Sarawal sit lahar Notis

बर्दघाट नगर सरकारको सय दिनको उपलब्धि ? (पुर्ण पाठ सहित )

चिसापानी अस्पताल र ट्रमा सेन्टरका लागि कोसीस जारी ।

0 224

कृष्ण ढकाल

बर्दघाट,भदौं–१५

पश्चिम नवलपरासीको बर्दघाट नगर सरकारले आफ्नो कार्य सम्पादनको सय दिनका उपलब्धिहरु आज एक कार्यक्रमका विच सार्वजनीकिकरण गरेको छ ।

आज नगरपालिकामा पत्रकारहरुलाई आमन्त्रण गरेर स्थानिय सरकारको सय दिनका उपलब्धिका वारेमा जानकारी गराईएको थियो । जनप्रतिनिधिहरु निर्वाचीत भएर बर्दघाट नगरपालिका प्रवेश गरेसंगै करिव ९१ करोडको निति तथा कार्यक्रम सहितको वार्षीक नगर विकास योजना लिईएर अघि बढेको नगर प्रमुख शम्भुलाल श्रेष्ठ नेतृत्वको टिमले आज आफ्नो सय दिनको उपलब्धिका वारेमा जानकारी गराएको हो ।

बजेट निमार्ण तथा योजना तर्जुमा ,राजश्व प्रसाशन सुदृढीकरण,न्याय सम्पादन तथा कानुन निमार्ण देखि स्वास्थ्य,शिक्षा,कृषि र पशुपंक्षी ब्यवसायको क्षेत्रमा समेत सरोकारवालाहरुसंगको सहकार्यमा  काम भैरहेको नगर प्रमुख श्रेष्ठले जानकारी गारउनु भएको थियो ।

त्यसैगरी सहकारी,घरेलु तथा साना उद्योग,भूमि,श्रम,सडक,सरसफाई,विपत ब्यवस्थापन,छाडा चौपाया ब्यवस्थापन,बिद्युतीकरण ,समावेसी विकास र सुसाशनको पक्षमा गम्भीर भएर आफुहरु लागी परेको नगर प्रमुख श्रेष्ठले कार्यक्रम मार्फत जानकारी गराउनु भएको थियो ।

सोहीक्रममा पत्रकारहरुले चिसापानी अस्पताल,ट्रमा सेन्टर ,खजुरी खोलाको पुल, घण्टाघर,भ्यूटावर लगाएत अहिले सम्म नगरले बनाएका नियम कानुनहरु आदिका वारेमा जिज्ञाषा राखेका थिए ।

पत्रकारहरुले राखेका जिज्ञासामा नगर प्रमुख श्रेष्ठले चिसापानी अस्पतालको जग्गा प्राप्तीका लागि सरोकारवालाहरुसंगको समन्वय जारी रहेको बताउनु भएको थियो भने संघिय बजेटमा नै हराएको बर्दघाटको ट्रमा सेन्टरको विनियोजित रकम मन्त्रालय पुगेर नै खोजीगरी पुनः बर्दघाटमा ल्याउन सफल भएको जानकारी गराउनु भएको थियो ।

विनियोजित बजेटमा ३३ करोड नै रहेको तर नवलपरासीको बर्दघाट भन्ने ठाँउ किटान नभएकाले बजेट हराएको  बताउदै अहिले ४ करोड खर्च आदेश समेत लिएर आएको जानकारी गराउनु भएको थियो।

त्यसैगरी खजुरी खोलाको पुल ९ करोड १५ लाखमा टेन्डर भएर हेटौडाको कम्पनीलाई परेको तर मन्त्रालयमा फाईल हराएकाले केहि ढिला भएको बताउनु भएको थियो । त्यस्तै यसअघि शुरु गरीएका घण्टाघर र भ्यूटावर जस्ता आयोजनाहरु उपलब्धिबिहिन भएकाले बजेट विनियोजन गरीएको नगर प्रमुख श्रेष्ठले बताउनु भएको थियो ।

स्थानिय सरकारको सय दिनको उपलब्धि यस्तो छ । (पुर्ण पाठ )

 

स्थानीय निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिज्यूहरुको नेतृत्वमा बर्दघाट नगरपालिकाले सय दिनमा सम्पादन गरेका मुख्य मुख्य कामहरु

पृष्ठभूमि :

  • स्थानीय सरकारका १०० दिनको प्रगति समिक्षा कार्यक्रममा उपस्थित उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, सम्पूर्ण कर्मचारी एवं संचारकर्मि मित्रहरु सबैमा जय नेपाल ।
  • मिति २०७९।०१।३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित भई मिति ०७९।२।६ गते बर्दघाट नगरपालिकामा पदवहाली भएश्चात १०० दिनको अवधीमा सम्पादन भएका मुख्य मुख्य कामहरुको संक्षिप्त प्रस्तुति गर्न गईरहेको छौ ।
  • बैशाख ३० गते स्थानीय तहको निर्वाचन २०७९ मा मेरो नेतृत्वको टिमलाई विजयी गराई नगरपालिकाको भाग्य र भविष्य कोर्ने जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण नगरवासी आमा, बुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछौ।
  • राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै  आएको ऐतिहासिक जनआन्दोलन, ससस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै, शहिदहरु तथा वेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्न चाहान्छौ ।
  • लुम्बिनी प्रदेशको पूर्वी प्रवेशद्धार, दाउन्ने पहाडको काखमा अवस्थित, पवित्र तिर्थस्थल त्रिवेणी दिव्यधामको प्रवेश विन्दु, दाउन्नेदेवी, कैलाशकोटी, कन्चनगढी, बुद्वमंगल ताल, संसारकोट गढी, बनदेवी जस्ता पर्यटकीय गन्तव्यले भरिपूर्ण भएको पहाडी, चुरेक्षेत्र र तराईको समथर भूमिमा फैलिएको यस नगरपालिकाको आर्थिक सामाजिक रुपान्तरण भएको अनुभव गर्ने उत्कृष्ट चाहनालाई गहिरोसँग आत्मसात गर्दै शान्त, समृद्ध र सुन्दर नगर निर्माण गर्ने अभिप्रयाले प्राथमिकता निर्धारण गरी कार्य आरम्भ गरेको व्यहोरा जानकारी गराउँदछौ ।

बजेट निर्माण तथा योजना तर्जुमा

  • छोटो समयको अवधिमा स्थानीय सरकारको नीति तथा कार्यक्रम र करिब ९१ करोडको बजेट सहितको वार्षिक नगर विकास योजना तर्जुमा गर्ने कार्य सम्पन्न गरिएको छ । भूगोल, जनसङ्ख्या, आन्तरिक आयमा योगदान र विकासको अवस्था लगायतका सूचकहरुको आधारमा वडागत बजेट सिलिङ्ग निर्धारण गरी सहभागितामूलक पद्वतिका आधारमा योजना तर्जुमा गरिएको ।वडागत बजेटको सिलिङ्ग गत वर्ष रु ७ करोड १६ लाख भएकोमा यस वर्ष वृद्वि गरी १० करोड पुर्याइएको छ ।

राजस्व परामर्श समिति र राजस्व प्रशासन सुदृढीकरण :

  • आन्तरिक श्रोतको परिचालनका लागि सबै हाटवजार, पाडा बजार, विज्ञापन कर र कवाडी करको आय ठेक्का सम्झौता गरिएको छ । राजस्व प्रशासनमा सुधार गर्ने सिलसिलामा करका दरहरु यथावत राखी करको दायरा फराकिलो बनाइएको छ । विगत लामो समयदेखि करको दायरामा नआएका व्यावसायीहरुलाई विभिन्न उपकरणहरु प्रयोग गरी करको दायरामा ल्याउने कामको थालनी गरिएको छ ।
  • नगरपालिका क्षेत्र भित्र सञ्चालित ई रिक्सा र टेम्पोहरुको नगरपालिकामा दर्ता गर्ने प्रणालीको विकास गरिएको छ । यो अवधिमा १०२ वटा दर्ता भएका छन् । राजस्व परामर्श समितिको वैठक ४ पटक बसि राजस्व प्रशासन सुदृणिकरण सम्बन्धि निर्णयहरु गरिएको छ ।
  • मिति २०७९।६।१ गते सरोकारवालाहरुसँग समन्वय गरी सार्वजनिक कार्यक्रम मार्फत कर सहभागिता तथा व्यवसाय दर्ता अभियान २०७९ घोषणा निर्णय गरिएको छ । उक्त अवसरमा नियमित रुपमा कर तिर्ने करदातालाई सम्मान गर्ने निर्णय भई असोज १ गते कर सहभागिता अभियान घोषणा हुन गई रहेको छ ।
  • असोज १ बाट सबै वडा कार्यालयहरुले कर सहभागिता तथा व्यवसाय दर्ता अभियान२०७९ संचालन गर्ने निर्णय भएको छ ।
  • नगरपालिकाको संचित कोषबाट तलब भत्ता बुझ्ने सबै जनप्रतिनिधिज्यू, शिक्षक, स्वास्थ्यकर्मि, स्वयसेविका र कर्मचारीहरुले कानून अनुसार स्थानीय सरकारलाई बुझाउनु पर्ने सबै प्रकारका कर, शुल्क व्यवसाय गरेको भए व्यवसाय कर समेत असोज १५ सम्म बुझाई सक्नुपर्ने व्यवस्था गरिएको छ ।
  • नगरपालिकाबाट विभिन्न अनुदान प्राप्त गर्ने सबै संघ संस्थाका पदाधिकारीहरु (खानेपानी उपभोक्ता समिति, सामुदायिक बन, युवा क्लव, आमा समूह, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, बजार व्यवस्थापन समितिहरु, सामुदायिक विद्यालय व्यवस्थापनका पदाधिकारी, सामुदायिक क्याम्पस संचालनका पदाधिकारीले पनि आफूले नगरपालिकालाई कानून अनुसार तिर्नु पर्ने सबै प्रकृतिको कर तथा गैर कर शुल्क बुझाई त्यसको जानकारी आफू आवद्व संस्थामा उपलब्ध गराउनु पर्ने निर्णय भई असोज असोज १९ गतेबाट कार्यान्वयनमा जादै छ।

स्थानीय न्याय सम्पादन र कानून निर्माण

  • नेपालको संवैधानिक प्रावधान बमोजिम न्यायिक समिति गठन भई हालसम्म दर्ता हुन आएका २३ वटा उजुरी मध्ये १४ वटा फछ्यौट गरिएको छ । यसैगरी साना र समुदायस्तरका विवादहरु वडा कार्यालयबाट नै सम्पादन गर्ने प्रणालीको विकास गरिएको छ ।
  • मेलमिलापकर्ताहरुको सूचीकरण, मेलमिलाप सम्बन्धि तालिम प्रदान लगायतका कार्यहरु कार्यपालिकाबाट निर्णय भई संचालनको प्रक्रियामा रहेका छन् ।
  • यस अवधिमा कूल १० वटा नीति, ऐन, नियम र कार्यविधि निर्माण गरिएको छ ।

शिक्षा :

  • बर्दघाट नगरपालिका भित्रको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि स्थानीय तहमा पहिलो पटक “बर्दघाट प्रज्ञा प्रतिष्ठानको गठन गरि डा घनश्याम न्यौपाने “परिश्रमि”लाई कुलपति नियुक्ति गरिएको छ ।
  • नगरपालिका भित्रको शैक्षिक सूचना, विद्यालयगत शिक्षक कर्मचारीहरुको विवरण, शिक्षा क्षेत्रका असल अभ्यासहरु, विद्यालय क्षेत्र विकासका कार्यक्रमहरु लगायत सम्पूर्ण शैक्षिक गतिविधि झल्कने ऐतिहासिक शैक्षिक दस्तावेजको रुपमा रहेको बर्दघाट शैक्षिक दर्पण २०७९ प्रकाशन गरी वितरण गरिएको छ।
  • शैक्षिक सत्र २०७८ मा आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षाको नतिजा विश्लेषण तथा उपलब्धि अभिवृद्धि योजना निर्माण कार्यक्रम सम्पन्न गरिएको छ ।
  • शैक्षिक सत्र २०७८ मा आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षामा सहभागी विद्यार्थीहरुले प्राप्त गरेको बास्तविक प्राप्ताङ्कका आधारमा A+, A, B+, B, C+, C, D, N ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुको विद्यालयगत रुपमा सङ्ख्यात्मक विवरण तयार गरी सम्पूर्ण सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, र मुख्य ५ विषय शिक्षण गर्ने शिक्षकहरु र संस्थागत विद्यालयको प्रधानाध्यापकहरुलाई सहभागी गराइ नतिजाको प्रस्तुतिकण तथा नतिजा कमजोर आउनुका कारणहरु र सुधारका लागि सरोकारवालहरुको भुमिकाको लागि समुहगत रुपमा छलफल गरी आगामी शैक्षिक सत्रको नतिजा सुधारका लागि कार्ययोजन निर्माण कार्य गरिएको छ ।
  • नगरपालिका भित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७९ मा विद्यालय सञ्चालन हुने दिन, विद्यालयमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप, शिक्षा युवा तथा खेलकुद शाखाले गर्ने नियमित क्रियाकलपहरु, शिक्षकले त्रैमासिक रुपमा अध्यापन गर्ने विषयगत रुपमा विधागत क्षेत्र निर्धारण लगायत शिक्षा सम्बन्धी महत्वपूर्ण जानकारी सहितको शैक्षिक क्यालेण्डर २०७९ निर्माण गरी सम्पूर्ण सामुदायिक विद्यालय तथा शिक्षकहरुलाई वितरण गरिएको छ ।
  • शैक्षिक शत्र २०७८ मा कक्षा ५ मा उत्तीर्ण भइ सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुको उपलब्धि मापनका लागि प्रश्रपत्र निर्माण गरी कक्षा ६ सञ्चालित सामुदायिक विद्यालयमा सम्बन्धित विद्यालय भन्दा बाहिरको निरीक्षक नियुक्त गरी परीक्षा सञ्चालन गर्न शिक्षा शाखामा विषय शिक्षकहरुलाई आमन्त्रण गरी  उत्तरपुस्तिका परीक्षण गर्ने पद्वति बसालिएको छ।
  • शैक्षिक सत्र २०७८।७९ मा कक्षा ११ मा अध्ययन गर्ने सामुदायिक विद्यालयबाट एसइइ परीक्षा उत्तीर्ण गरेका नगर भित्रका १६ वटा वडाबाट सिफारिस १ जना छात्रा र १ जना छात्र गरी जम्मा ३२ जना गरिब तथा  जेहन्दार विद्यार्थीहरुलाई रु १०००० का दरले रु ३२०००० छात्रवृत्ति रकम वितरण गरिएको छ ।
  • नगर भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयका १ जना शिक्षकका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
  • नगर भित्रका सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत ४३३ विद्यार्थीका लागि वृत्ति मार्ग दर्शन सम्बन्धी तलिम विद्यालय मार्फत सञ्चालन गरिएको छ ।
  • नेपाल सरकारद्वारा देशभरिका विद्यालयहरुको शैक्षिक, भौतिक लगायतको सम्पूर्ण विवरण रहने आई ई एम आई एस (IEMIS) लाई अध्यावधिक गर्न र अपलोड गर्न प्राविधिक सहयोंग गरी सम्पूर्ण विद्यालयहरुको समयमै कार्य सम्पन्न गरिएको छ ।
  • सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग बैठक बसि विद्यालयबाट शैक्षिक सुधारका लागि गरिएका प्रयासहरु लगायत विभिन्न विषयमा निरन्तर छलफल तथा अन्तरक्रिया गरिएको छ ।
  • विद्यालयको अनुगमन अवलोकन र शैक्षिक तथा भौतिक कार्यमा पृष्ठपोषण अन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मुख्यमन्त्री शैक्षिक सुधार आयोजना अन्तर्गतका कार्यक्रम कार्यान्वयनको अवस्थाको अनुगमन,  सामुदायिक विद्यालयको कक्षा अवलोकन, शिक्षकसँग अन्तरक्रिया र पृष्ठपोषण दिने कार्य सम्पन्न भएको छ । त्यसैगरी वृत्ति मार्ग दर्शनसम्बन्धी तलिम सञ्चालन भएका विद्यालयको अनुगमन तथा तलिमको अवलोकन गरिएको छ।
  • दाउन्ने देवी बहुमुखी क्याम्पस र दिव्य ज्योती बहुमुखी क्याम्पसमा उच्च शिक्षामा अध्ययन गर्ने अति विपन्न परिवारका विद्यार्थीहरुलाई सम्बन्धित क्याम्पसको सिफारिसका आधारमा छात्रवृति रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

स्वास्थ्य क्षेत्र :

  • बर्दघाट नगरपालिकामा ५० बेडको ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारबाट बजेट स्वीकृत भई निर्माणको प्रक्रिया अगाडि बढेको छ।
  • ट्रमा सेन्टर निर्माणका लागि आवश्यक पर्ने जग्गा र चिसापानी अस्पताललाई स्तरोउन्नती गरी सुविधा सम्पन्न अस्पतालको रुपमा संचालन गर्दा आवश्यक पर्ने जमिनको प्राप्तिका लागि राष्ट्रिय आवास कम्पनीसँग आवश्यक समन्वय र सहजिकरण गर्न नगर प्रमुखको संयोजकत्वमा समिति निर्माण भई कार्य प्रारम्भ भएको छ ।
  • चिसापानी अस्पतालबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने जनशक्ति (दुई जना सुरक्षा गार्ड सहित स्वास्थ्यकर्मि) को व्यवस्था, औषधी उपकरण (जस्तै अल्ट्रा साउण्ड मेशिन र डिजिटल एक्सरे मेशिन खरिदको प्रक्रिया थालनी भएको) को प्रवन्ध गरिएको छ । उक्त अस्पतालको न्यूतम सेवा मापदण्डको स्तर निर्धारणको कार्य सम्पन्न भएको छ । अस्पतालको भौतिक पूर्वाधार (प्रतिक्षालय र चमेना गृह) निर्माणको कार्य प्रारम्भ भएको छ ।
  • शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ताको सेवाको स्तरोउन्नतीका लागि न्यूनतम सेवा मापदण्डको निर्धारण परीक्षणको प्रक्रिया अगाडि बढाईएको छ भने उक्त अस्पतालको संस्थागत विकासका लागि विनियोजित बजेट कार्यान्वय प्रक्रियामा गएको छ । उक्त अस्पताले पुर्याउने सेवालाई थप प्रभावकारि बनाउनको लागि नगरपालिकाद्वारा दुईजना स्वास्थ्यकर्मिहरुको व्यवस्था गरिएको छ ।
  • स्वास्थ्य व्यवस्थापन प्रणालीका लागि आवश्यक पर्ने फारम छपाई गरी स्वास्थ्य संस्थाहरुमा पुर्याई जिल्लाका अरु स्थानीय तहले भन्दा अगाडि नै कार्य सम्पादन गरिएको छ ।
  • २ वर्षमुनिका सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाईएको सुनिश्चित गरी “उक्त समूहको पूर्णखोप सम्पन्न भएको नगरपालिका” घोषणा गरिएको छ ।
  • नगरपालिका भित्रका स्वास्थ्य चौकीमा रहेका प्रयोगशालाबाट आधारभूत परिक्षण जस्तै सिबिसी, टाइफाईड, सुगर, जण्डिस, दिशा पिसाब आदिको निशुल्क परीक्षण कार्यको व्यवस्था गरिएको छ ।
  • पञ्चनगर स्वास्थ्य संस्थालाई जिल्लामा नै पहिलो पोषण मैत्री स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिएको छ ।
  • वर्दघाट नगरपालिकालाई १८ वर्ष माथिका जनसङ्ख्यामा १००% कोभिड -१९ विरुद्धको खोप पुरा गरी ०७९ असार ‍२२ गते कोभिड-१९ पुर्ण खोपयुक्त नगरपालिका घोषणा गरियो

 सिमसार क्षेत्रको विकास

  • आन्तरिक पर्यटन प्रवर्धन र बन्यजन्तु संरक्षणका लागि बाउन्न घोला सीमसार क्षेत्रको विकासका लागि नीतिगत स्पष्टताका साथ कार्यप्रारम्भ गरिएको छ ।

पर्यटन प्रवर्धन

  • धार्मिक पर्यटन प्रवर्धनका लागि वडा नं १२ अवस्थित बुद्व मंगल ताललाई बुद्वसर्किटसँग जोड्नका आवश्यक तयारी गरिएको छ ।
  • वडा न ५, ९, १२ र १६ लाई पर्यटन विकास र स्वरोजगर सृजनामा जोड दिँदै नमूना उन्मुख वडा घोषणा गरी थप बजेटको व्यवस्था सहित कार्य प्रारम्भ गरिएको छ ।

कृषि तथा पशुपालन तर्फ :

  • आर्थिक वर्ष २०७९।८० को बजेट निर्माणको प्रक्रियामा नै किसानका मागहरु सम्बोधनका लागि किसानहरुसँग छलफल गरी बजेट निर्माण गरिएको छ ।
  • कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्धनका लागि किसानसँग नगरपालिका भन्ने कार्यक्रम आयोजना गरी किसानहरुबाटै समस्याको उठान गरी समाधान गर्ने प्रणालीको विकास गरिएको छ ।
  • बर्दघाट १३ मझौनीमा कृषि सेवा केन्द्र स्थापना गरी सेवा प्रवाहको सुरुवात गरिएको छ भने वडा नं १४ मा रहेको भवनलाई मर्मत सम्भार गरी पशु सेवा केन्द्र संचालनको तयारी भएको छ ।
  • साना किसानलाई ६ वटा हाते ट्याक्टर, २ वटा रिपर, २ वटा मिनि टिलर, चार लाख रुपैया बराबरको ५४ वटा मल्चिङ्ग प्लाष्टिक, पाँच लाख रुपैया बराबरको कम्पोष्ट विनहरु वितरण गरिएको छ । कृषिकर्मलाई सहज बनाउन १०० थान बहुउपयोगी कृषि यन्त्र (ठेलागाढा) वितरण गरिएको छ । कृषि समूह, कृषि फार्म, कृषि सहकारीलाई विभिन्न बान्ड्रका जैविक विषादीहरु (सुनामी ३५० पाकेट, बोल्ट ७०० पाकेट, वायोमचान ४०० पाकेट) वितरण गरिएको छ।
  • त्यसैगरी ५ वटा समूह र १० वटा व्यवायिक फर्म १ वटा बचत तथा ऋण सहकारी संस्था दर्ता गरिएको छ । १० वटा कृषि सिँचाई मिटरको सिफारिस गरिएको छ ।
  • सुनौला हजार दिनका ८० जना आमाहरुलाई जैविक विषादी बनाउने र प्राङ्कगारिक तरिकाले खेती गर्ने तालिम, तरकारीको बीउ र सानो साइजको स्प्रे ट्याङ्कि वितरण गरिएको छ ।त्यसैगरी २४० जना सुनौला हजार दिनका आमाहरुलाई १२००।- ग्रामीण गिरीराज जातको कुखुराको चल्ला उपलब्ध गराइएको छ ।
  • दुई वर्ष भन्दा कम उमेरका बालबालिकाका आमा र गर्भवति महिलाहरुका लागि पोषण कार्यक्रम अन्तर्गत २५ जनालाई जनही २५ हजारका दरले वाख्रा पालन कार्यक्रम संचालनका लागि रकम वितरण गरिएको छ ।
  • वडा नं.मा २ मा रहेको बाख्रा पकेट क्षेत्रमा तीनवटा समूह गठन गरी ७५ जनालाई तालिम र स्थानीय बाख्राहरुमा नश्ल सुधारका लागि तीन वटा वोयर जातको बोका उपलब्ध गराईएको छ ।
  • नश्ल सुधारका लागि ७५० वटा गाई भैसीमा कृत्रिम गर्भाधन सेवा प्रदान, ३१४ वटा विरामी पशुहरुलाई उपचार तथा प्राविधिक सेवा, कृषकको घर गोठमा पुगी १०,०००। गाई, भैसी, बाख्रा र बंगुरहरुलाई निशुल्क खोप लगाइएको छ ।
  • पशु आधार व्यवस्थापनका लागि किसानहरुलाई २० थान दाना बनाउने र छाटी काट्ने मेशिन उपलब्ध गराइएको छ ।
  • वडा नं. १४ शान्ति टोलमा डिपबोरिङ निर्माणको शिलन्यास गरि निर्माण कार्य अगाडि बढाइएको छ । त्यसैगरी साना सिंचाई कार्यक्रम तर्फ २४ वटा स्यालो ट्यूवेल, ११ वटा पानी तान्ने मटर र ११ वटा पम्सेट उपलब्ध गराइएको छ ।

सहकारी क्षेत्र

  • आर्थिक वर्ष २०७९।८० को बजेट निर्माणको प्रक्रियामा सहकारी क्षेत्रका सुझावहरु ग्रहण गर्नका लागि सहकारी क्षेत्रसँग छलफल गरी बजेट निर्माण गरिएको छ ।
  • नगरपालिकको समग्र विकासमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिकालाई आत्मसात गरी सहकारी क्षेत्र मार्फत वित्तीय साक्षरता, कृषि उपजको बजारीकरण, साना साना प्रकृतिका लगानीको प्रवर्धनका लागि सहकार्य गर्ने निर्णय भएको छ ।

घरेलु तथा साना उद्योग र लघु उद्यम विकास :  

  • लुम्विनी प्रदेश सरकारबाट जारी आर्थिक ऐन, २०७९ को दफा १२ को व्यवस्था बमोजिम यस नगरपालिकाको क्षेत्राधिकार भित्र रहेका आ. व. २०७६।०७७ सम्मको वार्षिक विवरण नवुझाएका तथा नवीकरण नगरेका प्रचलित कानुन बमोजिम दर्ता भएका प्राइभेट तथा साझेदारी फर्मले सम्वत २०७९ साल पुष मसान्तभित्र विवरण बुझाउँदा जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकम दाखिला गरेमा बाँकी जरिवाना तथा शुल्क मिनाहा हुने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याईएको छ ।
  • “आर्थिक समृद्विको आधार लघु उद्यम मार्फत रोजगार” भन्ने नाराका साथ सुरु भएको गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम (मेड्पा) लाई लक्षित वर्गमा पुर्याउनका लागि उद्यम विकास समिति गठन गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिएको छ ।

भूमि प्रशासन :

  • भूमि सम्बन्धी समस्या समाधान आयोग र राष्ट्रिय भूमि आयोगले प्रकाशित गरेको सूचना वमेजिम बर्दघाट नगरपालिका भित्र बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले पेश गर्नुभएका निवेदन फारामहरुलाई कम्प्युटर प्रणालीमा प्रबिष्टि गर्ने कार्यको शुरुवात गरिएको छ ।
  • नगरपालिका भित्रका विभिन्न स्थानहरुमा कन्ट्रोल प्वाइन्ट स्थापना गर्ने गृह कार्य अगाडि बढाईएको छ ।
  • भूउपयोग ऐन बमोजिम स्थानीय भूउपयोग परिषद गठन गरिएको छ ।
  • वडा नं ९ पंचनगरमा विगत लामो समयदेखि बसोबास गर्दै आइरहेका नागरिकहरुलाई राष्ट्रिय आवास कम्पनी लि द्वारा निकट भविष्यमा जग्गा धनी प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाईएको छ ।

श्रम तथा रोजगार

  • वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया दुवई लगायत खाडी मुलुकमा मृत्यु भएका नागरिकका परिवारहरुलाई रोजगारदाता मुलुकबाट प्राप्त हुने क्षतिपूर्ति वापतको रकम, वीमा रकम आर्थिक सहायता लगायतका सुविधाहरु मृतकका आफन्तलाई उपलब्ध गराउनको लागि वैदेशिक रोजगार वोर्ड लगायतका निकायहरुसँग समन्वय गरी समाधन गर्ने गरिएको छ ।
  • दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको दोश्रो चरण अन्तर्गत विल्डिङ्ग इलेक्ट्रिसियन विषयमा २० जनाका लागि कार्यगत अभ्यास सहितको १० महिने सिटिईभिटी तह दुई को तालिम संचालन लागि सूचना प्रकाशित भईसकेको छ ।
  • वैदेसिक रोजगारीमा जान चाहने युवाहरुलाई सूचना, सीपमूलक तालिम र न्यायको पहुँच बढाउनका लागि संचालित सुरक्षित आप्रवासन परियोजना (सामि) गैर सरकारी संस्था मार्फत संचालन हुँदै आइरहेकोमा यस आर्थिक वर्षदेखि नगरपालिका आफैले संचालन गर्ने प्रवन्ध मिलाइएको छ ।

सडक यातायात  र सडक सुरक्षा : 

  • पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बुटवल नारायण सडक विस्तार आयोजनासँग बर्दघाट नगरपालिका सडक खण्डमा रहेका खाल्डा खुल्डि पुर्न र धुलो उड्ने समस्या समाधानका लागि आवश्यक समन्वय गरिएको छ ।
  • नगरपालिका क्षेत्र भित्र सडक दुर्घटना न्यूनीकरण गर्न एवं नगरको सुरक्षा व्यवस्था चुस्त बनाउनको लागि टिसिएन चोकमा उच्च प्रविधियुक्त क्यामेरा र नगरका अन्य विभिन्न स्थानहरुमा सिसि क्यामरा जडानको लागि बजेट विनियोजन भई प्रक्रिया सुरु गरिएको छ ।

नगर सरसफाई, हरियाली प्रवर्धन र फोहोरमैला व्यवस्थापन :

  • वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा शहरी सौन्दर्यकीकरणको लागि सबै वडामा धुपी कागती अमला डाले घांस बेल लगायतका करिब १० हजार विरुवा वितरण गरिएको छ ।
  • नगरपालिका क्षेत्रबाट निस्कने फोहोरमैलालाई स्रोतमा नै वर्गिकरण गर्नको लागि सरोकारवालाहरुसँग समन्वय गरी टोलटोलमा माइकिङ्ग, रेडियो तथा टेलिभिजनबाट प्रचार प्रसार, जिङ्गल निर्माण, टोल विकास संस्थाहरुसँग छलफल लगायतका कार्यक्रम संचालन गर्ने विषयमा मिति २०७९।५।१३ गते निर्णय भई कार्यान्वयनको प्रक्रियामा रहेको छ ।
  • फोहोर संकलन तथा व्यवस्थापनको जिम्मेवारी प्राप्त गरेको बजार व्यवस्थापन समितिलाई अर्को निर्णय नभएसम्मको लागि फोहोर व्यवस्थापन ऐन, २०६८ बमोजिम अनुमति प्रदान गर्ने निर्णय भएको छ ।
  • वडा नं १० मा अवस्थित श्री हरियाली सामुदायिक वनमा सरसफाई र वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
  • नगरपालिका क्षेत्र भित्र क्रियाशील बजार व्यवस्थापन समितिद्वारा अस्थायी रुपमा व्यवस्थापन गरिदै आएको फोहोरमैलालाई नगर क्षेत्र भित्रको उपयुक्त स्थानमा ल्याण्डफिल्ड साइड निर्माण गरी दीर्घकालिन रुपमा समस्या समाधान गर्ने गृहकार्य अगाडि बढेको छ ।

विपत व्यवस्थापन  

  • बाढी तथा डुवानको कारणबाट हुने सम्भावित धनजनको क्षतीलाई न्यूनीकरणका लागि वडा नं ४ भित्रका खोला र घोला सफाई गरिएको छ ।
  • खजुरा खोलाबाट निस्कने नदीजन्य पदार्थको अति दोहनलाई रोक्न र वर्षायामा हुन सक्ने क्षतिलाई न्यून गर्नको लागि खोलाको ठेक्का लगाउने चलनलाई बन्द गरी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्कनको लागि नगर प्रहरीद्वारा नियमित गस्ति र जनपद प्रहरीको निगरानीलाई बढाईएको छ ।
  • नगरपालिकाको दमकलाई सदा झै २४ घण्टा स्टाण्ड वाई राखिएको छ । दमकल संचालनमा खटिने कर्मचारीहरुको १० लाखसम्मको सामूहिक दुर्घटना विमा गरिएको छ
  • स्थानीय सरकारका नगर प्रहरीको लागि पोशाकमा एकरुपता कायम होस भन्नका लागि यस नगरपालिकामा कार्यरत प्रहरीहरुको लागि नयाँ पोशाक (ड्रेसकोड) प्रस्ताव गरिएको छ

समावेशी विकास

  • पहिलो कार्यपालिका बैठकबाट १० वर्षे जनयुद्वको क्रममा तत्कालिन विद्रोही पक्ष र सरकार पक्षबाट मृत्यु भएका शहिद परिवारलाई मासिक रु २००० उपलब्ध गराउने निर्णय भएसंगै १० जनाको निवेदन प्राप्त भएको छ ।
  • यो अवधिमा २२ जनालाई अपाङ्गता परिचयपत्र, १२ जनालाई जेष्ठ नागरिक परिचयपत्र, ३० जना सञ्चारकर्मीलाई ३ दिने क्षमता विकास तालिम, ३० जना युवाहरुलाई ३ दिने उद्‌घोषण तालिम,  ६० जना स्थानीय बासिन्दाहरुलाई ३ दिने अचार बनाउने सीप तालिम प्रदान गरिएको छ ।

सामाजिक सुरक्षा पञ्जीकरण तथा घटना दर्ता :

  • सामाजिक सुरक्षा कार्यक्रमसँग सम्वद्व स्थानीय नागरिकका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने गरिएको छ ।
  • सामाजिक सुरक्षा र पञ्जीकरण तथा घटनादर्तालाई डिजिटाइजेशन गर्ने काम पूरा भएको छ ।

छाडा चौपाय व्यवस्थापन 

  • नगरपालिका भित्रका छाडा चौपायलाई व्यवस्थापन गर्नका लागि बर्दघाट नगरपालिका र राष्ट्रिय गौं संरक्षण तथा अनुसन्धान केन्द्र, बर्दघाट-४ बीच छाडा चौपाय व्यवस्थापन सम्वन्धि द्विपक्षीय सम्झौता गरी छाडा चौपाय व्यवस्थापनको कामलाई प्राथमिकतामा राखिएको छ ।

विद्युतीकरण कार्यक्रम :

  • विद्युत सेवा नपुगेका वडा नं २ का पहाडी क्षेत्रका ७८ घरमा वैकल्पिक सोलार प्रविधि मार्फत विजुली वत्ति वाल्ने व्यवस्था मिलाइएको छ ।
  • नगरपालिका भित्रका विभिन्न स्थानमा संघीय सरकारको सहयोगमा फरक फरक क्षमताका ७ वटा विद्युत ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्तिलाई नियमित बनाइएको छ ।
  • सडक विस्तारका क्रममा पूर्व जडित विद्युत पोल प्रतिस्थापन भई नयाँ जडान गर्दा करिब छ लाख बराबरको लगानी गरिएको छ ।

सुशासन र सेवा प्रवाह व्यवस्थापन :

  • वडा कार्यालयको संस्थागत विकासलाई उच्च प्राथमिकता दिई गत वर्ष भन्दा बढी बजेट विनियोजन सहित आवश्यक स्रोत साधनले सम्पन्न बनाइएको छ ।
  • वडा सचिव र जनप्रतिनिधहरुसँग नियमित संवाद अन्तरक्रिया गर्ने र नागरिकका आवाजलाई तत्कालै सम्बोधनका लागि उच्च प्राथमिकता दिइ निरन्तर कार्य सम्पादन भएको छ ।
  • नागरिक वडापत्र तयार भई प्रकाशनको लागि पठाईएको छ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम र सामि परियोजना अन्तर्गतका कर्मचारी भर्ना प्रक्रिया चलिरहेको छ
  • विषयगत समितिहरु, लेखा समिति, न्यायिक समिति, राजश्व परामर्श समिति लगायतका समितिहरु गठन भएका छन् । विषयगत समितिको सक्रियता बढाई नगरका महत्वपूर्ण नीति,  योजना, कार्यक्रमहरु विषयगत समितिमा छलफल गरी अगाडि बढाउने परम्पराको थालनी गरिएको छ । यस अवधिमा १० वटा नगरकार्यपालिका वैठक सम्पन्न भएका छन् ।
  • सरोकारवालाहरुको व्यापक सहभागितामा आ.व. ०७८।०७९ को वार्षिक समिक्षा गोष्ठी र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।

आर्थिक प्रशासन

  • नगरपालिकाको भुक्तानी प्रक्रियालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्धेश्यले Electronic Fund Transfer (EFT) प्रणालीलाई कार्वान्वयनमा ल्याइएको छ  ।
  • नियमानुसार कर्मचारीलाई उपलब्ध गराईने इन्धन, यातायात र मर्मतसम्भार खर्च लगायतका सुविधालाई सम्बन्धित कर्मचारीहरुको बैक खातामा उपलब्ध गराउने प्रवन्ध मिलाईएको छ.
  • कर सहभागिता अभियानलाई हामीबाट सुरुवात गर्नको लागि नगरपालिकाको संचित कोषबाट तलब भत्ता लगायतका सुविधा बुझ्ने जनप्रतिनिधि, शिक्षक, महिला स्वमंसेविका, स्वास्थ्यकर्मि र कर्मचारीहरुले आफूले तिर्नु बुझाउनु पर्ने कर शुल्क बुझाउने र सुविधा प्राप्त गर्ने प्रवन्ध मिलाईएको छ ।

सहकार्य र समन्वय :

  • संघीयताको मूल मर्म र धर्म ठाडो र तेश्रो समन्वय हो । यसका लागि हामी संघीय सरकार र प्रदेश सरकारसँग तत तत सरकारका निकायहरुसँग निरन्तर समन्वय र संवादमा छौ ।
  • हाम्रो नगरभित्र रहेका विकासका साझेदार संघ, संस्था र समुदायसँगको समन्वयलाई पनि उत्तिकै महत्व दिई औपचारिक तथा अनौपचारिक छलफल, अन्तरक्रिया, संवाद चलाई रहेका छौ ।
  • यसै सिलसिलामा कृषक समूहहरु, बजार विकास समितिहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लगायत सरोकारवालाहरुसँग निरन्तर छलफल र समन्वयकारी वैठकहरु सम्पन्न भएका छन् ।

आदरणीय महानुभावहरु 

  • सुशासन, विकास र समृद्विको आकांक्षा पूरा गर्न एक सय दिनको अवधि पर्याप्त होइन । तथापी यो अवधिलाई हामीले अत्यन्त महत्वका साथ ग्रहण गरेर नतिजामुखी कार्यसम्पादन लागि जुटेका छौ ।
  • यो अवधिमा सुशासन विकास र समृद्विका केहि आशा लाग्दा कामहरुको सुरुवात गरिएको छ । हामीले सुरु गरेका कतिपय कामहरु संरचनात्मक जटिलताले गर्दा नतिजा दिन सकिरहेका छैनन् । तथापी हामी नागरिकले अनुभव गर्नसक्ने गरी नतिजा दिनका लागि क्रियाशील छौ ।
  • रणनैतिक हिसावले महत्वपूर्ण स्थानमा अवस्थित हाम्रो नगरपालिकालाई सुशासन विकास र समृद्विका दृष्टिकोणले नमूना बनाउन प्रतिवद्व छौ ।
  • वैचारिक हिसावले हामी फरक फरक राजनैतिक विधारधाराका भएपनि नगरको समृद्विको सवालमा हामी सबै एकैठाउँमा छौ र हाम्रो एउटै चाहना नै नगरको चौतर्फि विकास हो भन्ने हाम्रो ठम्याई छ ।
  • समृद्विको यो अनवरत यात्रामा सदा झै यहाँहरुबाट सहयोग, सद्‌भाव, रचनात्मक सुझाव र सल्लाह प्रदान गर्नु हुनेछ भन्ने विश्वास लिएका छौ ।
  • सम्पूर्ण नगरबासी, संचारजगत र सरोकारवालाहरुबाट प्राप्त रचनात्मक सुझाव र सल्लाहलाई सधैं आत्मसाथ गर्नेछौं ।
  • अन्तमा, हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुप्रति पुनः हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रम यही समापन भएको जानकारी गराउँदछु ।

धन्यवाद !

शम्भुलाल श्रेष्ठ

नगर प्रमुख

बर्दघाट नगरपालिका

नगरकार्यपालिकाको कार्यालय

नवलपरासी, लुम्बिनी प्रदेश, नेपाल

२०७९।०५।१५

 

Leave A Reply

Your email address will not be published.