बर्दघाट,माघ २८
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम फागुन ११ र १२ गते बुटवलमा सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी स्कुल विभाग,पार्टी स्थानीय विभाग तथा निर्वाचन विभाग केन्द्रको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
स्थानीय तह निर्वाचनलाई लक्ष्यित गरि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा प्रदेश इन्चार्ज , सह(ईन्चार्ज हरु, संघिय तथा प्रदेश सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, स्थानीय तहका प्रमुखहरु, स्थानीय पालिका कमिटीका अध्यक्षहरुको सहभागीता रहनेछ ।
नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज छविलाल विश्वकर्माको आतिथ्यतामा भएको प्रदेश कमिटीको पदाधिकारी वैठकले उक्त निर्णय गरेको कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले बताए । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते घोषणा गरे लगतै एमालेले निर्वाचन लक्ष्यित कार्यक्रम गर्न लागेको हो ।
