Jilla Ban Notis

नवलपरासीका होटल ब्यबसायीहरुको ६ करोड बढी ब्यक्तिगत उधारो

0 23

नवलपरासी कार्तिक ७

लामो समय कोरोना कहरका कारण थलिएको होटल ब्यबसाय क्षेत्र पछिल्ला केहि महिना यता विस्तारै लयमा फर्किने क्रममा छ । कोरोना कहरका कारण जारी लकडाउनकै कारण कतिपय ब्यबसायीहरुले ब्यबसायबाट सदाका लागि हात धुनुपरेको छ भने कतिपयले जेन तेन ब्यबसायलाई निरन्तरता दिने प्रयत्न गरिरहेका छन् ।

पश्चिम नवलपरासीका होटल ब्यबसायीहरु पनि विस्तारै केही राहातको सास फेर्दै छन् । जिल्लामा झण्डै ६ सयको हाराहारीमा साना ठुला होटल तथा रेष्टुरेन्ट संचालनमा रहेको होटल तथा रेष्टुरेन्ट संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको आँकलन रहेको छ । जस मध्ये ३ सय ८० वटा होटल तथा रेष्टुरेन्ट संघमा आबद्ध रहेका छन् भने २ सय २० को हाराहारीमा रहेका होटल तथा रेष्टुरेन्ट संघमा आबद्ध भएका र्छैनन् ।

कोरोना कहरका कारण जति असर परेको छ त्यसको कयौं गुना बढि उधारोको मारमा होटल तथा रेष्टुरेन्टहरु परेको संघका जिल्ला अध्यक्ष ध्रुव भण्डारीले बताए । संघमा आवद्ध ३ सय ८० होटल तथा रेष्टुरेन्ट मध्येबाट हाल सम्म ६ करोड भन्दा बढी उधारो रकम उठ्न बाँकी रहेको पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराईएको छ ।

बर्दघाटमा होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमले पत्रकार सम्मेलन आयोजना गरी आफुहरु कोरोनाका कारण भन्दा बढि उधारोका कारण पिडित भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष ध्रुव भण्डारीले होटल तथा रेष्टुरेन्ट ब्यबसाय पहिला सेवा दिने र पछि भुक्तानी लिने ब्यबसाय भएका कारण कतिपय ब्यक्तिहरु पहिला खाने र पछि पैसा नतिर्ने गरेका कारण जिल्ला भरका होटल ब्यबसायीको पाउनुपर्ने उधारो रकम जोड्दा ६ करोड भन्दा बढि पुगेको बताए । भण्डारीले यो रकम विगत ५ बर्ष देखीको भएको समेत बताए । उनले ब्यबसायीहरुले राज्यलाई कर बुझाउने गरेको तर ब्यबसायीक सुरक्षाका लागि राज्यको तर्फबाट ठोस पहल हुन नसकेको दुखेसो समेत पोखे ।

होटल तथा रेष्टुरेन्ट ब्यबसायीसंघको पहिलो प्राथमिकता उधारो रकम उठाउनका लागि पहल गर्ने रहेको संघका जिल्ला सह सचिव जितेन्द्र श्रेष्ठले बताए । पहिलो चरणमा उधारो बाँकी रहेका ब्यक्तिहरुलाई यथासिघ्र भुक्तानी गर्नका लागि आग्रह गरिने र भुक्तानी गर्न अटेरी गर्ने ब्यक्तिहरुको नाम ठेगाना जिल्ला संघ मार्फत सार्वजनिक गरिने श्रेष्ठको भनाई छ । आवश्यक परे प्रशासनको समन्वयमा अगाडि बढिने उनले बताए ।

हाल सम्म उधारो रहेको रकम ब्यक्तिगत रुपमा मात्र रहेको र संघ संस्था र सरकारी निकायको भने त्यस्तो कुनै उधारो नरहेको जिल्ला संघले जनाएको छ । उधारोकै कारण झण्डै २० देखी २५ जना ब्यबसायी होटल तथा रेष्टुरेन्ट ब्यबसाय क्षेत्रबाट पलायन भएको संघले जनाएको छ ।

जिल्लामा ७ वटा पालिकामा सबैभन्दा बढि होटल ब्यबसाय बर्दघाट नगरपालिकामा रहेको छ । बर्दघाट नगरपालिकामा १ सय १२, सुनवल नगरपालिकामा ७१, रामग्राम नगरपालिकामा ५१, सरावल गाउँपालिकामा २३, पाल्हीनन्दन गाउँपालिकामा ३९, सुस्तामा ५४ र प्रतापपुर गाउँपालिकामा ३० संघमा आवद्ध रहेका छन् ।

भैरहवामा अन्तराष्ट्रिय विमानस्थल संचालनको लागि अन्तिम तयारी भैरहँदा त्यसलाई मध्यनजर गरेर पश्चिम नवलपरासीमा पनि ठुलो लगानीका सुविधा सम्पन्न होटलहरु निर्माण हुन थालेका छन् । जिल्लामा होटल ब्यबसायमा जति लगानी भैरहेको छ त्यस अनुसार ब्यबसायीहरु भने सन्तुष्ट हुन सकेका छैनन् ।

Leave A Reply

Your email address will not be published.