Jilla Ban Notis

सीमामा अलपत्र नेपालीलाई सुरक्षित भित्राउन माग

0 17

मोहन पौडेल
परासी, ३० वैशाख

भारतीय सीमा क्षेत्रमा अलपत्र नेपालीलाई सुरक्षित तरिकाले नेपाल भित्राउन नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का राजनीतिक दलहरुले माग गरेका छन् । स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाईनमा राख्ने गरी नेपाल ल्याउनुपर्ने उनीहरुको भनाई छ । भारतमा लकडाउन खुकुलो भएसँगै लकडाउनका कारण खान बस्न समस्या भएपछि रोजगारीका लागि भारत भएका नेपालीहरु फर्किने क्रम बढेको छ । अहिले पनि जिल्लाको नेपाल–भारत सीमा नाकाको दशगजा क्षेत्रमा करिब १०० नेपालीहरु अलपत्र अवस्थामा छन् । सीमासम्म आएका नेपाली नागरिक लुकिछिपी घर जाँदा सङ्क्रमणको उच्च जोखिम हुने भएकोले सुरक्षित तरिकाले उनीहरुको व्यवस्थापनका लागि सरकारले तत्काल उचित निर्णय लिनुपर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले बताउनुभयो । “यो तत्काल व्यवस्थापन गर्न सकिएन भने सङ्क्रमण भयावह अवस्थामा पुग्छ, भारतले रोकावट नगर्दा नेपालीहरु आउने क्रम बढ्दो देखिएको छ, उनीहरु दशगजाको खुला आकासमुनि दिनरात बिताउनुपरेको अवस्था देखियो, उनीहरुलाई स्वदेश भित्राउन सरकारको दायित्व हो”, उहाँले भन्नुभयो । जिल्लाका राजनीतिक दलहरुले सोमबार नेपाल–भारत सीमा क्षेत्र र जिल्लाका क्वारेन्टाईनहरुको स्थलगत अनुगमन गरेका थिए । अनुगमनको त्रममा धेरै नेपालीहरु दशगजामा आएर अलपत्र परेको देखेपछि राजनीतिक दलहरुले उनीहरुलाई सुरक्षित तरिकाले भित्राएर क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन माग गरेका हुन् । कोरोना नियन्त्रणको सन्दर्भमा नेपाल–भारतबीच आ–आफ्नो देशमा रहेका दुवै देशका नागरिकलाई सोही ठाउँमै व्यवस्थापन गर्ने सहमति रहेपनि अहिले भारतबाट उक्त सहमतिको उल्लङ्घन भएकोले सरकारले यस विषयमा तत्कालै ठोस निर्णय लिनुपर्ने नेपाली काङ्ग्रेसका जिल्ला सहसभापति सुबास चन्द्र गिरीले बताउनुभयो ।उहाँले भन्नुभयो, “समयमै उनीहरुलाई सुरक्षित तरिकाले स्वदेश ल्याउने व्यवस्था नमिलाए कोरोना सङ्क्रमण महामारीको रुपमा फैलिने सम्भावना छ, भारतीय सुरक्षाकर्मीहरुले उनीहरुलाई रोकेका छैनन्, नेपाली सुरक्षाकर्मीले प्रवेश गर्न नदिएको अवस्था छ, उनीहरु फर्केर कहाँ जाने, सरकार यस विषयमा गम्भीर हुन आवश्यक छ”नेपालीहरु स्वदेश फर्कने सङ्ख्या अब बढ्दै जाने देखिएकोले क्वारेन्टाईनको सङ्ख्या थप गर्ने र महामारीको रुप लिनु भन्दा पहिले नै स्थानीय तहहरुले पूर्व तयारीलाई व्यापक बनाउनुपर्ने जनता समाजवादी पार्टीका नेता धरेन्द्र यादवको सुझाव छ । जिल्लाको भुजहवा, झुलनीपुर, बलिनगर लगायतका नाकामा भारतको गुजरात, अहमतावाद लगायतका स्थानबाट आएका नेपालीहरु अलपत्र अवस्थामा रहेका छन् । उनीहरुले आफूहरु क्वारेन्टाईनमा बस्न तयार रहेको तर स्वदेश फर्कने वातावरण बनाईदिन राजनीतिक दलसँग माग गरेका थिए ।
बुधबार जिल्लाका राजनीतिक दल, स्थानीय सरकार, जिल्ला प्रशासन तथा सुरक्षाकर्मीको सर्वदलिय बैठक बसेर यस विषयमा आवश्यक छलफल गरी सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउने तयारी भएको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले बताउनुभयो । पश्चिम नवलपरासीमा २८ किलोमिटर भारतसँग जोडिएको छ ।
यसैबीच जिल्ला समन्वय समिति नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले जिल्लाको भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुख तथा वडाध्यक्षहरुलाई आवश्यक सतर्कता र पूर्वतयारीमा जुट्न आग्रह गरेको छ । आफ्नो स्थानीय तहबाट भारतमा रोजगारीका लागि गएका नेपालीहरुको तथ्याङ्क सङ्कलन गरी आवश्यकता अनुसार क्वारेन्टाइनको सङ्ख्या बढाउन आग्रह गरिएको जिसस प्रमुख रायले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.