Jilla Ban Notis

युवालाई विनाधितो सहुलियतपूर्ण कर्जा दिँदै तिलोत्तमा

उद्यम प्रस्ताव माग

0 83

तिलोत्तमा, वैशाख २५

कोरोना महामारीको कारण रोजगारीका अवसर संकुचित भैरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमा चार लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको हो ।
पहिलो चरणमा दुई करोड रुपैंयाँ कर्जा प्रवाह गर्नेगरी नगरपालिकाले युवाहरुसँग उद्यम प्रस्ताव आह्वान गरेको छ । इच्छुक युवाहरुले जेठ ५ गतेसम्म आफूले गर्न चाहेको उद्यम सम्बन्धी प्रस्ताव नगरपालिकामा पेश गर्नुपर्नेछ । प्राप्त प्रस्तावअनुसार नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाले गत कार्तिकमा सम्पन्न गरेको लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाको लागि सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नगरपालिकाले बैंकको रिर्जब कोषमा कर्जा प्रवाहको लागि रकम जम्मा गरिसकेको छ ।
मूलतः बेरोजगार युवाहरुलाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु यो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको व्याजदर पुरुषको हकमा वार्षिक ४.५० प्रतिशत, महिलाको हकमा वार्षिक ३.५० प्रतिशत छ ।
कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ । महिला, दलित, पछाडी पारिएको वर्ग—समुदाय, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइने उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो ।
कर्जा प्रवाहका लागि तरकारी, फलफूल, पुष्प, च्याउ, जडिबुटी खेती, पशुपंक्षीपालन, मत्स्यपालन, नगदेबाली, घरेलु तथा कुटिर उद्योग र अन्य स्वरोजगारका क्षेत्रलाई प्राथमिकता दिइएको छ । भुक्तानीको अवधि बढीमा ५ वर्ष रहेको सहुलियतपूर्ण कर्जालाई युवाहरुको प्रस्तावअनुसार विस्तार गर्न सकिने नगर प्रमुख घिमिरेले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.