Jilla Ban Notis

बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याललाई खुलापत्र

0 24

सर्वप्रथम, आदरणीय मेयर ज्यू नमस्कार ,म सिपोरा थापा   [नाम परिवर्तन ]

यही बर्दघाट नगरपालिका, वार्ड,४, कै बासिन्दा हूँ । म नाम परिवर्नत गरेर यो पत्र लेख्दै छु, आफ्नै नाम राखेर लेखेमा, म समस्यामा पर्न सक्छु । सारा विश्वको ध्यान अहिले कोरोनाभाइरसबाट कसरी बाँच्ने बचाउने भन्नेमा केन्द्रित छ र तपाईंहरूको ध्यान पनि नगरलाई कसरी सुरक्षित राख्ने मै होला ।

अब म धेरै भूमिका नबनाई विषयवस्तुमा आउन चाहन्छु, अस्ति जस्तो लाग्छ तपाईंले नेतृत्व गरेको चुनावमा नेकपाबाट तपाईंलाई हाम्रो बर्दघाटको पहिलो नगर प्रमुखको रूपमा जिताउन आफूले सकेको प्रचार(प्रसार गर्न मैले पनि व्यक्तिगत रूपमा ठूलो मिहिनेत गरेकी थिए । हामी जस्ता धेरैको मिहिनेतको फल र तपाईंप्रति बर्दघाट नगरबासीको विश्वास नै भन्नुपर्छ तपाईं हाम्रो नगर प्रमुखको रूपमा चुनाव जितेर नगर प्रमुखको रूपमा कार्यसम्पादन गर्न थालेको पनि दुई वर्ष बितिसकेछ । मेरो व्यक्तिगत कुरा गर्नुपर्दा तपाईंलाई मैले सामान्य सुनिने नगरप्रमुख होइन कि यस स्थानीय सरकारको प्रधानमन्त्रीको रूपमा लिएकी छु, जसले चाह्यो भने नगरमा धेरै कुराको निर्णय र कार्यान्वयन गर्न सक्छ ।

मैले फेसबुक साथै बर्दघाट नगरका मिडियामार्फत बर्दघाट नगरपालिकाले गर्दै आएका विभिन्न निर्णयहरूको सूचना लिने गरेकी छु, अघिल्लो वर्ष जस्तै तपाईंले केही दिनअघि फेरी सूर्तीजन्य कुराहरू बर्दघाट नगरपालिकाभित्र निषेध गर्ने निर्णय गर्नुभएको पाए र यो स्वागतयोग्य कुरा हो, तर यसमा मद्यपान रक्सी लाई पनि समेट्न नसकेकोमा निकै दुखी छु ।

बर्दघाटका अन्य वार्डहरूको सम्बन्धमा मलाई त्यति ज्ञान छैन तर हाम्रो वार्ड ४ मा घरेलू साथै स्वदेशी तथा विदेशी रक्सीहरूको बेचबिखन सजिलै उपलब्ध हुने गरेको पाइन्छ । त्यसमा पनि घरेलू रक्सी त झन गल्लीपच्छै, घरघरै बनाएर व्यवसाय चलाईरहका छन् । यसरी व्यवसायको रूपमा घरेलू रक्सी बनाई यस वार्डका नागरिकहरूलाई अस्वस्थ बनाइरहँदा र विभिन्न घरपरिवारमा कलहको विउँ रोपी, घर नै विखण्डनमा पुर्‍याउँदा हजुरको नेतृत्वले किन केही गर्न सकिरहेको छैन ?

बिगत २/३ वर्ष कै मात्र कुरा गर्ने हो भने पनि यस वार्डमा रक्सीको कारणले धेरै युवा तथा विवाहित पुरूषहरूको ज्यान नै गएको छ । जसले गर्दा कति परिवार तहसनहस भएका छन् भने श्रीमान् बिनाको घर कस्तो होला र एकल महिलाले आफ्नो बालबच्चा र परिवारको जिम्मेवारी लिन कति कठीन होला त्यो तपाईं पनि महसुस गर्न सक्नुहुन्छ ।

मलाई अझै पनि याद छ तपाईंका चुनाव ताका गरिएका विभिन्न प्रतिबद्धताहरू, उक्त प्रतिबद्धताहरू पूरा भए वा भएनन्, म अहिले त्यसमा जान चाहन्न । मैले केही वर्ष देखि भोग्दै आएको समस्या भनेको मेरो परिवारमा रक्सीले निम्त्याएको समस्या हो । यो समस्या यति ठूलो भइसकेको छ कुनै बखान गरेर सक्दिन ।

मानिसहरूले खाद्यान्न किन्न लाइन लाग्नुपर्ने, निश्चित समयमा तोकिएको ठाउँबाट मात्र किन्नुपर्ने तर रक्सी भन्ने घरघरै, चोकचोक, गल्ली गल्लीबाट सजिलै खरीद,बिक्री गर्न पाइने, किन मेयर ज्यू ? के तपाईं यस विषयमा केही गर्न सक्नुहुन्न ? वा तपाईं आफ्नो भोट बैंक बचाउन र यस्ता विषयमा हात नहाली सबैको प्यारो बन्न चाहनुहुन्छ ?

यो रक्सीको मात्र विषय अवश्य होइन, बर्दघाटमा रहेका बोर्डिङ लगायत सामूदायिक विद्यालयका ५ कक्षादेखि कै विद्यार्थीहरू चुरोट, रक्सी, सुर्तीको लतमा फसेका छन् । यस बारेमा तपाईंलाई थाहा छैन भन्ने कुरामा मलाई कतै विश्वास छैन तर तपाईं नगरप्रमुखको रूपमा यसमा किन केही कडा कदम चाल्न सकिरहनु भएको छैन ?

मेरो श्रीमान् रक्सीको लतमा हुनुहुन्छ र मैले मेरो परिवारको भविष्य पूर्ण रूपमा अन्धकार देखेकी छु, किन कि बर्दघाटमा यसको खरिद(बिक्री निकै सहज छ । यो मेरो परिवारको मात्र विषय अवश्य होइन, मैले यहाँ सयौं परिवारहरू रक्सी कै कारण तहसतहस हुने देखेकी छु, के यसरी बर्दघाटको भविष्य उज्ज्वल होला रु हाम्रो सन्तानको भविष्य उज्ज्वल होला ?

यस विषयमा कोही बोल्न चाहदैनन् तर आजको दिनमा प्रत्येक घरको समस्या हो भन्ने कुरामा कुनै शंका छैन । यस ठाउँमा विभिन्न आमा समूहहरू पनि गठन भएका छन् तर यी समूहहरू पैसा उठाएर रमाइलोमा सीमित छन्, यी समूहहरू समाजमा रहेका नकारात्मक विषयमा कुरा उठाउन चाहदैनन् । म यिनीहरूको अस्तित्वमाथी पनि प्रश्न उठाउन चाहन्छु ।

आशा छ निकट भविष्यमा तपाईंबाट यस सम्बन्धमा सकारात्मक पाइलाहरू चालिनेछन् ।

यस पत्रको जवाफ तपाईंले बर्दघाटका मिडिया मार्फत नै दिनुहुनेछ भन्ने अपेक्षा गर्दै टुङ्गाउँछु, धन्यवाद ।

                                                                                                                                                सिपोरा थापा

                                                                                                                                             वार्ड ४, बर्दघाट नगरपालिका

Leave A Reply

Your email address will not be published.