कृष्ण ढकाल
बर्दघाट,साउन–९
साप्ताहिक हाटबजार ब्यवसायी संघ नवलपरासीको आयोजना र नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा नवलपरसाीको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बर्दघाट–४ मा रहेको शुक्रवारे हाटबजारसंगै रहेको वडा नं. ४ को वडास्वास्थ्य कार्यालयमा भएको रक्तदान कार्यक्रममा ४ जना महिला र २६ जना पुरुषगरी ३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
सोही अवसरमा साप्ताहिक हाटबजार ब्यवसायी संघ नवलपरासीका अध्यक्ष सागर विकले संघको तर्फवाट चौपत्तामा शुरुहुन लागेको डायलसि सेवा सञ्चालनका लागि १७ हजार ८ सय १५ रुपैया सहयोग रकमको चेक नगरप्रमुख मार्फत हस्तान्त्रण गर्नु भएको थियो ।
साप्ताहिक हाटबजार ब्यवसायी संघ नवलपरासीका अध्यक्ष सागर वि.क. (शिशिर) को अध्यक्षता , बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता र कृष्ण काफ्लेको सञ्चालनमा भएको रक्तदान कार्यक्रमको शुभारम्भ कार्यक्रममा बर्दघाट नगरका जनप्रतिनिधिहरु र बिभिन्न सामाजिक संघ–संस्थाका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले साप्ताहिक हाटबजार ब्यवसायी संघ नवलपरासीले रक्तदान कार्यक्रमको आयोजना गरेर मानव सेवाका लागि पुन्यको काम गरेको बताउनु भयो । उहाँले शहिद स्मृति सामुदायिक अस्पतालमा शुरु गर्न लागिएको डायलसि सेवाका लागि रगतको अतिनै आवश्यक पर्ने भएकाले अब छिट्टै शहिद स्मृति सामुदायिक अस्पतालमा ब्लड बैंक स्थापना गर्ने तयारीमा नगरपालिका लागेको समेत बताउनु भएको थियो ।