sunwal

बाढीपीडितको लागि दाउन्नेदेवी महिला सहकारीद्वारा एक लाख एक हजार पाँच रुपैयाँ सहयोग

419

कृष्ण ढकाल
बर्दघाट, भदौ–१९

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा महिलाहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको दाउन्नेदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ। संस्थाले बाढी प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक लाख एक हजार पाँच रुपैयाँ सहयोग गरेको हो।

नेपाल सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि देशभरका नागरिक, संघ–संस्था तथा विभिन्न निकायलाई सहयोग गर्न आह्वान गरेपछि सहकारी संस्थाले पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने निर्णय गरेको संस्थाकी अध्यक्ष देवी पौडेलले जानकारी दिनुभयो।

संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार ५ जम्मा गरेको संस्थाकी अध्यक्ष पौडेलले बताउनु भयो। विपद्को समयमा पीडित नागरिकलाई राहत उपलब्ध गराउन राज्यसँगै सामाजिक संघ–संस्था र समुदायको पनि महत्वपूर्ण भूमिका हुने भएकाले संस्थाको तर्फबाट सहयोग गरिएको उहाँकाे भनाइ थियाे।

महिलाहरूको सक्रिय सहभागितामा सञ्चालन हुँदै आएको दाउन्नेदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कारोबारसँगै ,बिभिन्न प्रकारका ब्याग तथा झोलाहरु उत्पादन र बिक्रि वितरण गर्ने देखि सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा समेत काम गर्दै आएको छ।