बर्दघाट,चैत्र २७
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा फोहोर व्यवस्थापन समस्या झन् जटिल बन्दै गएको छ। नगरपालिकाले हाल अस्थायी रूपमा बर्दघाट ४ स्थित पारिजात वन क्षेत्र मा फोहोर व्यवस्थापन गर्दै आए पनि त्यसबाट दुर्गन्ध फैलिएको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्।
पूर्व–पश्चिम राजमार्ग देखि करिब एक किलोमिटर दूरीमा रहेको उक्त क्षेत्रमा फोहोर फालिँदा आसपासका बर्दघाट बजार क्षेत्रमा दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम समेत बढेको स्थानीयको भनाइ छ। बजार क्षेत्र नजिकै फोहोर व्यवस्थापन गर्दा जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको उनीहरूको गुनासो छ।
बर्दघाट बजार बिकास समितिका अध्यक्ष गोबिन्द पाद्य्याले बिगतदेखीनै सो क्षेत्रमा फोहोर फालिए पनि दीर्घकालीन समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर नभएको बताए ।
नगरपालिकाकाले दीर्घकालीन रुपमा समस्या समाधानको बिकल्प नदिए आईन्दा सो क्षेत्रमा फोहर फाल्न नदिने देविनगर टोल बिकास संस्थाका अध्यक्ष सन्तोष गुरुङले बताए ।नगरपालिकाको अन्यत्र स्थानबाट आउने फोहरलाई तत्कालका लागि रोकेर पहिला डम्पिङ साईडलाई ब्यवस्थापन गर्नु पर्ने उनले बताए ।
स्थानीयले दीर्घकालीन समाधानसहित व्यवस्थित डम्पिङ साइट निर्माण गर्न माग गरेका छन्। फोहर प्रशोधन केन्द्र निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आए पनि कार्यान्वयन नहुँदा समस्या ज्यूँका त्यूँ रहेको उनीहरूको आरोप छ।
यदि तत्काल दीर्घकालीन समाधान नगरेमा अब सो क्षेत्रमा फोहोर फाल्न नदिने चेतावनी समेत स्थानीयले दिएका छन्।
विशेष गरी नकुहिने प्लास्टिकजन्य फोहरलाई उचित ब्यवस्थापन गरिनु पर्ने उनिहरुको जोडदार माग छ ।अस्थायी रुपमा खाडल खनी फोहर ब्यवस्थापन हुँदै आएकोमा फोहरमाथी फोहर थुपार्ने गरिँदा खाडल भरिएर यत्रतत्र फोहरमैला असरल्ल बनेको आनन्द नगर टोल बिकास सस्थाका अध्यक्ष चित्र बहादुर बर्मा(कप्तान)ले बताए ।तत्कालका लागि उक्त स्थानको केही परको दुरिमा अर्को खाडल खन्नु पर्ने, फोहर थुपारिएको पुरानो खाडल पुर्नु पर्ने र लगत्तै दीर्घकालीन उपाय अवलम्बन गर्न उनिहरुको माग रहेको छ ।
यता बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले भने फोहर ब्यवस्थापनका लागि पारिजात बन क्षेत्रको ७ हेक्टर जमिनको भोगाधिकार हुने गरी प्रक्रिया अघि बढाई टेन्डर आह्वान गरिएपनी बन क्षेत्रका कारण अख्तियारमा उजुरी परेकाले योजना अघि बढ्न नसकेको उल्लेख गरे ।योजना कार्यान्वयनका लागि आई-ईई गरेपनी लुम्बिनी प्रदेशको बन मन्त्रालयले स्वीकृत नगरेको नगरप्रमुख श्रेष्ठको दावी छ ।
यद्यपि दीर्घकालीन समाधानका निम्ति जग्गाको भोगाधिकारको पहल भने भैरहेको उनले बताए ।प्रदेश बन मन्त्रालयबाट जमिन भोगाधिकारका लागि स्वीकृत भएपछि लगत्तै ठेक्का प्रक्रियामा जाने श्रेष्ठले बताए।अधिकाङ्स स्थानीय तहमा अहिले फोहर ब्यवस्थापन चुनौतीको बिषय बनेको छ ।
