Jilla Ban Notis

बलियो नेपाल यु–१६ क्रिकेट सुरु,दाङ र पाल्पाको विजयी सुरुवात्

0 17

प्रकाश न्यौपाने

भैरहवा, चैत्र २१

रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता सुरु भएको छ । बलियो नेपालको आयोजनामा शनिबारबाट टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको हो । शनिबार भएका दुई खेलमा दाङले प्यूठानलाई १२६ रन र पाल्पाले नवलपरासीलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेका छन् ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको दाङले ९ विकेटको क्षतिमा १७६ रनको योगफल बनायो । उसका लागि आषिश ओलीले ५९ बलमा ११ चौकाको मद्दतले अविजित ६८ रन बनाए । यस्तै, प्रभाकर कुँवरले २५, रोहित डाँगीले २१ र अभिषेक चौधरीले १६ रन बनाए । बलिङमा प्यूठानका अविनास सापकोटाले ३, विशाल रायमाझी र पशुपति खनालले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्यूठान ११.५ ओभरमा अलआउट हुँदै ५० रनमै समेटियो । उसका लागि शम्सेर भट्टले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा दाङका सुजल ओलीले ४ ओभरमा १ मेर्डन राख्दै १७ रन खर्चेर ४ विकेट लिए । यस्तै, आषिश ओलीले ३, केरमान घर्तीमगरले २ तथा आयुष ओलीले १ विकेट लिए । आषिश ओली म्यान अफ द म्याच भए ।

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन बनायो । उसका लागि विष्णुहरि थापाले मगरले ३५, नुर आलम अन्सारीले १३, अभिषेक पटवाले ११ र कृष्णचन्द्र चौधरीले १० रन बनाए । बलिङमा पाल्पाका सुदिप जिसी र नरेश सुर्यबंशीले समान ४÷४ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले ११.५ ओभरमा २ विकेटको क्षतिमा ९९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा रुपेश बश्यालले ४६, रुपक सापकोटाले १८ र अलिक सुनारले १७ रन बनाए । बलिङमा नवलपरासीका विजय कुमार लोहार र रितेश भट्टराईले समान १/१ विकेट लिए । नरेश सुर्यबंशी म्यान अफ द म्याच भए । पोषण र खेलकुदलाई सँगसँगै लैजाने उद्देश्यले बलियो नेपालले पहिलोपल्ट प्रदेशस्तरीय यु–१६ टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.