Jilla Ban Notis

भूमि आयोग र पाल्हीनन्दन गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

0 37

परासी, २० फागुन
भूमिसम्बन्धी समस्या समाधान आयोग र पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाबीच भूमिहीनको लगत सङ्कलनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आज गाउँपालिकाका कार्यपालिका सदस्यहरु र वडाध्यक्षहरुको उपस्थितिमा आयोगकि जिल्ला अध्यक्ष विमला अर्याल र गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता दिपकले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनुभयो ।

आयोगकि अध्यक्ष अर्यालले गाउँपालिका अन्तर्गतका भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न समझदारी गरिएको बताउनुभयो । आयोगले एक्लै काम गर्दा वास्तविक सुकुम्वासीको तथ्याङ्क सङ्कलनमा समस्या हुने भएकोले सम्बन्धित पालिकालाई नै जिम्मेवारी दिएपछि भूमिहीन सुकुम्वासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणमा विवाद नहुने अध्यक्ष अर्यालले बताउनुभयो ।

अब गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्नेछ । त्यसका लागि एकाइ गठन हुनेछ । एकाइमा संयोजकबाहेक सर्भेक्षक, अमिन, सामाजिक परिचालक, तथ्याङ्क सङ्कलक र प्रविष्टिकर्तालगायत कर्मचारी स्थानीय तहले नै राखेर काम अघि बढाउने अख्तियारी दिएको अध्यक्ष अर्यालले बताउनुभयो ।

गाउँपालिकाले लगत सङ्कलनसम्बन्धी अभिमुखीकरण गर्नेछ । आजै पालिका स्तरीय सहजीकरण समिति पनि गठन गरिएको आयोगका जिल्ला सदस्य कृष्णप्रसाद बगालेले जानकारी दिनुभयो ।उहाँका अनुसार गाउँपालिका अध्यक्ष गुप्ता संयोजक र गाउँपालिका उपाध्यक्ष पावित्री कोंहार उपसंयोजक रहेको समितिको सदस्यहरुमा नेकपाका ध्रुबनारायण बानिया, नेपाली कांग्रेसका हरिहर चौहान, जनता समाजवादी पार्टीका पप्पु यादव, कार्यपालिका सदस्य अनामिका हरिजन, अनिता शहानी, ईन्दा हरिजन, समाजसेवी दुलारी हरिजन, सुरेश गुप्ता, भोजई हरिजन, कमलेश माली र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम रहनुभएको छ ।

Leave A Reply

Your email address will not be published.