Bardaghat Na pa

माघ १० गते देखि सरावलमा औद्योगिक व्यापार मेला सञ्चालन हुने

609

कृष्ण ढकाल
सरावल,मंसीर–१०
पश्चिम नवलपरासीको सरावल उद्योग बाणिज्य संघले यहि माघ १० गते देखि प्रथम कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला २०८१ सञ्चालन गर्ने भएको छ । आज पत्रकार सम्मेलनको आयोजनागरी मेला सञ्चालनका वारेमा आयोजकले जानकारी गराएको थियो ।
सरावल गाउँपालिका वडा नं। १, बासाबसही चोक नजिकै रहेको खाली जग्गामा माघ १० गतेदेखि २१ गतेसम्म औद्योगिक व्यापार मेला सञ्चालन गर्ने तयारीका साथ अघिबढेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष शुसान्त शर्मा धिमिरेले जानकारी गराउनु भएको थियो ।
कृषि, पर्यटन, खेलकुद तथा पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार” भन्ने मुख्य नाराका साथ आयोजना गरीएको उक्त मेलाले सरावल भित्रका स्थानिय उत्पादनहरूको बजारीकरण र भाषा, कला तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको अध्यक्ष घिमिरेले बताउनु भएको थियो । करिब १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलामा करिब ६ करोड रुपैयाँको आर्थिक कारोवार हुने र मेलाको व्यवस्थापनका लागि करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र मेलाबाट आएको आम्दानीको ५५ स्थानीय क्षेत्रको पर्यटन विकासमा लगानी गरिने अध्यक्ष घिमिरेले जानकारी गराउनु भएको थियो ।

१ सय स्टल रहने उक्त मेलामा अटोमोबाइल्स, बहुराष्ट्रिय कम्पनीका जुत्ता चप्पल, बैंक तथा बीमा कम्पनीहरू, महिला उद्यमीका उत्पादनहरू, र घरेलु उत्पादनहरूका स्टलहरु समावेश हुने उद्योग बाणिज्य संघका सचिब एब स्टल संयोजक देवराज राय थारुले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।

सोही अवसरमा बोल्दै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै ऐतिहासिक स्थलहरूको पहिचान र सरावलको सांस्कृतिक धरोहरको जगेर्नामा सहयोग पुग्ने उल्लेख गर्नु भएको थियो ।

मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शन, “मम्मी डान्स” प्रतियोगिता, टोल विकास संस्थाहरूबीच खेलकुद प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, बाल उद्यान र झुलाहरू राखिने आयोजकले जनाएको छ । मेलामा प्रवेशका लागि ८० रुपैयाँ टिकट राखिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ र ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूस् निःशुल्क प्रवेशको ब्यवस्था मिलाउने संघले जनाएको छ ।