कृष्ण ढकाल
बर्दघाट,चैत्र–१०
नेपालका नमुना खानेपानी संस्थाहरु मध्येको बहुचर्चीत संस्था बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्ना उपभोक्ताहरुलाई जनचेतना जागृत गर्नेकामलाई तिव्रता दिएको छ ।
आफ्ना वार्षिक कार्ययोजनासँगै सेवा क्षेत्र भित्रका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने देखि उनीहरुलाई सशक्तिकरण गर्ने कार्यमा समेत संस्था तल्लीन भएको छ ।
४ हजार २ सय २४ घरधुरीका उपभोक्ताहरुलाई २४ सै घण्टा स्वच्छ,शुद्ध र गुणस्तरीय खानेपानी प्राप्त मात्रामा वितरण गरेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अहिले आमा समुहलाई लक्षीत गरेर खानेपानी ,महिला सशक्तिकरण र सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
२०६८ सालदेखि खानेपानी सुरक्षा योजना लागू गर्दै आएको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मंगलवार खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा दिब्यशक्ति आमा समूह र सहनशिल आमा समुहका महिलाहरुलाई एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।
खानेपानी सुरक्षा योजना टोलीका संयोजक तथा संस्थाका उपाध्यक्ष कमल थापाको अध्यक्षता र संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष कमान सिंह थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले वनको संरक्षण विना खानेपानीका मुहान स्रोतहरु संरक्षण हुन नसक्ने भएकाले वनको संरक्षणमा सबै एकहुनु पर्ने धारण राख्नु भएको थियो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दिपक लम्सालले खानेपानी संस्था र उपभोक्ता सबै सहयात्री भएर लागेमा संस्थाले प्राप्त गरेको सफलताले निरन्तरता पाउने बताउनु भयो ।
संस्थाका सचिव शोभकान्त कोईराला ( शिव) को सञ्चालन र खानेपानी सुरक्षा योजना टोली सदस्य कल्पना खनालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका व्यवस्थापक विष्णु भुसालले संस्थाको वित्तीय तथा भौतिक प्रगतिबारे जानकारी गराउनु भएको थियो ।
१४ लाख ५० हजार रुपैयाँ मासिक आम्दानी र करिब १४ लाख रुपैयाँ खर्च रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो स्थापनाकालदेखि हालसम्म करिब १५ करोड रुपैयाँ बराबरको पानी बिक्री गरेको तथ्याङ्क समेत सार्वजनिक गर्नु भएको थियो ।,
सोही कार्यक्रममा खानेपानी सुरक्षा योजना टोली सदस्य राजकुमार चौधरीले पानीजन्य रोगका बारेमा र बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)ले महिला सशक्तिकरणका वारेमा सहजीकरण गर्नु भएको थियो ।
संस्थाले शुरु गरेको आमा समुहका महिलाहरु लक्षीत एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम अन्र्तगत मंगलवार १० औं टोलिलाई खानेपानी र महिला सशक्तिकरणका वारेमा सचेतना जागृत गरेको संस्थाका सचिव सचिव शोभकान्त कोईराला ( शिव) ले जानकारी दिनु भयो । कार्यक्रममा दिब्यशक्ति आमा समूहकी अध्यक्ष पवित्रा पोख्ररेल, सहनशिल आमा समुहकी अध्यक्ष सीता पाण्डे लगाएतले आ–आफ्ना अनुभवहरु प्रस्तुत गर्नु भएको थियो ।
