Jilla Ban Notis

बर्दघाट नगरका किसानहरुलाई घाँसको विउ वितरण शुरु

0 35

कृष्ण ढकाल
बर्दघाट,फागुन– २०
बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाले आ.व.०७७/०७८ को स्विकृत कार्यक्रम अनुसार आज नगरका किसानहरुलाई घाँसको विउ वितरण गरेको छ । नगरपालिकामा दर्ता सुचिकृत भएका करिव ३ सय ५० वटा ब्यवसायिक पशुपालक कृषकहरुलाई प्रति ब्यक्ति १० केजिका दर ले वितरण गर्ने योजना अनुसार आजवाट वितरण कार्य शुरु गरीएको पशुपन्छी विकास शाखा प्रमुख भरत लम्सालले बताउनु भएको छ ।

घाँसको विउ वितरण कार्यको आज नगर प्रमुख धिरज शर्मा बस्यालले एक कार्यक्रमका विच शुभारम्भ गर्नु भएको थियो । बस्यालले कृषक तिलोचन आचार्यलाई घाँसको विउ हस्तान्त्रण गरेर वितरण कार्यको शुभारम्भ गर्नु भएको थियो ।


यस वर्ष नगरपालिकाले ३७ कुईन्टल ५० केजी घांसको विउ वितरण गर्ने लक्ष्य लिएको छ । घांसको बिऊ किसानहरुको लागत सहभागितामा वितरण गर्न थालिएको छ । जस्मा किसानहरुले प्रति के.जि. २० रुपैया र नगरपालिकाको अनुदान रकम प्रति के.जि. १ सय हुने गरी प्रति के.जी १ सय २० रुपैयाका दरले वितरण भएको छ । अहिले सुडान र मकैचरी घांसको बिउ वितरण गरीएको हो ।
बाह्रैमहिना हरियो घांसखेती गरेर दुध तथा मासु जन्य उत्पादनको बृद्धि गर्नका लागि नगरपालिकाले यस प्रकारको अभियान संचालन गरेको नगर प्रमुख बस्यालको भनाई रहेको थियो ।

घाँसको बिउ उत्पादनको तयारी

बर्दघाट नगर कार्यपालिकाको नगर सभा वाट स्विकृत कार्यक्रमको लक्ष्य अनुसार यस वर्ष ८ जना कृषकहरुले ८ बिगाहा जग्गा क्षेत्रफलमा जै घाँसको विउ उत्पादनका लागि घाँस खेतीको सुरुवात गरेका छन् । स्थानीय स्तरमा घाँसको बिउ नपाईने घाँसको बिउको लागि छिमेकी जिल्ला तथा भारतको भर पर्नुपर्ने अवस्थामा नगरले यस बर्षदेखि जै घाँसको बिउ उत्पादन (बिजवृद्धि) कार्यक्रम संचालन गरेको हो ।
स्विकृत कार्यक्रम अनुसार बिउ उत्पादनको लागि नगरले कृषकहरुलाई १०० केजी मुल विउ, १०० केजी रासायनिक मल, बाली संरक्षणको लागि १ थान ईलेक्ट्रिक स्पेयर लगायतका सामाग्रीहरु उपलव्ध गराई प्रोत्साहन गरिएको बताईएको छ ।
यस कार्यक्रम वाट नगरमा घाँसको बिउ उत्पादन कार्यको शुरुवात भएको छ । बिउ उत्पादन भएपछि स्थानिय र जिल्ला दर रेट अनुसार पालिकाले नै खरिद गरिदिने गरि कृषकहरुलाई यस कार्यमा आकर्षित गरिएको हो ।
नगरका करिव २० जना कृषक उद्यमी बिउ उत्पादन कार्यमा संलग्न भएमा यस नगरलाई घाँसको बिउमा आत्मनिर्भर बनाउन सकिने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.