email address will not be published.