Jilla Ban Notis

सरसफाईंको ईतिहासमा तिलोत्तमा नगरपालिकाले गर्यो नयाँ कामको सुरुवात् ः मन्त्री भुसाल ।

तिलोत्तमा नगरपालिका पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगर घोषणा ।

0 34
वि.पि. गौतम
तिलोत्तमा, फागुन ३०
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो  शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्यपोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गर्नुभएको हो ।  जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला पोलिथिन शुन्य अवस्था र पूर्णसरसफाईका सूचकहरु पूरा गरेसँगै तिलोत्तमालाई खुला पोलिथिन शुन्य र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र घोषणा कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेलाई प्रदान गरिएको हो । यसअघि समितिका पदाधिकारी एवं विज्ञ सहभागी टिमले तिलोत्तमाको अनुगमन गरेको थियो । नगरपालिकाले बनाएको कार्यविधिमा खुला रुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शुन्य पोलिथिन भनिने उल्लेख छ ।
नगरबासीको घर–आँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जंगल, सडक–बाटो, सार्वजनिक स्थलबाट सात महिनाको अवधिमा झण्डै ८० हजार बोरा पोलिथनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि नगरलाई शुन्य पोलिथिन घोषणा गरिएको हो । १२६ वर्ग किलोमिटरमा फैलिएको तिलोत्तमाका नगरबासीले अब उप्रान्त फोहोर जथाभावी नफाल्ने, फालेमा कारवाही भोग्न तयार रहने कसम खाएका छन् । कार्यक्रममा मन्त्री भुसालले नेपालमा तिलोत्तमाबाट सरसफाईंको ईतिहासमा नयाँ कामको सुरुवात् भएको बताउँदै शुन्य पोलिथिन अभियान नागरिकको दायित्वबोधसँग जोडिएको बताउनुभयो । शुन्य पोलिथिनलाई फोहोरमाथि धर्तीको विजयीको संज्ञा गर्दै मन्त्री भुसालले यो अभियान कसैले न कसैले सुरु गर्नुपर्नेमा त्यो तिलोत्तमाबाट सुरु हुनु तिलोत्तमाबासीका लागि सुखद् रहेको बताउनुभयो । तिलोत्तमाका हरेक निर्णय नगरबासीको जीवनशैलीसँग जोडिन थालेको बताउँदै उहाँले सरसफाईंमा तिलोत्तमाबाट नयाँ राष्ट्रिय अभियान प्रारम्भ भएको उल्लेख गर्नुभयो ।
           प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले तिलोत्तमाबाट सुरु भएको शुन्य पोलिथिन अभियान राष्ट्रव्यापी हुने विश्वास व्यक्त गर्दै यो घोषणा ऐतिहासिक रहेको बताउनुभयो । प्रदेश सांसद दधिराम न्यौपानेले शुन्य पोलिथिन अभियान तिलोत्तमा आसपासका अन्य पालिकाहरुले पनि सञ्चालन गर्नुपर्ने बताउँदै यो अभियान सोंच, आनीबानी रुपान्तरणसँग जोडिएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले लुम्बिनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रख्यात बनाउन शुन्य पोलिथिन अभियान रुपन्देहीका सबै स्थानीय तहहरुमा सञ्चालन गर्नुपर्ने बताउँदै यसमा आफूले अग्रसरता लिने प्रतिबद्धता जनाउनुभयो । सफा, सुन्दर र संस्कारयुक्त व्यवहारले मात्र पर्यटन प्रवद्र्धन गर्न सकिने बताउँदै प्रमुख विश्वकर्माले नेपालमा सुरु हुनुपर्नेमध्येको एउटा काम तिलोत्तमाबाट सुरु हुनु सबैको लागि खुशीको विषय रहेको प्रष्टाउनुभयो ।
        तिलोत्तमामा शुन्य पोलिथिनलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको छ ।  नगरका सार्वजनिक स्थानमा कम्तिमा एक हजार डष्टबिन राख्ने नगरपालिकाको योजना छ । फोहोर संकलन कार्यसँगै संकलित फोहोरको व्यवस्थापनका लागि जनसहभागिता वास सहकारीसँगको सहकार्यमा एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माण थालिएको छ । बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समेटिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । यहाँका विद्यालय तथा टोल–टोलमा माई पकेट, माई फष्ट डष्टबिन अर्थात् मेरो खल्ती, मेरो पहिलो डष्टबिन भन्ने कुराको प्रचार गरिएको छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ भने जथाभावी फोहोर फ्याक्नेलाई कारवाही गर्न आवश्यक स्थानीय कानुन निर्माण गरिएको छ । यी सबै विषयले शुन्य पोलिथिन घोषणालाई स्थायित्व गराउने नगर प्रमुख घिमिरेको विश्वास छ । सिम नेपालसँगको सहकार्यमा यहाँ सात महिनादेखि शुन्य पोलिथिन अभियान चलाइएको हो । रुपन्देहीकैं मध्यभागमा अवस्थित तिलोत्तमा नगरपालिकालाई स्वच्छ, सफा, हराभर बनाउने उद्देश्यले जनप्रतिनिधि आएसँगै २०७४ साउनबाट नियमित सञ्चालन हुँदै आएको सरसफाई अभियान हाल ५७ औं श्रृंखलामा पुगेको छ ।
          नगर प्रमुख घिमिरेले नगरबासीको सक्रिय सहभागिताका कारण शुन्य पोलिथिन अभियानले मूर्त रुप लिएको बताउँदै यो अभियानमा झण्डै एक लाख नगरबासी सहभागी भएको बताउनुभयो । शुन्य पोलिथिन अभियानसँगै यहाँका सडक, सार्वजनिक स्थान, कुलो–नहर विगतको तुलनामा सफा देखिएका छन् । शुन्य पोलिथिन अभियानको प्रभावको सन्दर्भमा वातावरणविद्, सरकारी अधिकारी तथा सञ्चारकर्मीहरुले अनुगमन गरेका छन् । अनुगमनको क्रममा नगरबासीमा चेतनाको स्तर निकै बढेको पाइएको अनुगमनमा संग्लन प्रा.डा. भैया खनालले बताउनुभयो । उहाँले शुन्य पोलिथिन अभियानले कृषि प्रणाली तथा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै यसको निरन्तरताका लागि नगरबासी आफैं क्रियाशील रहनुपर्ने बताउनुभयो ।
    ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ सरसफाई अभियान सञ्चालन भैरहँदा पोलिथिनजन्य फोहोरले मानव स्वास्थ्य, सहरी सौन्दर्य, कृषि उत्पादन र वातावरणमा सबैभन्दा बढी नकारात्मक असर पारेको तथ्यलाई मनन गरी नगरपालिकाले सिम नेपालसँगको सहकार्यमा शुन्य पोलिथिन अभियान चलाएको हो । मुलुकका ७५३ स्थानीय तहमध्ये पहिलो पटक तिलोत्तमाको १२६ वर्गकिलोमिटर क्षेत्रमा वर्षौंदेखि डम्पिङ भएर बसेको पोलिथिन फोहोर संकलन गरी व्यवस्थापन गरिएको सिम नेपालका अध्यक्ष वातावरणविद् निपेश ढाकाले बताउनुभयो । यो अभियानको सफलता माटोमाथिको विजयी भएको उल्लेख गर्दै उहाँले यसलाई निरन्तरता दिन तिलोत्तमाबासीलाई आग्रह गर्नुभयो ।  तिलोत्तमा उपप्रमुख जागेश्वरी चौधरीले नगरबासीले यो अभियानमा देखाउनु भएको सक्रियता, सहकार्य र कर्तव्यबोधले तिलोत्तमाबासी हुनुलाई एकपटक फेरी गौरवान्वित बनाएको उल्लेख गर्नुभयो । यो अभियानको सफलताले तिलोत्तमाबासीको चेतनास्तर, दायित्वबोध र सहकार्यलाई मुलुकभर परिचित गराएको प्रवक्ता सुरेन्द्र श्रीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.