Bardaghat Na pa

सुनवलमा कोदालो प्रहारबाट आफ्नै बुबा र छिमेकीको हत्या

555

सुनवल,जेष्ठ २३

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं २ अवरैयामा आज बिहान करिब १०:३० बजे एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन्। घटनामा संलग्न २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जय राम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालोले प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीका अनुसार, हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेका थिए।

घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा ७ जनाको टोली र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी उपरीक्षक अनुपम श्रेष्ठको कमाण्डमा २९ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले सम्भावित भाग्ने मार्गहरूमा नाकाबन्दी गरी हेमराज थारुलाई नियन्त्रणमा लिएको छ।

हत्या गर्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलको अनुसन्धान जारी रहेको र हेमराज थारुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयवासीहरू घटनाबाट स्तब्ध भएका छन्। प्रहरीले घटनास्थलको सुरक्षासहित थप अनुसन्धान कार्य अघि बढाएको छ।