Jilla Ban Notis

सुस्ता गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न,शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकता

0 58

श्याम बुचा

सुस्ता १० असार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले निति तथा कार्यक्रम र बजेट पारित गर्नका लागि ११ औं गाउँ सभा बिहीवार पालिकाको सभा हलमा सम्पन्न गरेको छ ।

गाउँपालिकाको ११ औं गाउँ सभामा गाउँपालिका का अध्यक्ष एवं गाउँ सभाका सभाअध्यक्ष टेक नारायण उपाध्यायले आर्थिक बर्ष ०७९/०८० का लागि शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकता राख्दै निति तथा कार्यक्रम गाउँसभामा पेश गर्नु भएको छ ।

“समृद्ध सुस्ता गाउँपालिका,खुशी सुस्ताबासी : हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई सार्थक तुल्याउन सुस्ताले रोजगारीको सृजना गर्ने,गरिबी न्यूनीकरण गर्ने,कृषि उत्पादनमा वृद्धि गर्ने र कृषिमा व्यवसायीकरण गर्ने,श्रोत साधनको न्यायोचित वितरण गर्ने,सामाजिक क्षेत्रमा परिवर्तन ल्याउने,पुर्वाधार विकास र औद्योगिकरण मार्फत गाउँपालिकालाई आत्मनिर्भरतर्फ उन्मुख गराउने,गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने,वातावरणीय संरक्षण तथा बिपद जोखिम न्यूनीकरण गर्ने उद्देश्यको साथ पालिका अध्यक्ष उपाध्यायले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

पालिका अध्यक्ष उपाध्यायले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रम अन्तर्गत आर्थिक बिकास तर्फ सुस्ता गाउँपालिका क्षेत्र भित्रको कृषि योग्य जमिनको पहिचान गरि नमुना व्यवसायीक खेतीको रूपमा “एक गाउँ एक उत्पादन” कार्यक्रम आरम्भ गरिने,बाख्रा पकेट तथा तरकारी पकेट कार्यक्रमबाट बढी भन्दा बढी कृषकहरुलाई सहभागी गराई उत्पादन वृद्धि गर्ने निति लिएको,दुधमा पालिकालाई आत्मनिर्भर बनाउने र कृषकको साथी प्राबिधिक कार्यक्रमलाई निरन्तरता दिइने निति तथा कार्यक्रममा उल्लेख छ ।

पुर्वाधार तथा भौतिक बिकास तर्फ गाउँपालिका भित्र रहेका कच्ची सडकलाई पिसिसी,आरसिसी र कालोपत्रे गरि सडक स्तरोन्नति गरिने,पालिकाको गौरव आयोजनाको रूपमा रहेको अध्यक्ष नमुना सडक निर्माणलाई आगामी आ ब भित्रै सम्पन्न गरिने,पालिकालाई उज्यालो सुस्ता अभियान अन्तर्गत सडक बत्ति जडान,पालिकालाई बालमैत्री,महिला मैत्री,अपाङ्ग मैत्री र वातावरण मैत्री निर्माण गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सामाजिक बिकास तर्फ महिला हिंसा मुक्त पालिका अन्तर्गत “छोरी सुनौलो भबिस्य योजना”बिधालय स्वास्थ्य कार्यक्रम,जेष्ठ नागरिकसंग स्वास्थकर्मी,पालिकालाई महिला मैत्री बनाउने अभियान अन्तर्गत कार्यालयमा स्तनपान कक्ष निर्माण,सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा निशुल्क,महिला स्वास्थ्य स्वयंम सेविकालाई प्रोत्साहन भत्ता,पालिकालाई आर्सेनिक मुक्त पालिका बनाउन पहल गरिने,सामुदायिक बिधालयको शैक्षिक गुणस्तर सुधारका लागि बालबिकास कक्षा देखी कक्षा १ सम्म अग्रेजी माध्यमबाट पठनपाठनको सुरुवात गरिने,एक वडा एक खेल मैदानको निर्माण,फोहोरमैला व्यवस्थापन,सुस्ता १ र ५ मा ल्याब सेवा सुरु गरिने,सुत्केरी महिलासंग उपाध्यक्ष कोसेली कार्यक्रम निति तथा कार्यक्रममा उल्लेख छ ।

वन,वातावरण तथा बिपद व्यवस्थापन तर्फ पालिकाको बिपद व्यवस्थापन कोषको रकमलाई वृद्धि गरिने,सार्वजनिक जग्गाको संरक्षण तथा हरियाली सुस्ता कार्यक्रम लागू गरिने,सडक,नाला,सार्वजनिक र खुल्ला स्थानमा फ़ोहोर फाल्नेलाई कारबाही गरिने,नदिजन्य सामग्री आपूर्तिलाई सहज बनाउन रायपुरा खोलामा ड्याम निर्माण गरि नदिजन्य पर्दाथ संरक्षण तथा संकलन गर्ने कार्य गरिने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.