Jilla Ban Notis

मन्त्री पौडेलद्धारा बर्दघाटका विभिन्न सहकारीको अनुगमन, किसानको ऋणको व्याज सरकारले तिर्दिने

0 26

परासी, १५ साउन

प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश सरकारले सबै प्रकारका कृषकलाई प्रोत्साहन गर्न किसानमैत्री योजनाहरु सञ्चालन गरेको बताउनुभएको छ । विहीबार नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)स्थित बर्दघाट नगरपालिकामा रहेका कृषिसँग सम्बन्धित विभिन्न सहकारी संस्थाहरुको अनुगमन गर्दै मन्त्री पौडेलले उक्त कुरा बताउनुभएको हो ।

बर्दघाट–१४ चौपत्तास्थित चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाको अनुगमन गर्दै मन्त्री पौडेलले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुन नदिन प्रदेश ५ सरकारले कृषि ’कर्मी रोजगार कार्यक्रम‘ सञ्चालन गर्न लागेको बताउनुभयो । कृषकलाई कृषि व्यवसाय विस्तार गर्न प्रदेश सरकारले सहजीकरणसहितको ऋण लगानी गर्ने पनि मन्त्री पौडेलले बताउनुभयो । ऋण वापतको व्याज सरकारले नै तिर्दिने उल्लेख गर्दै उहाँले चक्लाबन्दी र सहकारी खेतीमा जोड दिन आग्रह गर्नुभयो ।

प्रदेश ५ सरकारले कृषिसँग सम्बन्धित योजना र कार्यक्रम कृषकको घरघरमा पु¥याउन ‘हरित स्वयमसेवक’ परिचालन गर्ने योजना पनि अघि सारेको उहाँले बताउनुभयो । बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले कृषि कर्ममा लाग्ने व्यक्तिलाई आत्मगौरवको महशुस गराउन नगरपालिकाले भूमि कर मिनाहा गरेको बताउनुभयो ।

नगरपालिकाले गतवर्षको तुलनामा यस वर्ष पाँच गुणा बढी बजेट कृषिमा विनियोजन गरेको बताउँदै उहाँले कृषि उत्पादनको बजारीकरणमा पर्याप्त बजेट विनियोजन गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गर्नुभयो । सहकारीका अध्यक्ष पूर्णप्रसाद तिमिल्सिनाले प्रदेश ५ मै सबैभन्दा धेरै दुग्ध संकलन गर्ने सहकारी भएको बताउँदै नेपालकै नमूना बनाउने प्रयासमा लागेको बताउनुभयो । हाल दैनिक दश हजार लिटर दुग्ध संकलन गरिरहेको बताउँदै उहाँले दैनिक ५० लिटर दुग्ध उत्पादन कृृषक यस सहकारीमा आवद्ध रहेको जानकारी दिनुभयो ।

यस्तै मन्त्री पौडेलले बर्दघाट–४ स्थित माकर बहुमुखी सहकारी संस्थाले निर्माण गरिरहेको कृषि हाटबजारको पनि अनुगमन गर्नुभयो । उक्त हाटबजारलाई व्यवस्थित बजार बनाउन प्रदेश सरकारले पूर्ण साथ दिने बताउँदै मन्त्री पौडेलले पूर्वपश्चिम राजमार्ग र प्रदेश ५ र गण्डकी प्रदेशको सीमा नाका पनि भएकोले यो बजारबाट स्थानीयले रोजगारी पाउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश ५ का पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुलसीराम भण्डारीले समृद्धि प्राप्तिका लागि सहकारीहरुले उत्पादनलाई जोडेर कृषकलाई आत्मनिर्भर बनाउने काम गर्न आग्रह गर्नुभयो ।

जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पति अधिकारीले स्थानीय रुपमा उत्पादन हुने तरकारी, फलफूल तथा दुग्धको बजारीकरणका लागि कृषि हाटबजार निर्माण गरिएको बताउनुभयो । यो ठाउँ उपयुक्त रहेको, जनशक्ति रहेको तथा पर्याप्त सम्भावना पनि रहेकोले यसको पूर्णताका लागि सहकारीले प्रदेश सरकारसँग ५५ लाखको प्रस्ताव पेश गरेकोले उक्त अनुदान प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । कृषि विशेषज्ञ चक्रपाणि पन्थीले कृषि हाटबजारमा कृषि उपज संकलनका लागि कोल्ड रुमको आवश्यकता रहेको र यसमा प्रदेश सरकारबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । सहकारीका अध्यक्ष शिवलाल कण्डेलको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

यस्तै मन्त्री पौडेल नेतृत्वको टोलीले आजै बर्दघाट–१०स्थित विशाल बहुउद्देश्यीय सहकारी संस्था र प्रदेश सरकारको संयुक्त लगानीमा शुरु गरिएको नविनतम सोच अन्र्तगतको तरकारी खेतीको पनि जानकारी लिएको थियो । सहकारीका अध्यक्ष विनोद खनालले सहकारी र प्रदेश सरकारको संयुक्त लगानीमा तरकारी उत्पादन र विक्री वितरण गर्ने नविनतम सोचका साथ उक्त कार्य शुरु गरिएको बताउनुभयो ।

दुई विघा ५ कठ्ठा जग्गामा उक्त कार्य शुरु गरिएको बताउँँदै अध्यक्ष खनालले टनेल पनि निर्माण गरिएको बताउनुभयो । सहकारीको प्रयास सफल भएपछि शेयर सदस्यलाई पनि तरकारी उत्पादनमा प्रेरित गर्ने र सहकारीले खरिद गर्ने लक्ष्य लिईएको उहाँले बताउनुभयो । मन्त्री पौडेलले सहकारीहरुले गरेको कार्य सफल र राम्रो रहेको भन्दै आफूलाई खुशी लागेको बताउनुभयो ।

मन्त्री पौडेलसँगै बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल, प्रदेश ५ का पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुलसीराम भण्डारी, प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारी, कृषि विशेषज्ञ चक्रपाणि पन्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.