नवलपरासी,भदाै–१५
भाेटेकाेशीकाे विनाशकारी बाढीका कारण बगेर नवलपरासी स्थित नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका शव र मानवअङ्गहरु सुनवल नगरपालिका वडा नं. ४ स्थित मूलपानी सामुदायिक वनमा शवहरूकाे व्यवस्थापन गरी गाड्ने काम सुरु गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार फेला परेका शवहरूलाई गाड्ने काम सुरु गरिएको हाे।
नारायणी नदी आसपासका क्षेत्रबाट पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याईएको छ भने केही शवहरु रुपन्देहीको भिम अस्पताल लगायत अन्य अस्पतालमा पठाईएकाे प्रहरीले जनाएकाे छ । अस्पतालमा शवको पहिचान, तथ्याङ्क संकलन तथा पोष्टमार्टम (शवपरीक्षण) सम्पन्न गरिसकेपछि मात्रै अन्तिम व्यवस्थापनका लागि पठाइने गरेको प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताउनु भयाे ।
यता परिचय खुल्न नसेका शवहरुको डिएनए परीक्षण गरेर मात्र शव व्यवस्थापनका लागि पठाइँदै गरिएको पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डाक्टर बृज यादवले जानकारी दिनुभयाे । जिल्ला अस्पतालमा १९ वटा अङ र एक शरीर गरी २० जनाको डिएन परीक्षण गरी व्यवस्थापनका लागि पठाइएको यादवको भनाई छ ।
नारायणी नदीको अझै पनि थप शव वा अङ्गहरू किनारमा भेटिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। तीनवटै सुरक्षा निकायका नेपाली सेनाका १०४ जना , सशस्त्र प्रहरी बलका ८५ जना, र नेपाल प्रहरीका ८० जना गरी कूल २६९ जना सुरक्षाकर्मीहरू खोज, उद्धार तथा शव संकलनमा खटिएका छन्। हाल सम्म बगेर भारत तर्फ गएका ४ वटा शव र अङ्गभङ्ग भएका शव सहित १५५ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिनु भएकाे छ ।
सुरक्षा निकायहरूले नदी किनारका जोखिमयुक्त र पहुँचयोग्य दुवै क्षेत्रमा पैदल तथा डुङ्गामार्फत निरन्तर गस्ती गरिरहेका छन्। फेला परेका शवहरूलाई तत्काल अस्पताल पुर्याउने र स्वास्थ्य क्षेत्र तथा स्थानीय तहसँगको समन्वयमा व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताईएको छ । हाल सम्म एक जनाको मात्रै सनाखद भएको प्रहरीले जनाएको छ ।
