प्रिय मित्र
तपाईंले व्यक्त गर्नुभएको धारणा, चिन्ता र आलोचनाप्रति धन्यवाद । लोकतान्त्रिक समाजमा विचार राख्ने अधिकार सबैलाई हुन्छ, त्यसैले तपाईंका प्रश्नहरूलाई म सम्मानका साथ लिन्छु ।
तर केही विषयमा मेरो धारणा स्पष्ट गर्नु आवश्यक ठानेको छु ।सबैभन्दा पहिले, पार्टी परिवर्तन गर्नु कुनै अपराध होइन, न त विचार परिवर्तन गर्नु अवसरवादको प्रमाण नै हो । राजनीति स्थिर पानी होइन, समय, परिस्थिति सॅगै बहाव बदलिन सक्छ । यदि कुनै व्यक्ति आफूले लामो समय विश्वास गरेको संगठनबाट अपेक्षित परिणाम नआएको निष्कर्षमा पुग्छ भने नयाँ विकल्प रोज्नु उसको लोकतान्त्रिक अधिकार हो ।
तपाईंले “हिजो प्रशंसा गर्ने, आज आलोचना गर्ने ?” भन्ने प्रश्न उठाउनुभएको छ । हो, हिजो मैले पार्टीको नीति, नेतृत्व र योगदानप्रति विश्वास गरेको थिएँ, त्यसैले खुलेर समर्थन पनि गरेको थिएँ । तर राजनीति अन्धभक्ति होइन ।आफ्नै परिवारमा मा त बैचारिक बिमती हुन सक्छ अझ दल त बिचारको समुद्र हो,समुद्रको छाल सधै एउटै दिशामा मात्रै सधै उर्लिदैन ।
म आज के भए भन्ने कुरा भन्दा पनि हिजो म कुनै जिम्मेवारीमा रहदा कहाँ नेर गलत गरे कहाँ नेर चुके मेरो आत्मसमिक्षाको विषयहो,तर मलाई विश्वास छ जहाँ जिम्मेवारी प्राप्त गरियो त्यहा ईमान्दारिता पूर्वक कर्तब्य निर्वाह गरे कुनै पश्चाताप गर्नु पर्ने छैन ,यो समयले मुल्यांकन गर्दै जाला ।
मेरा आलोचक हरु सर्वगुण सम्पन्न होउन मेरो शुभकामना छ ।जसरी तपाईहरुले अहिले ब्यक्तिगत आलोचना गर्नु भएको छ यस्तै आलोचना हिजो देखि नै पार्टीका नेतृत्वलाई गरेको भए सायद पार्टी आज यो अवस्था पनि आउने थिएन होला ।त्यसैले संगठनमा दोष एउटा ब्यक्तिको मात्रै हुदैन ।स्वस्थ आलोचना आवश्यक छ तर समयमै ।
जब व्यवहार, कार्यशैली र परिणामले अपेक्षा पूरा गर्न सकेनन्, तब आत्मसमीक्षा गर्नु गलत हुँदैन । गलत देखिएको कुरा गलत भन्न सक्ने साहस पनि राजनीतिक इमानदारीकै हिस्सा हो ।यहाँले मलाई गलत देखिरहदा तपाईलाई गलत देख्ने हरु पनि बर्गेल्ति छन । तपाईले गरेको जनसेवा अहिलेकाले गरेको जनसेवा बिच तपाईको बौद्धिकता पनि लजाएकै छ !मैले छाडे त यहाले राम्रो बनाए भैहाल्छनी अर्को कुरा म त्यहा हुदा पनि यहाको कहिलेपो सकारात्मक भाव थियो र म प्रति त्यसैले तपाईको यो चिन्तन मेरोलागि कुनै नौलो होईन ! जब रानोले नै घार भित्रकै आफ्नै माहुरीलाई दिनहुँ टोक्न थाल्यो भने दुई चार दिन संघर्ष गर्लान माहुरीले अन्ततः माहुरी घार छोड्न बाध्य हुन्छ ।
जीत–हारलाई लिएर पनि तपाईंले प्रश्न गर्नुभएको छ । म स्पष्ट भन्न चाहन्छु—चुनाव हार्दैमा मेरो राजनीतिक यात्रा समाप्त भएको छैन, र चुनाव हारेर मात्रै मैले निर्णय गरेको पनि होइन !यहाहरूको ग्याङले पार्टी भित्र र चुनावमा गरेको गतिबिधी का श्रृङ्खला को कारणले मलाई यो निर्णयमा पुग्न वाध्य बनाएको हो । पद, अवसर वा व्यक्तिगत स्वार्थका लागि मात्र राजनीति गरेको भए कठिन समयमा प्रश्न उठाउने वा फरक निर्णय गर्ने साहस सायद ममा हुने थिएन । राजनीति मेरो लागि केवल पद प्राप्तिको माध्यम होइन, समाज प्रतिको जिम्मेवारी पनि हो ।
तपाईंले उठाउनुभएका व्यक्तिगत आरोपहरू—जग्गा, सम्पत्ति, कोरोना काल वा सार्वजनिक सम्पत्तिसम्बन्धी विषय—यदि कसैसँग प्रमाण छन् भने कानुनी र तथ्यगत रूपमा परीक्षण हुनुपर्छ आरोप केवल आरोपकोलागि गरिनु हुदैन।तपाईका आरोप केवल तुष्टिकरणका माध्यम मात्र हुन ।लोकतन्त्रमा आरोप मात्र पर्याप्त हुँदैन, प्रमाण आवश्यक हुन्छ । म कुनै पनि सत्य छानबिनबाट भाग्ने पक्षमा छैन । तर राजनीतिक असहमतिको नाममा चरित्रहत्या गर्ने प्रवृत्ति स्वस्थ राजनीति होइन ।पद र प्रतिष्ठा स्थायी होईनन भन्ने कुरालाई ह्र्दय देखि आत्मसाथ गरेको छु ।सार्बजनिक पद धारण गर्नु नै अपराध गर्नु होईन ।मैले गल्ती गरेको दाबी गरिरहदा सहकर्मी भएका नाताले त्यसको हिस्सेदार तपाईं पनि होनि ।
तपाईंले भन्नुभएझैं देश कुनै एक पार्टीले मात्र बनाउने होइन । सुशासन, समृद्धि र जनताको जीवनस्तर सुधार सबैको साझा लक्ष्य हुनुपर्छ । म आज जुन निर्णयमा पुगेको छु, त्यो पनि यही विश्वासका आधारमा हो—देशलाई सही दिशा दिने प्रयास जहाँ देखिन्छ, त्यहाँ सहकार्य गर्नुपर्छ भन्ने सोचले म यो निर्णयमा पुगेको हु ।राजनीतिक कार्यकर्ता र बिचार परिवर्तनशिल हुदैन,परिवर्तन नै बेईमानी हो भन्ने मानसिकता नै बिचलित मानसिकताको उपज हो ।हो मैले अवसर नपाएको पनि होईन त्यसको पुर्ण जिम्मेवारी ममा छ ।तर अवसर कसैको ब्यक्तिगत बाहुबलिमा मात्रै प्राप्त भएको होइन मैले ४० बर्ष देखी,मेरो उर्जाशिल उमेर खर्चिएको त्यो समयको योगदान पनि हो ।मलाई के दिएन भन्ने प्रश्न जायज हो !तर मैले के योगदान गरिन ?भन्ने प्रश्न पनि मर्नु हुँदैन भन्ने लाग्छ ।धेरै साथीहरु सहकर्मीको साथ समर्थन बाटै मेरो पृष्ठभुमि तयार भएको कुरालाई नकार्न सकिन्न ।तर मेरो योगदान चाहिँ बिलिन र धुमिल बनाउने कुरा पनि स्विकार्न सकिन्न ।यो मेरो ब्यक्तिगत र राजनीतिक स्वतन्त्रताको अधिकार हो ।मेरो कदमले केहिलाई दु:ख लागेको हुन सक्छ,केहिलाई खुसी लागेको पनि हुन सक्छ यो पनि आ आफ्नै स्वतन्त्रता हुन यसको म सम्मान गर्दछु ।प्रश्नको जवाफ प्रतिपश्न हुन थाल्यो भने त्यहा जवाफ मर्छ र आन्तरिक लोकतान्त्रिक अभ्यास मर्न सक्छ ।मलाई आरोप प्रत्यारोप गर्ने आदरणीय मेरा मित्रहरूले आफै प्रती पनि आत्मालोचना गर्नुहोला शुभेच्छा छ ।यो समाजले आफुलाई कसरी मुल्यांकन गरेको छ भन्ने सोचेर मात्रै टिप्पणी गर्नु होला ।सधै अरुको मात्रै एकोहोरो मुल्यांकन गरिरहदा आफ्नो मुल्यांकन पनि कसैले गरेको हुन सक्छ भन्ने बुझ्न सक्नु पर्छ ।नयाँ राजनीतिक शक्तिप्रति जनताले आशा व्यक्त गरेका छन्, त्यो सकारात्मक कुरा हो । तर कुनै पनि दल वा नेतृत्वलाई आँखाचिम्लेर समर्थन वा विरोध गर्नु दुवै उचित हुँदैन । राम्रो कामको समर्थन र कमजोरीको खबरदारी लोकतन्त्रको आधार हो । त्यसैले मेरो भूमिका पनि यही हुनेछ—देश र जनताको हितमा जहाँ आवश्यक हुन्छ साथ दिने, र गलत देखिए प्रश्न उठाउने ।मलाई आचोलना गर्ने साथिहरुलाई मैले मार्ग प्रसस्त गरिदिएको छु यस्तै आलोचना पार्टीमा पनि गरेर पार्टी सुधार्नु होला ।मेरो शुभकामना छ ।भुई मान्छे र आम कार्यकर्ताको भावनालाई नबुझ्दा आज ती तमाम कार्यकर्ता,सुभेच्छुक परिवर्तन भए ।कहिलेकाही साँधको रुख ढाल्न खोज्दा आफ्नै घर पनि च्यापिन सक्छ ।
अन्त्यमा, तपाईंले राख्नुभएको धारणा व्यक्तिगत आक्रोश, राजनीतिक चिन्ता वा ब्यक्तिगत कुण्ठाको रूपमा लिउ दुबिधामा छु यसको निर्णय गर्ने अधिकार समाजलाईनै छोड्छु! विचार फरक हुन सक्छन्, तर उद्देश्य देश र समाजको भलो नै हो भन्ने विश्वास राख्दछु ।
आशा छ, हामी असहमतिको बीचमा पनि सभ्य संवाद कायम राख्न सक्षम हुनेछौं ।
धन्यवाद ।
@ धिरज शर्माकाे सामाजिक सञ्जालकाे वालबाट साभार
