बर्दघाट,जेष्ठ -६
आगामी बर्ष बर्दघाट नगरपालिकामा एक र एक धारा अभियान पुरा गर्ने नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभएको छ । हाल सम्म नगरभित्र ७५ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेकोमा बाँकी २५ प्रतिशत आगामी बर्ष पुरा हुने श्रेष्ठको भनाई छ ।
बर्दघाट नगरपालिकाले आयोजना गरेको सुर्तिजन्य पदार्थ नियमन नियन्त्रण एवम् सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले धारा जडान गर्न नसक्ने विपन्न परिवारले १० प्रतिशत, सम्बन्धीत खानेपानी संस्थाले २० प्रतिशत र नगरपालिकाले ७० प्रतिशत लागतमा धारा जडान गरिने बताउनुभयो ।
नगरपालिकाले बर्दघाट खानेपानी र बेलहानी खानेपानीलाई लक्षित गरी राखेको कार्यक्रममा खानेपानीको पहुँच, सुरक्षित खानेपानी र सुरक्षा योजनाको विषयमा सहजीकरण गरिएको थियो ।
बर्दघाट नगरपालिका भित्र सुर्तीजन्य पदार्थको नियमन नियन्त्रणको विषयमा पनि सहजीकरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकाश उपाद्यायले सुर्तीजन्य बस्तुको नियमन र नियन्त्रणको पाटो जटिल रहेको बताउनुभयो । उहाँले सेवन कर्ताले अन्तर आत्मा देखी बोध नगर्दा सम्म सुर्तीजन्य बस्तुको लत छुट्न नसक्ने उल्लेख गर्नुभयो ।
सरोकारबाला सबैको साथ र सहयोग भए नयाँ ढंगबाट काम गर्न सकिने बताउँदै उपाद्यायले सुर्तीजन्य बस्तुको नियमन र नियन्त्रणमा विद्यार्थी र बाल क्लवहरुलाई परिचालन गर्न सके प्रभावकारी हुने धारणा राख्नुभयो थियो ।
प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले खानेपानी संस्थाहरुले खानेपानीको पाटो मात्र नभई सरसफाईको क्षेत्रमा पनि सक्रियताका साथ काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणको क्षेत्रमा पनि खानेपानी संस्थाहरुको माध्यमबाट जाँदा थप प्रभावकारी हुने महसुस गरी कार्यक्रम आयोजना गरिएको बताउँदै पौडेलले सबैको सहकार्यबाट मात्र सकारात्मक परिणाम हासिल गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा नगरपालिकाको जन स्वास्थय निरिक्षक नगर वास सम्योजक रहेको कृष्णहरि पौडेलले सहजीकरण गर्नुभएको थियो ।
